प्रिमियर लिगमा अद्भूत रेकर्ड, कहिल्यै उपाधि नजितेको टिमले सबै च्याम्पियनलाई हरायो

डिसी नेपाल
२१ पुष २०७७ १३:४०

काठमाडौं। इङलिश प्रिमियर लिगमा अद्भूत रेकर्ड बनेको छ । इङलिश क्लव फुटबलको इतिहासमा कहिल्यै उपाधि नजितेको टिमले प्रिमियर लिगका सबै डिफेण्डिङ च्याम्पियनलाई पराजित गरेर यो रेकर्ड बनाएको छ । गएराती साउथह्याम्पटनले लिभरपुललाई १–० गोल अन्तरले पराजित गरेसँगै यो रेकर्ड बनेको हो ।

यससँगै साउथह्याम्पटन प्रिमियर लिगमा उपाधि जितेर अर्को सिजन उपाधि रक्षा गर्न उत्रिएका सबै विजेताहरुलाई हराउने एकमात्र टिम बनेको छ । इङलिश क्लव फुटबल सन् १९९२ मा प्रिमियर लिगमा रुपान्तरित भएपछि अहिलेसम्म ७ क्लवले लिगको उपाधि जितेका छन् । र, ती सातवटै क्लवले उपाधि रक्षा गर्ने क्रममा साउथह्याम्पटनसँग पराजित भएका छन् ।

लिगको १९९४–९५ सिजन ब्ल्याकबर्न रोभर्सले जितेको थियो । सो उपाधि रक्षा गर्न अर्को सिजन मैदानमा उत्रिँदा ब्ल्याकबर्न १९९६ को अप्रिल ६ मा साउथह्याम्पटनसँग १–० गोल अन्तरले पराजित भएको थियो । १९९५–९६ को विजेता म्यान्चेस्टर युनाइटेडले उपाधि रक्षा गर्ने क्रममा १९९६ अक्टोबर २६ मा साउथह्याम्पटनसँग ६–३ को पराजय व्यहोरेको थियो । युनाइटेड उपाधि रक्षा गर्ने क्रममा साउथह्याम्पटनसँग १९९७–९८ को सिजन, २०००–०१ को सिजन र २००३–०४ को सिजनमा पनि पराजित भएको थियो ।

२००१–०२ सिजनको विजेता आर्सनल उपाधि रक्षा गर्ने क्रममा अर्को सिजनको नोभेम्बरमा साउथह्याम्पटनसँग ३–२ ले पराजित भएको थियो । २०११–१२ को विजेता म्यान्चेस्टर सिटी पनि उपाधि रक्षा गर्ने क्रममा २०१३ को फेब्रुअरीमा साउथह्याम्पटनसँग ३–१ ले पराजित भएको थियो । साउथह्याम्पटनले उपाधि रक्षा गर्न उत्रिएको सिटीलाई गत सिजन पनि १–० ले पराजित गरेको थियो ।

चेल्सीले पहिलो प्रिमियर लिग उपाधि जित्दा साउथह्याम्पटन रेलिगेसनमा परेको थियो । तर, चेल्सीले २०१४–१५ को उपाधि जितेपछि उपाधि रक्षा गर्न उत्रिँदा साउथह्याम्पटनले उसलाई २०१५ को अक्टोबरमा ३–१ ले पराजित गरेको थियो । २०१५–१६ को उपाधि विजेता लिसेस्टर सिटी पनि २०१७ को जनवरीमा उपाधि रक्षा गर्ने क्रममा साउथह्याम्पटनसँग ३–० ले पराजित भएको थियो ।

१९९२ मा प्रिमियर लिग सुरु भएपछि लिभरपुलले उपाधि जित्न सकेको थिएन । उसले गत सिजनको उपाधि जित्यो तर लगत्तै अर्को सिजनमा उसले पनि गएराती साउथह्याम्पटनसँग १–० को पराजय भोग्यो । यससँगै अहिलेसम्म प्रिमियर लिगको उपाधि जितेर त्यसको रक्षा गर्न उत्रिएका सातवटै टिमलाई पराजित गर्ने रेकर्ड साउथह्याम्पटनले बनाएको छ । रोचक त के भने १८८८ मा सुरु भएको इङलिस क्लव फुटबलको उपाधि भने साउथह्याम्पटनले कहिल्यै जित्न सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *