सप्तरीबाट विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

डिसी नेपाल
१५ फागुन २०७७ १६:४५

काठमाडौं । सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्ध हटाउने चर्चा चलिरहेको बेला नेपाल प्रहरीले सो समूहका ३ जना कार्यकर्तालाइ सप्तरीबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सप्तरी जिल्लाका जनसत्ता प्रमुख खडक नगरपालिका–३ बनरझुल्लाका आदर्श भनिने ५२ वर्षीय रामनाथ मण्डल, राजविराज नगरपालिका–४ का उदय भनिने उदयनाथ मण्डल र सप्तरीकै विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डल छन् ।

विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा माग्दै धम्की दिने गरेको सूचनाको आधारमा उनीहरुलाई जिल्लाको विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट ४ थान मोवाइल, जनविद्रोह लेखिएको एउटा किताब, वीर मधेशी लेखिएको किताब, युवा संगठन नेपाल साधारण सदस्यता ठेली १ थान, अखिल नेपाल महिला संघ क्रान्तिकारी लेखिएको आर्थिक सहयोगसम्बन्धी पत्र र युवा संगठन नेपालको आर्थिक सहयोगसम्बन्धी पत्रसमेत सामग्री बरामद भएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *