बलियो नेपाल कप : रुपन्देही र कपिलवस्तु विजयी

डिसी नेपाल
२६ चैत २०७७ ९:४४

काठमाडौं । दाङको लमहीमा जारी बलियो नेपाल कपमा बलियो श्रीनगर रुपन्देही–११ र बलियो सर्वोत्तम कपिलवस्तु–११ विजयी भएका छन । क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा बलियो श्रीनगर रुपन्देही–११ ले बलियो ग्यान गुल्मी–११ लाई ३२ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही–११ ले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १२१ रन बनायो । रुपन्देही–११ का लागि प्रकाश गिरीले ३९ रन बनाए । बलिङमा गुल्मी–११ का लागि सुमित गुरुङले सर्वाधिक ३ विकेट लिए । १२२ रनको लक्ष्य पाएको गुल्मी–११ ले २० ओभरमा ९ विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । टोलीका लागि बिष्णु आलेले सर्वाधिक १७ रन बनाए । बलिङमा रुपन्देही–११ का लागि शाहाजाद आलम, सुमीत पराजुली र सन्तोष यादवले समान २–२ विकेट लिदा प्रकाश गिरीको नाममा एक विकेट रहयो । खेलमा रुपन्देही–११ का प्रकाश गिरीले प्लेयर अफ द म्याचको उपाधि पाए ।

बुधवारनै भएको अर्को खेलमा बलियो सर्वोत्तम कपिलवस्तु–११ ले बलियो मेगा अर्घाखाची–११ लाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अर्घाखाची–११ ले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १३२ रन बनायो । अर्घाखाची–११ का लागि सागर खत्रीले सर्वाधिक ३१ रन बनाए । बलिङमा कपिलवस्तु–११ का लागि बिपिन खनालले २ विकेट लिदा रोशन खान, कमरान खान, चेतन कार्की र शाजाद आलमको नाममा समान १–१ विकेट रहयो । १३३ रनको लक्ष्य कपिलवस्तु–११ ले १७ ओभर ४ बलमा मात्र २ विकेट गुमाउदै पुरा गर्यो । टोलीका लागि ओपनर रिसव बेलबासेले अर्धसतक बनाउदै सर्वाधिक ५६ रन बनाए । ५४ बलको सामना गरेका उनले ६ चौंका प्रहार गरेका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोशन खानले अविजित पारी खेल्ने क्रममा ४९ रन बनाए । ३७ बलको सामना गरेका खानले ७ चौंका प्रहार गरेका थिए । बलिङमा अर्घाखाची–११ का गौरव बन्जाडेले विकेट लिए । खेलमा रिशव बेलवासेले म्यान अफ द म्याचको पुरस्कार पाए ।

प्रतियोगिता अन्र्तगत बिहीवार बलियो सागरमाथा रुकुम–११ र बलियो श्रीनगर रुपन्देही–११ तथा बलियो ल्यान रोल्पा–११ र बलियो सर्वोत्तम कपिलवस्तु–११ बीच खेल हुनेछ । बलियो नेपाल पोषण अभियानको सहयोगमा सञ्चालन भएको प्रतियोगिता लुम्बिनी प्रदेशका १२ जिल्ला टिमले प्रतिस्पर्धा गरिरहेका छन । यस प्रतियोगिताका उत्कृष्ट प्रतिभावान महिला तथा पुरुष खेलाडीलाई क्रिकेटसम्बन्धी विभिन्न कार्यक्रममा समावेश गर्ने आयोजकले जनाएको छ । सम्भावना बोकेका प्रतिभाहरूको खोजी गर्नु र तिनीहरूलाई दक्ष खेलाडी बन्न अवसर दिने उद्देश्यले प्रतियोगिता गर्न लागेको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *