पोखरा म्याराथनका लागि पाँच लाख ३० हजार सहयोग

डिसी नेपाल
२० फागुन २०७७ २२:२०

कास्की । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा सञ्चालन हुने ‘पोखरा म्याराथन’ का लागि मञ्चको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले रु पाँच लाख ३० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

पोखरेली मञ्च यूकेका कोषाध्यक्ष कमल गुरुङले आज आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा सो रकम मञ्चका केन्द्रीय अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरे । पोखरा म्याराथनलाई सहयोग गर्नु सबैका लागि गौरवको विषय भएको बताउँदै मञ्च कोषाध्यक्ष गुरुङले म्याराथनलाई विदेशमा रहेका पोखरेलीहरुले अपनत्व लिएको र वर्षेनी कार्यक्रम सफलताका लागि सहयोग गर्दै आएको बताए ।

मञ्चका अध्यक्ष गुरुङले सहयोगका लागि आभार व्यक्त गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोनाकाबीच विदेशबाट सहयोग प्राप्त भएकामा खुःशी व्यक्त गरे । कोरोनापछिको असहज अवस्थामा पनि आफूहरुले गत फागुन १ गते ४२ किमीको म्याराथन र महिलाको २१ किमीको हाफ म्याराथन सम्पन्न गरेको जानकारी दिँदै उनले अन्य इभेन्टहरु क्रमशः सञ्चालन गरिने स्पष्ट पारे ।

विगतमा सबै इभेन्टहरु एकैपटक सञ्चालन हुने गरेकामा यस वर्ष कोभिडका कारणले फरक फरक मितिमा तय गरिएको बताइन्छ । अध्यक्ष गुरुङले सन् २०२४ सम्म पोखरा म्याराथनलाई म्याराथन दौडको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता गर्ने लक्ष्य लिएको बताउँदै यसबाट पोखरा सहित समग्र नेपालको प्रवद्र्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

ह्विल चियर तथा दृष्टिविहीन दौडको तयारी पूरा

पोखरा म्याराथन अन्तर्गत यही फागुन २२ गते शनिबार आयोजना हुने ‘ह्विल चियर’ महिला तथा पुरुष र दृष्टिविहिन महिला तथा पुरुष दौडको तयारी पूरा भएको मञ्चले जनाएको छ ।

सो दौडअन्तर्गत ह्विल चियर महिला पुरुषतर्फ १५ र दृष्टि विहिनतर्फ ४५ जनाभन्दा बढीले नाम दर्ता गरिसकेको मञ्चका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए । ह्लिचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले रु सात हजार, द्धितीयले रु पाँच हजार र तृतीयले रु तीन हजार पुरस्कार पाउनेछन् ।

यसैगरी १० किमी महिला/पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र÷छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । १० किमी महिला/पुरुष दौडमा विजेता रु १५ हजार तथा द्धितीय र तृतीयले रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

छात्र/छात्रा दौडमा प्रथमले रु १० हजार द्धितीयले रु सात हजार र तृतीय हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्ने मञ्चका प्रमुख कार्यकारी अधिकृृत केशव पाठकले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *