साझा प्रकाशनको गरिमालाई बचाउन समिति र कर्मचारी जिम्मेवार बन्नुपर्छ : मन्त्री तुम्बाहाङफे

डिसी नेपाल
२५ पुष २०७७ १७:१६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिव माया तुम्बाहाङफेले साझा प्रकाशनको गरिमालाई बचाउन सञ्चालक समिति र कर्मचारी उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएकी छन् । साझा प्रकाशनको चौबिसौँ साधारणसभा कार्यक्रममा उनले कर्मचारीले प्रभावकारी ढङ्गले कार्यसम्पादन नगरेको पाइएको भन्दै आफूले प्रकाशनमा ल्याएको किताबका बारेमा बुझ्न खोज्दासमेत जानकारी पाउन नसकेको बताइन् । “कर्मचारीको काम तलब थाप्ने मात्र होइन”, उनले भने, “कर्तव्यबोधका साथ काम गर्न नसक्नु ठूलो कमजोरी हो ।”

उनले साझा प्रकाशनमा विगतमा भएको भ्रष्टाचार र अनियमितताका कारण संस्था धारासायी हुने अवस्थामा पुगेको भन्दै अहिलेको नयाँ नेतृत्वले यसको विकासमा विशेष ध्यान पु¥याउनेमा आफू आशावादी रहेको बताइन् । मन्त्री तुम्बाहाङफेले अहिलेको सङ्कटपूर्ण अवस्थामा सहयोग तथा अनुदानको जरुरत परे पनि यो संस्थालाई आत्मनिर्भर बनाउने दिशामा समिति र कर्मचारीको ध्यान पुग्नुपर्ने बताइन् ।

राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले डुब्न लाग्ने अवस्थामा पुगेको संस्थालाई सबैको सहकार्य र एकताबाट उठाउनुपर्ने बताए । उनले भ्रष्टाचार र अनियमिताका कारण विभिन्न संस्था कमजोर बन्दै गइरहेको भन्दै सार्वजनिक पदमा बहाल रहेको व्यक्ति विभिन्न स्वार्थबाट प्रेरित हुँदा समस्याहरु आउने गरेको बताए ।

नवनिर्वाचित अध्यक्ष विजय सुब्बाले साझालाई मरितुल्य अवस्थामा पु¥याउन अघिल्लो व्यवस्थापन बढी जिम्मेवार रहेको बताए । “मैले चलाएको भ्रष्टाचार विरोधी अभियानमा मिडियालगायत विभिन्न पक्षले निकै साथ दिए”, उनले भने, “संस्थालाई ध्वस्त बनाउनेलाई मिल्काउन सफल भएका छौँ, अब संस्थाको मुहार फेरिने कुरामा शङ्का गर्नुपर्दैन ।” उनले संस्थालाई कमजोर बनाउने कर्मचारीले अब छुट नपाउने भन्दै सच्चिएर अघि बढ्न निर्देशनसमेत दिए । कार्यक्रममा महाप्रबन्धक, होम गौतम, सञ्चालक समिति सदस्य डिपी अर्याल, साझा प्रकाशनका पूर्वअध्यक्ष डा विष्णुविभु घिमिरे, साझाका निवर्तमान अध्यक्ष श्यामबहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *