कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

डिसी नेपाल
१५ फागुन २०७७ ८:३९

काभ्रे । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ झरेको छ। काभ्रेपलाञ्चोकको १३ मध्ये हाल दुई स्थानीयतहमा चार सङ्क्रमित छन्। एघार स्थानीय तह सङ्क्रमणमुक्त भइसकेका छन्।

हाल बनेपा नगरमा एक महिला र एक पुरुष तथा धुलिखेलमा एक महिला र एक पुरुष सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ। पोष्टका अनुसार बिहीबार छ सङ्क्रमित रहेकोमा शुक्रबार दुई सङ्क्रमित डिस्चार्ज भएका हुन्। जिल्लामा तीन हजार ३५० जनालाई कोरोना भाइरस सङ्क्रमण भएका थिए।

काभ्रेमा १४ महिलासहित ४५ को कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। सङ्क्रमितमध्ये ९९ दशमलव ८९ प्रतिशत सङ्क्रमणमुक्त भइसकेको जनाइएको छ। आवश्यकतामा मात्रै परीक्षण हुने गरेकाले पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमणको लक्षण देखिएकाको मात्रै परीक्षण हुने पोष्टले जनाएको छ। चार सङ्क्रमित होम आइसोलेसनमा उपचाररत छन्।

कोरोना सङ्क्रमणविरुद्ध कोरोना–खोप (कोभिसिल्ड)को पहिलो चरणअन्तर्गत काभ्रेपलाञ्चोकको छ हजार ७८९ ले लगाएका छन्। पहिलो प्राथमिकतामा परेका तीन हजार ४९४ र दोस्रो प्राथमिकताका तीन हजार २९५ लाई उक्त खोप लगाइएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए। उनले काभ्रेपलाञ्चोकमा दोस्रो चरणको खोप कार्यक्रमका लागि तयारी भइरहेको बताए।

खोप सेवा नमोबुद्ध नगरस्थित मेथिनकोट प्रादेशिक अस्पताल, धुलिखेल अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। भारत सरकारले माघ पहिलोसाता नेपाल सरकारलाई ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो। चिकित्सकका अनुसार कोरोना सङ्क्रमणविरुद्धको खोप पूरा हुन एक व्यक्तिलाई दुई पटक लगाउनुपर्ने हुन्छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *