निर्वाचनका गतिविधिमा भक्तपुरलाई नमूना बनाउनुस्ः प्रमुख निर्वाचन आयुक्त

डिसी नेपाल
१८ माघ २०७७ २१:२८

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली अद्यावधिक गरी त्रुटिरहित बनाउन तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन गर्दा कार्यविधिले तोकेका आधारमा उपयुक्त तथा पायक पर्ने स्थानमा कायम गर्न निर्देशन दिएका छन् ।

आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तयारी सम्बन्धमा भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र जिल्ला निर्वाचन अधिकारीसहितको आज भक्तपुरमा बसेको बैठकमा उनले उक्त निर्देशन दिएका हुन् ।

प्रमुख आयुक्त थपलियाले भने, “आगामी निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमा नै स्थापना गर्ने र आचारसंहिता अनुगमनसम्बन्धी समिति स्थानीय तह स्तरमा समेत गठन गर्ने गरी तयारी भइरहेको छ ।”

सो अवसरमा उनले निर्वाचनसम्बन्धी तयारी कार्यमा कुनै कमीकमजोरी हुन नदिनेतर्फ सजग र सचेत रही निर्वाचनका गतिविधिमा भक्तपुरलाई नमूना जिल्ला बनाउनेतर्फ पहल गर्न समेत निर्देशन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुखले जिल्लामा राजनीतिक वातावरण, जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजकले मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको प्रगतिबारे बैठकमा जानकारी गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *