माघ २८ को कार्यक्रममा मान्छे ल्याउन प्रचण्डको उर्दी

डिसी नेपाल
२६ माघ २०७७ १५:४१

काठमाडौं। नेकपा (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माघ २८ गते हुने कार्यक्रममा मान्छे ल्याउन उर्दी जारी गरेका छन्। एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद बैठकमा सम्बोधन गर्दै उनले २८ गतेको कार्यक्रमका लागि जसरी पनि धेरै मान्छे ल्याउन शिक्षकहरुलाई उर्दी जारी गरेका हुन्।

प्रचण्डले अब प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक भएको पनि बताएका छन्। उनले भने, ‘पर्सी २८ गतेको कार्यक्रमलाई हामीले ऐतिहासिक रुपले सफल पार्नु छ। तपाईँ शिक्षक साथीहरु जो यहाँ जुट्नु भएको छ। तपाईँहरु त २८ गते एसै पनि उसै पनि रहने नै हुनु भयो। तपाईँले यहाँ बसेर फोनबाट, अरु तरिकाबाट सम्पर्क गरेर बढीभन्दा बढी जनतालाई उठाउने। किन भने केपी ओली अब रक्षात्मक हुने तर्फ गइसके।’

प्रचण्डले  ओली समूहले गरेको २३ गतेको जनसभाबाट ओली रक्षात्मक बनेकाे दाबी गरे। उनले भने, ‘हामी पनि ऐकवद्धता भएर ऐतिहासिक जन प्रदर्शन गर्नुछ। तपाईँ त्यसमा भूमिका खेल्नुहोस्।’

प्रचण्डले अबको प्रधानमन्त्री आफू बन्नेतर्फ संकेत गर्दै भने, ‘यो लडाईँ जितेर हामी आउँछौं, आउँछौं। हामी आएपछि तपाईँहरुको समस्या समाधान गर्छौं। तपाईँका समस्या समाधान गर्ने कुरालाई हामीले उच्च प्राथमिकतामा राख्छौं।’

नेकपाको आन्तरिक मतभेदका कारण पार्टी दुई समूहमा विभाजन भएको छ। प्रधानमन्त्री ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा छ।

नेकपाका दुई समूहकाबीच शक्ति प्रदर्शन गर्ने क्रममा ओली समूहले माघ २३ गते काठमाडौंको नारायणहिटी अगाडि आमसभा गरेको थियो। ७० हजारबढी मानिसको उपस्थिति भएको भनिएको  साे सभाका बारेमा प्रचण्डले टिपप्णी गर्दै भने, ‘छरपस्ट गरेर राख्दा पनि ३० हजार मान्छे पुगेनन्।’

ओली समूहलाई लक्षित गर्दै प्रचण्डले भने, ‘हामी शान्ति प्रक्रियामा आएको मान्छेहरुलाई मन परेको थिएन। उनीहरुले नहोस भन्ने चाहेका थिए। तर, जनताको बलले शान्ति प्रक्रिया, चुनाव लगायत सबै कुरा भयो र हामीले जित्यौं।’

जनताको तागतलाई चुनौती दिन प्रतिक्रियाबादीले खोजेको प्रचण्डको भनाइ थियो। उनले जनतालाई विश्वास दिलाउनका लागि नेतृत्वपक्ष नै सडकमा गएको पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *