नेपालबाट भारततर्फ जान थाले गैँडा

डिसी नेपाल
२२ माघ २०७७ १९:१५

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट आहार र बासस्थानकोको खोजीमा दुर्लभ एकसिङ्गे गैँडा भारतर्फ जान थालेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रित भएका गैँडा विस्तारै भारततर्फ जान थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार यस वर्षको वर्षातमा दुई वटा गैँडा सुस्ता हुँदै भारततर्फ गएका छन् । ती गैँडा भारतको वाल्मीकी टाइगर रिजर्बमा पुगेका छन् ।

बरालले निकुञ्जको टेम्पल, बगवन, भेलौजी हुँदै त्रिवेणीबाट भारतर्फ जाने खतरा बढेको बताए । उनका अनुसार निकुञ्जको पश्चिमी क्षेत्रमा झण्डै ७० प्रतिशत गैँडा रहेका छन् । उनले भने, “पश्चिमी क्षेत्रका गैँडालाई निकुञ्जको पूर्वी भागमा स्थानान्तरण गरिएन भने भारततर्फ जाने खतरा बढेर गयो ।” नेपालमा हुर्काएर राप्ती र नारायणी नदीमा छाडिएका अधिकांश घडियाल गोही भारत जाने गर्दछन् । यसैगरी यहाँका गैँडा भारततर्फ जाने खतरा बढेको उनको भनाइ छ । विसं २०७४ मा आएको बाढीले निकुञ्जमा ठूलो सङ्ख्यामा बगाएर गैँडा भारत पु¥याएको छ । उक्त समयमा भारतीय पक्षसँग समन्वय गरेर ११ वटा गैँडा उद्धार गरी ल्याइएको भए पनि पछिल्लो समय भारतले ल्याउन नदिएपछि अझै त्यहाँ गैँडा रहेका छन् ।

निकुञ्जको पूर्वी क्षेत्रमा गैँडाको बासस्थान राम्रो हुन नसक्दा गैँडा पश्चिम क्षेत्रमा केन्द्रित हुँदै गएका हुन् । निकुञ्जले विगतका वर्षदेखि नै गैँडा पश्चिमबाट पूर्वमा ल्याउने जनाउँदै आएको भए पनि ठोस काम हुन सकेको छैन । बराल अब गैँडा पूर्व ल्याउनैपर्ने बताउँछन् । निकुञ्जभित्रको बासस्थान थप व्यवस्थित गरेर गैँडा स्थानान्तरण नगरे क्रमशः भारततर्फ जाने उनको भनाइ छ । उनले थपे, “आन्तरिक रुपमा निकुञ्जभित्र बासस्थानको व्यवस्थापनमा अरु बढी जुट्नुपर्ने देखिएको छ ।”

निकुञ्जको पश्चिमी क्षेत्रमा एकै ठाउँमा धेरै गैँडा हुँदा खानाको अभाव हुने, एकआपसमा जुधेर मर्ने समस्या पनि देखिएको छ । पोथीसँगको प्रजननको समयमा भाले गैँडा एकआपसमा जुध्ने गर्दछन् । निकुञ्ज भारतीय सीमा क्षेत्रमा पर्दछ । भारततर्फ वाल्मीकी टाइगर रिजर्व छ । यहाँका पाटेबाघलगायत अन्य वन्यजन्तु पनि भारत जाने आउने गर्दछन् । दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा राज्य र दातृ निकायले ठूलो लगानी गरेको भए पनि भारततर्फ जाने समस्याबारे हालसम्म कुनै ठोस काम हुन सकेको छैन । नेपालका निकुञ्जमा गत वर्ष गैँडा गणना गर्ने भनिए पनि कोरोना प्रभाव देखिएसँगै रोकिएको छ । यस वर्ष गैँडा गर्ने तयारी भइरहेको छ । सन् २०१५ को गणनामा नेपालमा ६४५ गैँडा रहेकोमा यहाँ ६०५ गैँडा रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *