पदोन्नति भएका प्रहरी अधिकृतलाई दज्र्यानी चिन्ह

डिसी नेपाल
२२ माघ २०७७ १९:१०

काठमाडौं । प्रहरीको जनपद तथा प्राविधिकतर्फको विभिन्न पदमा पदोन्नति भएका ३१ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।

दज्र्यानी चिन्ह प्राप्त गर्नेमा प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका १५, प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका एक र प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा १५ गरी ३१ जना प्रहरी अधिकृत छन् । नेपाल सरकार गृह सचिवस्तरको २०७७ माघ २१ गतेको निर्णयअनुसार उनीहरु पदोन्नति भएका थिए ।

सोही निर्णयानुसार प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका एक अधिकृत भने हाल सुडान डार्फरस्थित एफपियु मिसनमा छन्। उक्त समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतलाई बधाई दिँदै नयाँ जिम्मेवारीलाई थप सजगता र सतर्कताका साथ कार्य सम्पादन गर्न निर्देशन दिए । नेपाल सरकारद्वारा घोषित निर्वाचनप्रति संवेदनशील भई सुरक्षालाई थप मजबुत बनाउनतर्फ केन्द्रित हुन पनि प्रहरी अधिकृतलाई आग्रह गरे।

नागरिकसँगको सहकार्यमा प्रहरीले असल भावका साथ कार्य सम्पादन गर्नुपर्ने चर्चा गर्दै उनले आचरण एवं व्यवहारमा प्रहरी सदैव संवेदनशील हुनुपर्ने बताए । सङ्गठनले अंगिकार गरेको नीति तथा प्रणालीप्रति सबै प्रहरी कर्मचारी पदीय दायित्वअनुसार ऐक्यबद्ध भई अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

पदोन्नति भएका प्रहरी अधिकृतको तर्फबाट बोल्दै प्रहरी उपरीक्षक ऋषिराम कँडेलले सङ्गठनले लिएको उद्देश्य प्राप्तिका लागि सदैव ऐक्यबद्ध भई नयाँ ऊर्जाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *