किसानलाई सम्मान गर्नुपर्छः मन्त्री अर्याल

डिसी नेपाल
१० फागुन २०७७ २०:२२

स्याङ्जा । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्यमाकुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएकी छन् ।

गल्याङ नगरपालिका–१ सार्वजानिक माविमा प्राविधिक शिक्षालयको साझेदारीमा सोमबार व्यावसायिक उत्पादनको शुभारम्भ गर्दै उनले काम गरेर खाने वर्गलाई हेलाहोचो गर्ने विगतको संस्कारमा बिस्तारै परिर्वतन हुँदै आएको बताइन् ।

“अहिले किसानलाई सम्मान गर्ने संस्कारको विकास हुँदै आएको छ”, मन्त्री अर्यालले भनिन्, “कृषि कर्म गर्नेलाई होच्याउने होइन, हामीले सलाम गर्नुपर्छ । हिजोको सामन्तवादी सोचलाई परिर्वतन गर्नुपर्छ ।”

उनले कृषिकै माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने भन्दै कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायिकीकरणका लागि सरकार विशेष कार्यक्रमका साथ अगाडि बढेको बताइन् । कृषकलाई व्यावसायिक करतर्फ आकर्षित गर्न राज्यले विभिन्न कार्यक्रम ल्याउने बताउँदै मन्त्री अर्यालले भनिन्, “कृषि मन्त्रालयले कृषि तथा पशुको विकासका लागि विभिन्न अनुदान र सहुलियतका कार्यक्रमहरु ल्याएको छ । कृषकको खेतबारीमै सरकार जोडिनेछ ।”

मन्त्री अर्यालले माटो र हावापानी सुहाउँदो कृषि प्रणालीलाई अवलम्बन गर्नुपर्ने भन्दै कृषिमा प्रविधिको अधिकतम उपयोग गरी कृषि क्रान्ति गर्ने बताइन् । नयाँ सोच र प्रविधिका साथ सरकार अगाडि बढेको भन्दै उनले स्याङ्जा जिल्लामा कृषिको विकासका लागि प्रतिबद्धता व्यक्त गरिन् । ‘एक पालिका एक उत्पादन’का साथ जिल्लालाई कृषिका माध्यमबाट समृद्ध बनाइने समेत उनको भनाइ छ ।

मन्त्री अर्यालले स्याङ्जामा सुन्तला र कफीको जोन बनाउने कार्य कार्यान्वयन भइरहेको भन्दै अन्य फलफूल तथा तरकारीको जोन बनाइने बताइन् । सो अवसरमा उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत मावि मालुुङ्गालाई रु १० लाखको चेक हस्तान्तरण गरिन् । मन्त्री अर्यालले छात्राहरुका लागि स्यानिटरी प्याड बनाउने मेशिन र खानेपानीका लागि युरोगार्डसमेत सो विद्यालयलाई हस्तान्तरण गरिन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *