काेराेना विरूद्धकाे खाेप लगाएका वृद्धवृद्धा भन्छन्- ‘अब मरिँदैन होला, यस्तो मौका छोड्नु हुँदैन’

रिता बस्नेत
२८ फागुन २०७७ १०:५९

काठमाडौं। ‘आधा घण्टा बस्नु भनेको छ, ज्वरो आउछ कि?, अब त मरिदैन होला कि?, सुगरले गर्दा सधैं रगत झिकिराख्ने भएर होला खोप लगाएको त थाहै भएन। अब कस्तो हुन्छ भनेर डर लागेको छ।, ज्वरो आउने हो कि?, सबैले खोप लगाउनुपर्छ केही पनि हुँदैन्।’, यी भनाइ निजामती कर्मचारी (सिभिल)अस्पतालको प्राङ्गणमा कोरोनाविरुद्धको खोप लगाएर आधा घण्टा आराम गरिराखेका ६५ वर्षमाथिका वृद्धवृद्धाका हुन्।

आफ्ना सन्तानको साहारामा अस्पताल आएका वृद्धवृद्धा कोही कोरोनाविरुद्धको खोप लगाउन लाइनमा थिए, कोही नाम लेखाउँदै थिए, कोही पालो कुरिरहेका देखिन्थे भने खोप लगाइसकेपछि धेरैजसो आराम गरिरहेका देखिन्थे।

लौरो टेक्दै र ह्विलचियरमा अस्पताल आएकाहरु सन्तानको सहारामा हुन्थे। आफ्ना सन्तानले भनेबमोजिम खोप लगाइसकेपछि भने अस्पतालकै प्राङ्गणमा बनाइएको आराम गर्ने अस्थायी कोठाभित्र बसिराखेका वृद्धवृद्धाहरुलाई स्वयंसेविकाहरूले थप ऊर्जा दिइरहेका थिए।

वृद्ध शरीर खोप लगाइसकेपछि डराउने, गाह्रो हुने हो कि भनेर त्यहाँ एउटा बेडसहितका दुई वटा अस्थायी टहरासमेत राखिएका थिए। टहरामा राखिएका कुर्सीहरुमा बसिराखेका वृद्धवृद्धाहरु हातमा खोप लगाएको समय लेखिएको टाँसेको कागजलाई हेर्दै अब आराम गर्ने सयम यतिउति बाँकी छ भन्थे।

यस्तै दृष्यलाई मध्यनजर गर्दै डिसी नेपालले कोरोनाविरुद्धकोे खोप लगाउनु भन्दा अगाडि र लगाइसकेपछिको अवस्थाबारे बुझ्दा बानेश्वरबाट आएकी ७५ वर्षीया जयलक्ष्मी दाहालले भनिन्, ‘सुई लगाएको हो कि होइन थाहा पनि भएन। अरु बेला त च्वास्स दुख्थ्यो यो पल्ट त थाहै पाइन्।’ अब ढुक्क भयो होला नि त कोरोना लाग्दैन भनेर सोध्दा, उनले पुनःभनिन्, ‘अब कस्तो हुन्छ भनेर डर त छ, ज्वरो आउने हो कि।’

नाति र ज्वाइसँगै श्रीमान–श्रीमती मुकुन्द ढकाल–महनकुमारी ढकाल पुरानो बानेश्वरबाट आएका थिए। महनकुमारीले भनिन्, ‘चिरिक्क मात्रै भयो। अब ढुक्क भए। अब मरिँदैन होला कि। कोराना माहामारीपछि घरबाट निस्केकै थिइएन। आजै यहाँ खोप लगाउन आएको हो। छोराछोरी नातिनातिना पनि घरबाटै अनलाइनबाट काम गर्ने, पढ्ने गर्थे।’

वृद्धवृद्धा आराम गरिराखेको ठाउँमा नजर लगाउँदै बसिराखेकी स्वयम्सेवक नर्स दिपा खड्कीले भनिन्, ‘हामीले यहाँ आधा घण्टा आराम गराउने हो, त्यो भित्रमा सुईको असर हेर्नको लागि। केही भएन भने त उहाँहरु जान सक्नु हुन्छ।’ उनलाई आराम गरिरहेका कतिपय वृद्धवृद्धाले सोधिराखेका हुन्थे, मैले सधैं खाइराखेको औषधि खान मिल्छ कि मिल्दैन्?, भनेर। डिसी नेपाललाई नर्स खड्कीले हालसम्म कुनैपनि वृद्धवृद्धालाई खोपको असरले गाह्रो पारेर अस्पताल भर्ना गर्नुपरेको अवस्थासमेत नभएको जानकारी गराइन्।

छोरीसँग बानेश्वरबाट आएकी हरिप्रिया मास्के भने डराएको अनुहारमा देखिइन्। उनलाई सोध्दा भनिन्, ‘मुटु रोगी छु। छोरोले सबै बुझेकोले खोप लगाएको हो। अब रगत पातलो हुने औषधि मात्रै नखानु अरु खाएपनि हुन्छ भन्नु भएको छ। खोप लगाउने मन थियो। अब कोरोना लाग्दैन भन्ने छ। म इण्डिया औषधि गर्न गएको मान्छे, कोरोनाले बन्द भएर उतै एक वर्ष थुनिएँ। त्यहाँ बस्दा मलाई कोरोना देखिएन। उता छोरा अस्पतालमै काम गर्ने हो। म घरबाट बाहिरै निस्किन। छोरा पनि कामबाट आएर नुहाइधुवाइ गथ्र्यो। म भएको ठाउँमा बाहिरबाट आएको बेला पस्दैनथ्यो।’

पार्वती बाँस्तोला शान्तिनगरबाट छोरी, छोरा र नातिसँग आएकी रहिछिन्। खुशी देखिनु भएको छ नि भनि उनलाई सोध्दा उनले भनिन्, ‘खुशी त हुनु पर्यो नि। बिरामी हुँदैन, अलिक बाँचिन्छ, अझै देखिन्छ सबैकुरा भने त खुशी हुनु परिहाल्यो नि। पछिको रोगलाई पनि अलि रोकथाम हुन्छ। सबैले लगाएँ, केही हुँदैन होला नि भन्ने लाग्यो। सुरुमा त कस्तो हो, के हो भन्ने भयो। सुई पनि ठूलठूलो छ रे, दुखाउछ रे भन्थे। तर सुई लगाएको थाहै भएन। अरु बेला सुई लगाउँदा चिरिक्क गथ्र्यो आज थाहै भएन।’

भोलि ज्वरो आउला नि त? भनि सोध्दा, उनले हाँस्दै भनिन्, ‘भोलि ज्वरो आयो भने पनि के गर्नु त, उसको आउने काम आफ्नो सहने काम। फेरि सोधेको मैले ज्वरो आयो भने के गर्नु भनेर, यहाँ नानीहरुले ज्वरो आयो भने सिटामोल खानु भनेका छन्। मलाई त यो कोराना संक्रमणभरी रुघा, खोकी, ज्वरो केही पनि आएन। कोराना पनि लागेन। छोराले कोरोनाको खोप लगाउने, नलगाउने बारे बुझ्यो अनि लगाउन आएकी। अब त के को डर? औषधि त हो नि। फेरि मलाई मात्र लगाएको हो र?, दुनियालाई लगाएको छ। हुनत आफ्नो जिउ अनुसार पनि यसको असर हुन सक्छ। आ, के को डर, डराएर त हुँदैन। म त ८० र छ वर्ष पुगिसके नि।’

उज्यालो अनुहारमा विदेशी झैं देखिने ७३ वर्षीय जीवन बस्नेत श्रीमतीलाई लिएर नयाँ बानेश्वरबाट आएका रहेछन्। उनले भने, ‘खोप लगाउँदा डर लागेको छैन। फ्लूको अगेन्समा पनि सुई हुन्छ, हामीले अमेरिकामा लगाएका थियौं। त्यसैको अलिकति फरक भर्सन हो, यो। त्यसकारण डराउनु पर्दैन। फेरि यो एकदम राम्रो कम्पनीको हो, यो बेलायतमा छ, त्यसैको इण्डियामा बनाएको हो। त्यसकारणले क्वालिटी पनि राम्रो छ।’

हाल अध्यामित्क किताब पढ्ने, आर्टिकलहरु लेख्ने, स्टकको विषयमा रिसर्च गर्ने लगायत गरेर दिनहरु बित्ने गरेको बताउने फरेष्ट अफिसरबाट अवकास प्राप्त जीवन बस्नेतलाई भने खोपसम्बन्धी धेरै नै ज्ञान रहेछ। अब ज्वरो आउला नि?, भनि सोध्दा, उनले भने, ‘आ आएपनि सिटामोल खाए भैगयो नि। अलि हल्ला बढी भयो क्या। खोप लगाएपछि पनि यस्तो र उस्तो हुन्छ भनेर, केही पनि हुँदैन्। खोप सबैले लगाउनु पर्छ, यस्तो मौका छोड्नु हुँदैन। खोपको क्वालिटी राम्रो छ, यस्तो राम्रो व्यवस्थापन गरेर सरकारले गरिदिएको छ। त्यसैले सबैले लगाउनु पर्छ। १८ वर्ष मुनिकोलाई अहिले खोप आएको छैन्। विकास गर्दैछन्, आएपछि उनीहरुले पनि लगाउनु पर्छ।’

उनकी श्रीमती भने छेउछाउमा भएकाले खोप लगाएपछि असर गर्छ कि गर्दैन भनेर गरिराखेको कुरालाई चासोका साथ सुनिराखेकी थिइन्, र सोध्दै पनि थिइन्। उता बस्नेत भने बिचैमा बोल्दै भन्छन्, ‘अलिअलि जिउमा भाइरस छ भने त्यसले रियाक्ट गरेको हो। त्यो मर्छ सक्किगयो नि।’
‘हिजो यहाँ खोप लगाउने भिड थियो, अब मान्छे घट्दै पनि गए, आज त्यति छैनन्’, भन्दै शुशीला मैनाली (महानगरपालिकाको स्वयंसेविका) ले भनिन्, ‘यहाँ गत आइतबारदेखि खोप सुरु भएको हो। खोप लगाउने मान्छे कम हुँदै गएको छ। सुरुमा भिड भयो, मान्छेलाई भोलि के हो कसो हो भनेर आइहाल्नु भयो। सुरुमा तीन दिन जति भिड भयो त्यसपछि कम हुँदै गएको छ। सुरुदेखि नै म यहाँ काम गरिराखेको छु। मंगलबार एक जना बुबालाई चाहिँ सुई लगाएपछि अलि गाह्रो भयो, त्यसपछि भने कसैलाई केही भएको छैन। कोहीकोही भने अलि धेरै डराउनु हुन्छ, अनि हामीले सबै कुरा भनेपछि डराउन छोड्नु हुन्छ। मेरो अनुभवमा ६० वर्ष मुनिकाहरु मान्छेहरु बरु डराएका थिए।’

स्वयंसेवकको रुपमा खटिएका देउराली क्लबका अध्यक्ष अर्जुन रानामगरले भने, ‘आजसम्म कसैलाई केही पनि भएको देखिएको छैन। एक जना बुबालाई चाहिँ अलि गाह्रो भएको थियो, पछि फलफूल दिएर एकछिन आराम गर्न लगाएपछि पनि सन्चो भएन, त्यसपछि हस्पिटल लग्यौं। उहाँलाई सुगर बढेर पनि गाह्रो भएको रहेछ। हस्पिटलले सबै हेरेर औषधिमूलो गरेपछि बेलुका डिस्चार्ज गर्यो।’

उनका अनुसार सिभिल अस्पतालको प्राङ्गणमा कोरोनाविरुद्धको खोप लगाउने पहिलो दिन(आइतबार) आठ सय ३७ जना, दोस्रो दिन नौ सय ३६, तेस्रो दिन नौ सय ५०, चौथो दिन ११ सय १२ जना र पौचौं दिन (बिहीबार) नौ सयजतिले लगाएका छन्। देउराली ब्लबबाट वृद्धवृद्धाको सेवाको लागि दिनमा १०–१२ जना स्वयंसेवक खटिराखेको उनले बताए।

खोप लगाइसकेका वृद्धवृद्धाको सेवाको लागि खटिएका प्राय स्वयंसेवकहरुका अनुसार खोप लगाइसकेपछि वृद्धवृद्धाहरुमा डराउने, आत्तिने, बेहोस हुने घटनाहरु भएको देखिएको छैन।

देशमा दोस्रो चरणको खोप अभियान गत आइतरबारदेखि सुरु भएको हो। प्रधानमन्त्री केपी ओलीले त्रिवि शिक्षण अस्पतालमा खोप लगाएर अभियानको सुरु गरेका थिए। खोप लगाएपछि प्रधानमन्त्री ओलीले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह पनि गरेका थिए।

दोस्रो चरणमा १६ लाखले खोप लगाउने सरकारको अनुमान छ। जसका लागि ६ हजार खोप केन्द्र तोकिएको छ। हिमाली जिल्लामा ५५ वर्ष र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइदैछ। खोप अभियानमा १५ हजार स्वास्थ्यकर्मीलाई खटाइएको छ। दोस्रो चरणको अभियान २० दिन सञ्चालन हुने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *