सभामुख सापकोटा र अष्ट्रेलियाका राजदूतबीच शिष्टाचार भेट

डिसी नेपाल
१७ फागुन २०७७ २२:०७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग हालै नेपालमा जिम्मेवारी सम्हालेकी नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी जाने भोल्कबीच आज शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले अष्ट्रेलियन राजदूतलाई सफल कार्यकालको शुभकामना दिएका थिए । सभामुख सापकोटाले नेपाल र अष्ट्रेलियाबीच छ दशक लामो कूटनीतिक सम्बन्ध हार्दिक, सुमधुर, बहुआयामिक र नमुनायोग्य रहेको बताउँदै अष्ट्रेलियाले कोभिड–१९ नियन्त्रणमा हासिल गरेको उपलब्धिप्रति खुशी व्यक्त गरे । उनले अअष्ट्रेलियाको १२० वर्ष लामो सङ्घीयतासम्बन्धी असल अभ्यास नेपालका लागि सिकाइ हुन सक्ने बताए ।

सङ्घीय संसद्मा नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह रहेको स्मरण गर्दै सभामुख सापकोटाले कोभिड नियन्त्रणपछि संसदीय मैत्री समूह थप सक्रिय भई संसद्–संसद्बीचको सहकार्य थप उचाइमा पुग्ने विश्वास गरे ।

नेपाली विद्यार्थीको ठूलो सङ्ख्या अष्ट्रेलियामा उच्च शिक्षाका लागि अध्ययन र रोजगारीमा समेत रहेको बताउँदै उनले यो अवसरका लागि अष्ट्रेलियाली सरकारलाई धन्यवाद ज्ञापन गरे । राजदूतले आफ्नो कार्यकालमा नेपालमा व्यापार, लगानी प्रवद्र्धन र सङ्घीयता कार्यान्वयनका लागि सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरिन् । उनले आफ्नो देशमा सङ्घीयताको लामो इतिहास भए पनि सिक्ने क्रम जारी रहेको चर्चा गर्दै नेपाल र अष्ट्रेलियाले एक अर्काबाट सिक्नु पर्ने धेरै विषय रहेको बताइन् ।

उनले आफू २० वर्षको उमेरमा नेपाल आएको, त्यसपछि पनि तीन पटक नेपाल घुम्न आएको स्मरण गर्दै अहिले राजदूतका रुपमा आउन पाउँदा खुशी लागेको बताइन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *