मादीमा एकैदिन दुई झोलुङ्गे पुल उद्घाटन

डिसी नेपाल
१४ चैत २०७७ ८:४१

कास्की । जिल्लाको पूर्वी भागमा अवस्थित मादी गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण गरिएका छन्। गाउँपालिकाको वडा नं ३ र ११ जोड्ने गरी इदीखोला ओल्मा झोलुङ्गे पुल तथा वडा नं ११ को सैमराङ र तासे जोड्ने बुम्लेखोला झोलुङ्गे पुलको शुक्रबार गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) ले उद्घाटन गरेका छन्।

इदीखोला ओल्मा पुलले दुई वडा जोड्ने भएकाले पुल बनेसँगै दुवै वडाका स्थानीयवासी उत्साहित बनेका छन्। पुलले वारपार गर्न सहज बनेको र समयको बचत भएको बताइन्छ। पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय झोलुङ्गे पुल निर्माण भएपछि हर्षित भएको सोही वडाध्यक्ष मित्रप्रसाद गुरुङले जानकारी दिए।

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट आयोजना स्वीकृत भई गाउँपालिकाबाट निर्माण गरिएको हो। इदीखोला ओल्मा झोलुङ्गे पुल जनश्रमदानसहित कूल रु ३८ लाख ४९ हजार ६९७ र बुम्लेखोला झोलेङ्गे पुल जनश्रमदानसहित रु ३६ लाख ९५ हजार ८०८ लागतमा निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए। गाउँपालिका अध्यक्ष गुरुङले गाउँका जनताको पीर, मर्का बुझ्ने, दुःखमा साथ दिने गरी जनताको घरदैलोको सरकार अघि बढेको बताए।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडक, मोटरेवल पुल, झोलुङ्गे पुल, वडा कार्यालय भवनलगायतका पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखेर आफूहरुले काम गरिरहेको उनको भनाइ छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *