८ रेक्टर स्केलसम्मको भूकम्पले ढल्दैन सिंहदरबार

तर्कबहादुर थापा
११ फागुन २०७७ ७:३३

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको ३ वर्ष पुगेको अवसरमा सरकारले गरेको कामको फेहरिस्त लगाउँदै प्रमुख प्रशासकीय भवन तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको उद्घाटन समेत गरेका थिए।

२०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको सिंहदबारको मुख्य भवन प्रवलीकरण गर्दै पुनर्निर्माणको अन्तिम चरणमा छ। अधिकांश भागको पुनर्निर्माण भइसकको छ। अब छिट्टै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय सोही भवनमा सार्ने तयारी भइहरेको छ।

सिंहदरबारको मुख्य भवन भूकम्पीय जोखिमको दृष्टिकोणले मजबुद बनाइएको छ। पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले २०७२ सालको भन्दा ठूलो भूकम्प गए पनि सिंहदरवारले थेक्न सक्ने बताए। भूकम्पपछिको पुनर्निर्माणमा अन्तर्गत प्रवलिकरण गरिएको सिंहदरबारको उत्तर, पूर्व र दक्षिण तर्फको भवन पूर्ण भएको छ।

अर्यालले भने, ‘ हामीले खासमा २०७२ सालमा गएको भूकम्प भन्दा बढी स्केलको भूकम्प गए पनि सुरक्षित रहन्छ भनेका छौं। अब त्यो स्केल नापेरै यति उति भनिने विषय त होइन। मोटामोटी ८ रेक्टरस्केलको भूकम्प पनि धान्छ होला भनेर पूर्वानुमान गरिएको छ।’ सम्भावित भूकम्पीय जोखिमलाई धान्न सक्ने गरी प्रवलिकरण गरिको प्रवक्ता अर्यालले जानकारी दिए।

१९६० सालमा तत्कालीन प्रधानमन्त्री ३ चन्द्र शमशेरको पालामा सिंहदरवारको निर्माण गरिएको हो। नेपालको ऐतिहासिक तथा प्रमुख प्रशाशकीय भवन पनि हो सिंहदरवार। २०३० सालमा भएको आगलागीबाट उक्त भवनको ३ तर्फको भाग जलेर नष्ट भएका थिए। पुनः २०३७ सालमा जलेर नष्ट भएका सबै भवनहरु पुरानै शैलीमा नयाँ प्रविधिबाट निर्माण भएका हुन्।

पुनःनिर्माण सम्पन्न भएका उत्तर, पूर्व र दक्षिण मोहडामा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामाग्री प्रयोग भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सिमेन्ट, बालुवा, छड र बोण्डीङ केमिकलहरु प्रयोग भएका छन्। नयाँ प्रविधि र सामाग्रीहरु प्रयोग भए पनि पुरानो स्वरुप नबिग्रिने गरी प्रवलीकरण सम्पन्न गरिएको प्रवक्ता अर्यालले जानकारी दिए।

प्रवलीकरण प्रविधि अन्तर्गत दुबै साइडमा कंक्रिट ज्याकेटीङ गरिएको छ भने केमिकल बोण्डीङ एजेण्ट प्रयोग गरी प्रवलीकरण गरिएको छ। उक्त तीन दिशा तर्फका भवनहरुलाई सुरक्षित गरे पश्चात अत्याधुनिक पनि बनाइएको प्राधिरणले जानकारी गरायो। प्राधिकरणका अनुसार आइटी र सेक्युरिटी, सिसिटिभी, ए.सी., फाएय फाइटीङ र स्यानिटरिङ जस्ता काम भएका छन्।

यसका लागि भ्याट बाहेक ८७ करोड ठेक्का सम्झौता अंकमा लागत भएको प्राधिरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता अर्यालले पश्चिमी मोहोडा पनि चाँडै सकिने विश्वास व्यक्त गरेका छन्। उनले भने, ‘चाँडै सक्ने गरी काम उहाँहरुले गर्नु भएको छ। र, सम्झौताको अवधि पनि १ वर्षको छ।’

पुरातात्विक हिसाबले अत्यन्तै महत्वपूण पश्चिमी मोहडा खण्डलाई पुरानै शैली, प्रविधि तथा निर्माण सामाग्रीको प्रयोग गरिएको अर्यालले बताए। उनका अनुसार काठ, फालाम, सुर्की, चुना लगायतका सामाग्रीहरु प्रयोग भइरहेका छन्।

भ्याट बाहेक ४६ करोड ८ लाख लागतमा सम्पन्न हुने उक्त खण्डको काम ५० प्रतिशत सकिएको छ। २०७ को असोजमा सम्पन्न गरिने लक्ष राखिएको पनि प्रवक्ता अर्यालले जानकारी दिए।

कहाँ पुग्यो भूकम्पछिको पुनर्निर्माण

पुनर्निर्माण प्राधिकरणका प्रवक्ता अर्याल अनुसार हालसम्म प्राधिकरणले सरकारी भवन तर्फ ८५.३ प्रतिशत पुनःनिर्माण कार्य सम्पन्न गरेको छ। ९ प्रतिशत जति बनिरहेका छन् भने ५.४४ प्रतिशत भवनहरु सुरुवात नै भएका छैनन्।

यस्तै, विद्यालय तर्फ ८०.५ प्रतिशत पुनःनिर्माण सम्पन्न भएको छ भने १९.४४ प्रतिशत बन्ने क्रममा रहेका छन्। स्वास्थ्य संस्थातर्फ भने पुनःनिर्माण गर्नु पर्ने १ हजार १ सय ९७ मध्ये ५८.३१ प्रतिशतमात्र सम्पन्न भएका छन्।

११.९५ प्रतिशत बन्ने क्रममा छन भने २९.७४ प्रतिशत सुरु हुन सकेका छैनन। अर्यालका अनुसार पुरातात्विक सम्पदाहरुमा पनि ५०.७४ प्रतिशत पुनःनिर्माण सम्पन्न भएको छ। ८.८४ प्रतिशत सम्पन्न हुने अवस्थामा रहेका छन्।

बसन्तपुर दरवार क्षेत्र, बबरमहल, केशरमहल लगायतका ठूला भवनहरु प्रवलीकरण कार्य अन्तिम चरमा पुगेको छ भने काष्ठमाण्डपको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको अर्यालले जानकारी गराए।

निजी आवासतर्फ पनि ५ लाख ५९ हजार ४ सय ६१ पुनःनिर्माण भइसकेका छन्। २२ तले धरहरामा २१ तलाको ढलान सम्पन्न भएको छ भने रानीपोखरी पुरानै अवस्थामा फकिएको छ। यस्तै दरवारहाईस्कुल पनि पुनःनिर्माण सम्पन्न गरिसकेको प्राधिरणले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *