प्रचण्डका स्नाइपरहरुबाट क–कसलाई खतरा? डिसी नेपाललाई पनि धम्की

डिसी नेपाल
९ फागुन २०७७ १४:१०

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट भन्दै केही व्यक्तिहरुले डिसी नेपालको सम्पादन समूहलाई केही दिनदेखि निरन्तर धम्क्याइरहे।

राज्यका सुरक्षा निकायलाई अविश्वास गर्दै छुट्टै कमाण्डो समूहलाई प्रचण्डले आफ्नो सुरक्षाको पहिलो घेरामा राखेको कुरा डिसी नेपालले पहिलोपल्ट ‘को हुन् प्रचण्डको वरिपरि हिड्ने कालो सुटधारी स्नाइपरहरु’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीज्यू जस्तो व्यक्तिको सुरक्षा संवेदनशीलता विचार नगरेको भन्ने उनीहरुको आक्रोश थियो। जनयुद्ध नभएको भए नेपालमा गणतन्त्र आँउथ्यो? जनयुद्धका नायकको सुरक्षा पूर्वलडाकू खटिन पाउँदैन भन्ने डिसी नेपाल को हो? जस्ता प्रश्नहरु गरेर आइन्दा प्रचण्डका सुरक्षाबारे लेखे जे पनि हुने धम्की दिइयो।

समाचार लेखेपछि प्रतिक्रिया अस्वाभाविक होइन। त्यसमाथि भीभीआईपीको सुरक्षाबारेको समाचार ब्रेक नै गरिएकाले अस्वाभाविक प्रतिक्रियाहरुको अनुमान स्वभाविक नै गरिएको हो। डिसी नेपालले विगत केही दिनदेखि निरन्तर पाइरहेको धम्की प्रचण्डबाट निर्देशित हुन कि होइनन् त्यो प्रचण्डले नै जान्ने कुरा हो।

संविधानप्रदत्त प्रेस स्वतन्त्रताको पालनाको जिकिर गर्नु ‘भालुलाई पुराण’ भन्ने नेपाली उक्तिमात्र सावित हुनसक्छ। तर, प्रचण्डले राज्यका सुरक्षा निकायप्रति अविश्वास गर्नुको भरपर्दो कारण दिनुको साटो समाचार प्रकाशित भएकोमा आक्रोश पोख्नुको अर्थ भने बुझिनसक्नु छ।

प्रचण्ड र नेपाली सुरक्षा निकायका बीचको साइनो केलाउँदा उनी सार्वजानिक जीवनमा प्रकट भएकै दिनको अभिव्यक्तिसम्म पुग्नु पर्ने हुन्छ। त्यसबेला उनले नेपाली सेनालाई बलात्कारी र हत्याराहरुको समूह भनेका थिए। त्यसयता कहिले आठ जर्नेलहरुको बर्खास्तगी काण्ड र प्रधानसेनापतिलाई नै बर्खास्त गर्ने काण्डमा परेर उनी विवादित बनिसकेका छन्।

आफू पहिलोपल्ट प्रधानमन्त्री हुँदा पनि उनले मुलुकको कानुन र नियमलाई मिचेर तत्कालीन माओवादी लडाकूहरुलाई आफ्नो सुरक्षामा खटाउने काम गरेका थिए। भलै, यस्तो कार्यको वैधानिकता उनले कहीँ कतै देखाउनु परेन। बीचमा उनले सरकारी सुरक्षा निकायलाई नै विश्वास गरेकोजस्तो देखाएका पनि थिए केही समयका लागि तर त्यो धेरै समय टिकेन।

यतिबेला उनले आफ्नो सुरक्षाका लागि पूर्वलडाकूहरुको एउटा समूह नै तालिम गराएर राखेका छन्। कालोसुट कालो चश्मामा उनको वरिपरि बसेर टाढा टाढसम्म प्रचण्डका सुरक्षा चुनौतीहरु हेर्ने र परे तत्काल त्यस्ता चुनौतीहरुमाथि जाइलाग्ने स्नाइपर टोली बनाएर प्रचण्डले फेरि प्रयोग गर्न थालेको कुरा डिसी नेपालले सार्वजानिक गरेयता केही गम्भीर प्रश्नहरु उठेका छन्।

मुलुकको प्रधानमन्त्री भइसकेका प्रचण्डलाई नेपालका सुरक्षा निकायहरु प्रति अझै अविश्वास छ? के नेपालका सुरक्षाकर्मीहरु जो भीभीआईपी सुरक्षामा तालिम प्राप्त छन् उनीहरुको क्षमतामा प्रचण्डलाई विश्वास छैन? प्रचण्डको दृष्टिमा उनको नेतृत्वमा भएको तत्कालीन विद्रोहमा लागेका लडाकूहरु राज्यका सुरक्षाकर्मीभन्दा बढी क्षमता राख्छन् भन्ने प्रमाणित गर्न खोजिएको हो?

मुलुकको प्रधानमन्त्री भइसकेका प्रचण्डलाई नेपालका सुरक्षा निकायहरु प्रति अझै अविश्वास छ? के नेपालका सुरक्षाकर्मीहरु जो भीभीआईपी सुरक्षामा तालिम प्राप्त छन् उनीहरुको क्षमतामा प्रचण्डलाई विश्वास छैन? प्रचण्डको दृष्टिमा उनको नेतृत्वमा भएको तत्कालीन विद्रोहमा लागेका लडाकूहरु राज्यका सुरक्षाकर्मीभन्दा बढी क्षमता राख्छन् भन्ने प्रमाणित गर्न खोजिएको हो?

राज्यका आधिकारिक निकायभन्दा बाहिर गएर भीभीआईपीले आफ्नो सुरक्षा खोज्ने कार्यले कस्तो प्रणालीको वकालत गर्छ? झट्ट हेर्दा उत्तरकोरियाका निरंकुश शासक किम जोङ उनले प्रयोग गर्ने ब्ल्याक क्याट शैली र भेषभुषामा देखाइएका प्रचण्डको सुरक्षार्थ खटिएका ती लडाकूहरुले कहाँ तालिम लिएका हुन्?

र ,उनीहरुको तालिमको बैधानिकता के हो? राज्यका संवेदनशील क्षेत्रहरुमा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्षको हैसियतले जाँदा राज्यले नचिनेका सुरक्षाकर्मी लिएर कसरी जान सकिन्छ? राज्यविरुद्ध लडेका लडाकूहरुलाई विना हैसियत पूर्वप्रधानमन्त्रीजस्तो भीभीआईपीले आफ्नो अगुवा दस्ताका रुपमा राख्नुले उनको सुरक्षामा खटिने राज्यका फौजको मोरालमा पार्ने असर र त्यसले ल्याउने परिणामबारे प्रचण्डले केही सोचेका छन्?

त्यसबाहेक सुरक्षामा हुनुपर्ने कोआर्डिनेशन कसरी सम्भव छ लडाकूहरुसँग? यसले झन् उनको सुरक्षामा भद्रगोलको अवस्था आउने त होइन? वैधानिकताविहीन फौज खटिँदा भीभीआईपीको सुरक्षामा समस्या आए जिम्मेवारी कस्ले लिने? यी गम्भीर प्रश्नहरु हुन् जुसको जवाफ जनताले प्रचण्डबाट खोजेका छन्।

त्यसैगरी राज्यका सुरक्षा निकायहरु जसले भीभीआईपीको सुरक्षामा खटिनुपर्छ उनीहरुको नेतृत्वले पनि प्रचण्डका कालोसुटधारी स्नाइपरहरुबारे तत्काल चासो राख्नु जरुरी छ। बैधानिकताविहीन ती लडाकूहरुबाट भोलि अरु भीभीआईपीको सुरक्षामाथि चुनौती थपियो भन्ने त्यसको जिम्मेवारी कस्ले लिने?

उनका अबैधानिक सुरक्षाकर्मीबाट भोलिका दिनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवालगायत जो जो प्रचण्डको राजनैतिक लाइनसँग सहमत छैनन् उनीहरुमाथि आक्रोशमा आई आक्रमण गरे भने त्यसको जिम्मेवारी कसले लिन्छ?

त्यसैले यी प्रश्नमा गम्भीरता देखाउनु तत्काल जरुरी छ। डिसी नेपालले सुरक्षाजस्तो अति संबेदनशील क्षेत्रमा भएको वेथितिमात्रै सार्वजानिक गरेको हो। डिसी नेपाललाई धम्की दिनुको साटो भीभीआईपी सुरक्षाको संवेदनशीलताबारे ठण्डा दिमागले सोच्नु पो पर्ने हो कि?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *