सभामुख सापकोटा र अष्ट्रेलियाका राजदूतबीच शिष्टाचार भेट

डिसी नेपाल
१७ फागुन २०७७ २२:०७
36
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग हालै नेपालमा जिम्मेवारी सम्हालेकी नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी जाने भोल्कबीच आज शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले अष्ट्रेलियन राजदूतलाई सफल कार्यकालको शुभकामना दिएका थिए । सभामुख सापकोटाले नेपाल र अष्ट्रेलियाबीच छ दशक लामो कूटनीतिक सम्बन्ध हार्दिक, सुमधुर, बहुआयामिक र नमुनायोग्य रहेको बताउँदै अष्ट्रेलियाले कोभिड–१९ नियन्त्रणमा हासिल गरेको उपलब्धिप्रति खुशी व्यक्त गरे । उनले अअष्ट्रेलियाको १२० वर्ष लामो सङ्घीयतासम्बन्धी असल अभ्यास नेपालका लागि सिकाइ हुन सक्ने बताए ।

सङ्घीय संसद्मा नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह रहेको स्मरण गर्दै सभामुख सापकोटाले कोभिड नियन्त्रणपछि संसदीय मैत्री समूह थप सक्रिय भई संसद्–संसद्बीचको सहकार्य थप उचाइमा पुग्ने विश्वास गरे ।

नेपाली विद्यार्थीको ठूलो सङ्ख्या अष्ट्रेलियामा उच्च शिक्षाका लागि अध्ययन र रोजगारीमा समेत रहेको बताउँदै उनले यो अवसरका लागि अष्ट्रेलियाली सरकारलाई धन्यवाद ज्ञापन गरे । राजदूतले आफ्नो कार्यकालमा नेपालमा व्यापार, लगानी प्रवद्र्धन र सङ्घीयता कार्यान्वयनका लागि सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरिन् । उनले आफ्नो देशमा सङ्घीयताको लामो इतिहास भए पनि सिक्ने क्रम जारी रहेको चर्चा गर्दै नेपाल र अष्ट्रेलियाले एक अर्काबाट सिक्नु पर्ने धेरै विषय रहेको बताइन् ।

उनले आफू २० वर्षको उमेरमा नेपाल आएको, त्यसपछि पनि तीन पटक नेपाल घुम्न आएको स्मरण गर्दै अहिले राजदूतका रुपमा आउन पाउँदा खुशी लागेको बताइन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *