‘पल्सर स्पोर्टस् अवार्ड’ मंगलबार प्रदान गरिने
काठमाडाैं। सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ आगामी मंगलबार वितरण गरिने भएको छ। आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ।
‘पिपल्स च्वाइस’ विधातर्फ पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केट बलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा परेका छन्। यस्तै वर्ष पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन्।
यसैगरी वर्ष महिलातर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन्। वर्ष युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बू मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन परेका छन्।
यस्तै वर्ष प्रशिक्षकतर्फ उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शङ्कर कार्की मनोनयनमा परेका छन्। मञ्चका सचिव एवं खेलाडी छनोट समितिका संयोजक गोविन्द रेग्मीका अनुसार वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई जनही रु ५० हजारसहित पुरस्कृत गरिने छ।
मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका पत्रकारको भोट तथा राष्ट्रिय सङ्घका मुख्य प्रशिक्षकको भोटका आधारमा हुने मञ्चका महासचिव प्रज्ज्वल ओलीले जानकारी दिए।
भोटिङ यही पुस २७ गते राति १२ बजेसम्म गर्न सकिने छ । कोरोना भाइरसको महामारीका कारण यस वर्षको अवार्ड कार्यक्रम भर्चुअल माध्यमबाट गरिने छ। सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था भएकाले सो अवार्डको भर्चुअल कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा गरिने महासचिव ओलीले बताए।
वर्षको उत्कृष्ट खेलाडी युवा, महिला र पुरुष, वर्षको उत्कृष्ट प्रशिक्षक, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड, लाइभ टाइम एचिभमेन्ट अवार्ड, वर्षको उत्कृष्ट टोली, पिपल्स च्वाइस् र एसियन जर्नालिस्ट अफ द इएर अवार्ड प्रदान गरिने छ।
पिपल्स च्वाइस् अवार्ड, स्पेशल र लाइभ टाइम एचिभमेन्टबाहेक अरू अवार्ड अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा प्रदान गरिने छ। अवार्डको मुख्य प्रायोजन मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले गरेको छ। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment