मुस्लिम युवती र हिन्दु युवकको त्यो प्रेम, जसलाई एड्सले पनि रोक्न सकेन

डिसी नेपाल
२ फागुन २०७७ २०:२५

नयाँ दिल्ली (एजेन्सी)। ‘हामी एकअर्कासँग प्रेम गर्छौ। म हिन्दु हुँ र उनी मुस्लिम हुन्। हाम्रो बिहे हुन सक्दैनथ्यो, त्यसैले हामीले भागेर बिहे गर्यौं। त्यसपछि प्रहरीले हामीलाई पक्राउ गर्यो र मेरो र मेरी श्रीमतीको मेडिकल जाँच गरियो। त्यो जाँचमा थाहा भयो उनी एचआईभी पोजेटिभ रैछिन्। तर म उनीसँग प्रेम गर्थेँ, त्यसैले बिहे गरेँ। म उनीबिना बाँच्न सक्दैन।’

यो भनाइ हो भारतको गुजरातस्थित बनासकांठाका मानुजी ठाकोर (परिवर्तित नाम)को हो। उनले प्रेमका लागि कसैको कुरा सुनेनन्, एचआईभी संक्रमित श्रीमतीलाई साथमै राखे।

मानुजी खासै पढेलेखेका मानिस होइनन्, उनी धनी पनि होइनन्। उनी गाउँमा मिस्त्रीको काम गर्छन्। काम गर्नेक्रममा उनलाई उत्तरप्रदेशको एक मुस्लिम परिवारको घर बनाउने काम मिल्यो।

बीबीसी गुजरातीसँग कुरा गर्दै मानुजीले भनेका छन्, ‘गाउँका जमिनदारले उनीहरुलाई आफ्नो खेतमा काम गर्नका लागि मजदुरको रुपमा राखेका थिए। उनीहरुकै लागि घर बनाइँदै थियो।’

उनले भने, ‘घर बनाउने काम गर्नेक्रममा मुस्लिम परिवारकी १६ वर्षीया रुखसाना (परिवर्तित नाम) खाजाको विषयमा सोध्थिन्। गाउँका अधिकांश मानिसहरुले हिन्दी बुझ्दैनथे। मलाई हिन्दी आउँथ्यो। त्यसैले म रुखसानाको परिवारसँग छिटै घुलमिल भएँ।’

समयसँगै मानुजी रुखसनाको प्रेममा परे। प्रेमको आभास दुबैतर्फ थियो। रुखसानाले बीबीसीसँग भनिन्, ‘मलाई थाहा नै भएन, म प्रेममा परेँ। इदको दिन जब म १७ वर्षकी भएँ, मानुजीले मलाई कपडा उपहार दिए।’ मानुजीले दिएको कपडा उपहारबारे परिवारलाई रुखसानाले बताएपछि परिवारमा उनीमाथि ज्यादती सुरु भयो। उनीको पिटाइ हुन थाल्यो। केही समयपछि दुबैले भागेर बिहे गरे। मानुजीको घरमा पनि यो बिहेमा सहमति थिएन। त्यसैल उनीहरुले भागेर बिहे गरेका थिए। उनीहरुले रुखसाना १८ वषर्की भएपछि २०१९ मा अदालतमा बिहे गरे।

बिहेपछि झन समस्या

मानुजीेले भने, ‘यसपछि समस्याहरु बढे। रुखसानाका बाबु र नातेदारले हामीलाई सताउन थाले। रुखसानाको परिवार हाम्रो परिवारसँग भगडा गर्न थाल्यो। गाउँमा हंगामा भयो।’

केही समयपछि रुखसानाका बाबुले मानुजीविरुद्ध नाबालिग युवती भगाएको आरोपमा मुद्दा दर्ता गराए। लकडाउन भएपछि मानुजी र रुखसानाका दुःखका दिन झन कष्टकर बने। उनीहरुले काम पाएनन्। कामको खोजीमा उनीहरु एक गाउँबाट अर्को गाउँमा भौँतारिरहे। धेरै तनाव बढेपछि रुखसाना खाफै प्रहरीमा पुगेर आफू नाबालिग नभएको रिपोर्ट गरिन्। रुखसाना प्रहरी चौकीमा पुगेपछि मानुजीले प्रहरीसँग आत्मसमर्पण गरे। प्रहरीले रुखसानाको मेडिकल जाँच गर्दा उनी एचआईभी संक्रमित भएको पुष्टि भयो। यसपछि मानुजीको पनि परीक्षण भयो, उनी संक्रमित थिइनन्।

मानुजी भन्छन्, ‘मैले प्रहरीलाई भने मसँग प्रमाण छ। मैले वयस्क युवतीसँग सहमतिका साथ बिहे गरेको हुँ। तर कसैले सुनेन। मुद्दा अदालतमा गयो। दुई महिना जेलमा बसेपछि गुजरात उच्च अदालतले जमानत दियो। तर मेरो ध्यान एक मेडिकल टेस्टमा अड्किएको थियो।’

एचआईभी संक्रमितसँग बिहे गर्न तयार

गुजराज उच्च अदालतमा मानुजीको मुद्दा लड्ने वकील अपुर्व कपाडियाले बीबीसीसँग भने, ‘यो विचित्र मामिला थियो। मानुजी एचआईभी निगेटिभ थिए तर चिकित्सकहरुले आशंका गरेका थिए, उनी ६ महिनाभित्र संक्रमित हुन सक्छन्।’

६ महिनापछि मानजीले फेरि एचआईभी परीक्षण गरे। यो पटक पनि उनी संक्रमित थिएनन्। यसैक्रममा मानुजीलाई रुखसानाको सेल्टरमा जाने अनुमति मिल्यो।
यसपछि अदालतले मानुजीलाई सोध्यो, ‘रुखसाना एचआईभी संक्रमित छिन्, भविष्यमा तपाईँ पनि संक्रमित हुन सक्नुहुन्छ। के बिहेबारे पुनःविचार गर्नुहुन्छ?’ तर मानुजीले बिहे गर्न तयार रहेको जवाफ दिए।

रुखसानाले बीबीसीसँग भनिन्, ‘जब हाम्रो बिहे भयो, त्यतिबेला मलाई एचआईभी संक्रमित भएको जानकारी थिएन। तर परीक्षणपछि मैले मानुजीलाई बिहे तोड्न भनेँ। तर उनले मेरो कुरा मानेनन्। उनले मसँग नै बिहे गर्ने बताए। मैले उनलाई बिहे विर्सिन भनेँ। पहिलो पटक मैले यस्तो भनेपछि उनी निकै निराश भए। दोस्रो पटक मलाई भेट्न आउँदा उनी देवदास जस्ता देखिए। तेस्रो पटक निकै हतास।’

‘मानुजीले मेरो लागि निकै मुस्किल सहे। अरु कसैले यस्तो गर्न सक्दैन। उनी मेरो धर्म अपनाउन पनि तयार भए। उनले भने मसँग बिहे नभए अरु कसैसँग पनि बिहे गर्दिन। यो कुराले मेरो दिल छोयो। मैले जब बिहेका लागि सहमति दिएँ, उनको अनुहार निकै चम्कियो। मैले अदालतमा बिहेका लागि सहमति जनाएँ। र मैले हिन्दु धर्म अपनाएर मानुजीसँगै रहने बताएँ। मैले अदालतमा सन्तान उत्पादन नगर्नेसमेत बताएँ। यदि बच्चाको आवश्यकता भयो भने धर्मपुत्र पाल्ने बताएँ। तर सँगै मर्ने र सँगै बाँच्ने भने।’

प्रेम नै सबै थोक

मानुजी ठाकोरले बीबीसी गुजरातीसँग भने, ‘रुखसाना जब १२ वर्षकी थिइन्, उनलाई रगत दिइएको थियो। सोही कारण उनी एचआईभी संक्रमित भइन्। उसले केही पनि गल्ती गरेकी होइन। अब हाम्रो नियती एकै छ। बिरामी रुखसानालाई म कसरी छाड्न सक्थेँ? मलाई भावनालाई नियन्त्रणमा राख्न आउँदैन। यदि बिहेपछि दुर्घटना भएको भए के हुन्थ्यो? मैले उनको हात समातेको छु। अब हाम्रो नियती एउटै हो। यो विषयमा म कसरी भनुँ? प्रेम नै सवै थोक हो।’

गुजरात उच्च अदालतकी न्यायाधीश सोनिया गोकनीले यो जोडीको कुरा सुनेपछि बिहेका लागि अनुमति दिइन्। (बीबीसीबाट अनुवाद)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *