खेलकूद प्रशिक्षण सञ्चालन गर्न सदस्यसचिवको आग्रह

रासस
२५ पुष २०७७ २३:०४

कास्की । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले कोरोना भाइरसका कारण लामो समय ठप्प रहेको खेलकूद क्षेत्र सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल तेक्वान्दो सङ्घको वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले कोरोनाबाट थला परेको खेलकूद क्षेत्रलाई माथि उठाउन स्वास्थ्य मापदण्डको पालना गरेर प्रतियोगिता, प्रशिक्षणलगायत गतिविधि शुरु गर्न खेल सङ्घहरूसँग आग्रह गरे ।

नेपालमा गत वर्ष सम्पन्न १३औँ सागमा तेक्वान्दो खेलले उत्कृष्टता हासिल गरेको बताउँदै सदस्यसचिव सिलवालले प्राप्त सफलतालाई जोगाइराख्नु आवश्यक रहेकामा जोड दिए । उनले भने, “खेलकूद इतिहास र सागमा तेक्वान्दोले प्राप्त गरेको साखलाई जोगाइराख्न तल्लो तहदेखि नै प्रतियोगिता आयोजना गरेर क्षमतावान खेलाडी उत्पादन गर्नु आवश्यक छ ।” खेलकूद क्षेत्रमा अनुशासन महत्वपूर्ण रहेको उल्लेख गर्दै सिलवालले खेलाडी मात्रै नभई प्रशिक्षक तथा निर्णायकले समेत अनुशासन र जिम्मेवारीको पालना गर्न आग्रह गरे ।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले राष्ट्रले खेलकूदबाट चाहेको लक्ष्य हासिल गर्न खेलकूद रङ्गशालामा मात्र नभई घरघरमा पुग्नु आवश्यक रहेकामा जोड दिए। सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणाले तेक्वान्दोको विकासका लागि प्रदेश तथा जिल्ला सङ्घ गठन गरी खेलको विकास गरिरहेको बताए भने महासचिव दीपकराज गुरुङले दोलखाको शैलुङमा ‘हाइ अल्टिच्युड तेक्वान्दो एकेडेमी’को निर्माणलाई अघि बढाउने योजना रहेको जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्मा नियुक्त भएकामा सदस्यसचिव सिलवाल, राखेप सदस्य सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ र नन्दा बस्याललाई सङ्घले सम्मान गरेको छ । कार्यक्रममा सङ्घलाई रु १६ लाखभन्दा बढी सहयोग गर्ने सुमेरु गु्रपका अध्यक्ष भरत मर्हजनलाई सम्मान गरिएको थियो भने सङ्घले यस वर्ष ‘नेशनल हिरोज २०२०’का रूपमा सञ्चारकर्मी सुशील पाण्डे र समाजसेवी नेहा पोखरेललाई नगद रु १५ हजारसहित सम्मान गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *