चित्रमा आफ्नो भविष्य खोज्दै मल्ल

डिसी नेपाल
२५ चैत २०७७ २२:१७

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ निवासी १८ वर्षीया सोनिका मल्ल सानै उमेरमा चित्र कोरेर त्यसैमा आफ्नो भविष्य देखेकी छन् । सानै उमेरबाट चित्रकला क्षेत्रमा रुचि राख्दै आएकी मल्लले विगत दुई वर्षयता विभिन्न क्षेत्र र विषयका चित्र कोर्दै आएकी छन् ।

‘‘चित्र कोरेर नै आफ्नो जीवन निर्वाह गर्ने योजना बनाएकी छु’’, उनले भनिन्, ‘‘चित्र कोरेर जीविकोपार्जन गर्ने कलाकारहरु कमी देखिए पनि आफू व्यावसायिक रुपमा अघि बढ्ने अठोट गरेकी छु ।’’ पछिल्लो समय चित्र कोरेर भविष्य देख्ने चित्रकारहरु खासै नभेटिए पनि आफ्नो भविष्यको सपना यसैलाई बनाएको उनले बताइन् ।

‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ मल्लले सानै उमेरदेखि चित्रकला क्षेत्रमा रुचि राख्दै आएको बताइन् । शुरुमा चित्र बनाउँदा कसरी चित्र बनाउने भनेर चिन्ता लाग्ने गरे पनि अहिले धेरै सहज भएको उनी बताउँछीन् ।

चित्रकला जीवनयापनको महत्वपूर्ण क्षेत्र रहेकाले सामाजिक सञ्जालमा रहेका भिडियो हेरेर आफूले चित्र कोर्न सिकेको चित्रकार मल्लले बताइन् । उनले सिक्दै गरेको अवस्थामा पनि चिनेका या नचिनेका व्यक्तिको समेत आफ्नो चित्र बनाइदिन आग्रह गर्ने गरेकाले आफूले जानेको सीप लगाएर चित्र बनाउने गरेको उनको भनाइ छ ।

मानिसको आग्रहलाई स्वीकार गर्दा चित्र कोर्ने कार्यले निरन्तरता पाएसँगै आफ्नो कलामा पनि निख्खरता आएको उनी बताउँछीन् । उनी भन्छिन्, ‘‘शुरुमा केही असजिलो भएपनि चित्रकलालाई निरन्तरता दिँदै आएकाले अहिले धेरै सहज भएको छ ।’’ यसरी चित्र कोर्दा आफूले क्रमिक रुपमा दक्षता हासिल गर्दै गएकाले चित्रकला क्षेत्रलाई नै व्यावसायिक रुपमा लैजाने योजना बनाएको मल्लले बताए ।

पहिले चित्र कोर्ने कार्यलाई फूर्सदको समयको सदुपयोगको रुपमा लिने गरेकामा विस्तारै व्यावसायिक रुपमै लाग्न प्रेरित भएको उनको अनुभव छ । विशेषगरी आफूले मानिसका आकृति, वातावरण र नयाँनयाँ विषयवस्तुका चित्र कोर्ने गरेको उनले बताइन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *