कोरकटर मेसिनद्वारा कालोपत्रको गुणस्तर जाँच

डिसी नेपाल
२१ फागुन २०७७ ८:४५

कर्णाली । पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले राजधानी सुर्खेतमा कालोपत्र गरिएका सडकको गुणस्तर जाँच शुरु गरेको छ। निर्देशनालयले कर्णालीमै पहिलोपटक कोरकोटर मेसिनले पक्की सडकको गुणस्तर मापन गर्न थालेको हो।

यसअघि बनेका सडक बनेको दुई/तीन महिनामै कालोपत्र उप्कने र बाहिर आँखाले मात्र गरिएको अवलोकनले गुणस्तरको वास्तविकता थाहा नभएकाले चालु आर्थिक वर्ष २०७७/७८ बाट कोरकटर मेसिनबाट कालोपत्र सडकको गुणस्तर जाँचकार्य शुरु गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक वासुदेव पौडेलले जानकारी दिए।

“सडक कालोपत्र भएको एक हप्ताभित्रै हामीले कोरकटर मेसिनबाट गुणस्तर जाँच गर्छौँ”, निर्देशक पौडेलले भने, “यसले निर्माण व्यवसायीले मापदण्डानुसार सडक पक्की गरे/नगरेको बेलैमा जानकारी हुन्छ।” उनले पक्की सडकको मोटाइ चार सेन्टिमिटर हुनुपर्ने र कालोपत्र गरिएको सडकको गुणस्तर जाँच गर्दा मापदण्डअनुसार हुनुपर्ने बताए।

आधुनिक मेसिनबाटै पक्की सडकको गुणस्तर जाँच शुरु गरिएकाले अब निर्माण व्यवसायीले कमजोरी गर्न नपाउने र त्यसो गर्नेलाई छुट पनि नहुने उनको भनाइ थियो। निर्देशक पौडेलका अनुसार कर्णालीमा निर्माण हुने पक्की सडकका लागि अब कोरकटर मेसिनबाटै गुणस्तर नापिने छ।

बिहीबार निर्देशनालयले वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत इत्रामबाट मूलबजारसम्म जोड्ने सडकमा गरिएको कालोपत्रको तीन स्थानमा कोरकटर मेसिनबाटै गुणस्तर मापन गरेको थियो। चालु आवको असार मसन्तसम्म प्रदेश राजधानी सुर्खेतमा ३२ किलोमिटर सडक कालोपत्र गरिने निर्देशनालयले जनाएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *