दुई पालिका जोड्न पक्की पुल निर्माण शुरु

डिसी नेपाल
२३ चैत २०७७ २१:०७

दमौली । तनहुँको ऋषिङ गाउँपालिका र व्यास नगरपालिका जोड्न सेती नदीमाथि पक्की पुल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा ऋषिङ गाउँपालिका–१ झापुटार र व्यास नगरपालिका–३ देउरालीनगर जोड्न सेती नदीमाथि पक्की पुल निर्माण शुरु भएको हो ।

प्रदेश सरकारको रु ३२ करोड ४० लाख २७ हजार ३९४ को लागतमा पुल निर्माण हुन लागेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौंसँग सम्झौता भएको थियो । विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको कार्यालय प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए ।

एक सय ५४ मिटर लामो रहने पुलको चौडाइ ९.५० मिटर रहनेछ । पाइल फाउण्डेशनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ । पुल निर्माणका लागि चालू अवमा रु चार करोड ५० लाख विनियोजन भएकामा निर्माण कम्पनीलाई रु दुई करोड ८६ लाख भुक्तानी दिइएको छ ।

उक्त पुलको आज गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरेका छन्। सो अवसरमा मन्त्री गुरुङले विकास निर्माणका सवालमा सबै दलबीच सहमति र सहकार्य आवश्यक रहेका बताए । राजनीतिक दलबीच मतभेद रहेपनि विकास निर्माणका सवालमा एकजुट हुनुपर्नेमा मन्त्री गुरुङको जोड थियो ।

सङ्घीयताले घर घरमा विकास पुगेको चर्चा गर्दै मन्त्री गुरुङले प्रदेशभित्र आधारभूत खानेपानी सुविधा, हरेक बस्तीमा सडक र विद्युत् सुविधा पुर्‍याउन सरकारले काम गरिरहेको चर्चा गरे । “प्रदेश सरकारले महत्वपूर्ण सडक पुल निर्माणलाई जोड दिएको छ, त्यसैको उदाहरण झापुटारमा बन्न लागेको पुल पनि हो”, उनले भने, “भौतिक पूर्वाधार निर्माणमा सरकारको जोड छ ।”

झापुटारमा निर्माण शुरु भएको पुलले तनहुँको दक्षिणी भेगका जनताको जीवनस्तर परिवर्तन गर्ने बताउँदै उनले भने, “तनहुँको कर्णाली भनेर चिनिने दक्षिणी भेगका जनतालाई पुल बनिसकेपछि निकै सुविधा हुन्छ ।

गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले प्रदेश सरकारले विकास निर्माणमा उल्लेख्य प्रगति गरेको बताए । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जनताको वर्षौदेखिको सपना पूरा हुने क्रममा रहेको भन्दै समयमै पुल निर्माण गर्नुपर्नेमा जोड दिए । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पुल निर्माणका लागि स्थानीय तहबाट हुनुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले विकास निर्माणका कार्यमा आवश्यक शान्ति सुरक्षाको प्रत्याभूति गराउने बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *