गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण: मुख्यमन्त्री गुरुङ

डिसी नेपाल
२८ चैत २०७७ २३:३०

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा गुणस्तरीय शिक्षाका लागि शिक्षक वर्गको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा आयोजित ४२औँ शिक्षक दिवस तथा सङ्गठनको १३औँ जिल्ला अधिवेशनमा उनले राज्यका हरेक परिवर्तनमा शिक्षक वर्गले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

शिक्षकले पेशागत जिम्मेवारी र मर्यादालाई आत्मसात गर्नुपर्ने उल्लेख गर्दै उनले समाजमा एउटा आदर्शका रूपमा आफूलाई स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए। “पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार आउन थालेपछि सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक अन्तरमा कमी भएको सङ्केत देखिएको छ” उनले भने, “सरकारलाई शैक्षिक क्षेत्रको सुधारका लागि बौद्धिक क्षेत्रबाट निरन्तर सहयोग तथा सल्लाह हुनुपर्दछ ।” मुलुकको समृद्धिका लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य भएको बताउँदै उनले त्यसका लागि तीनै तहका सरकार कटिबद्ध भएर अघि बढेको जानकारी दिए।

नेकपा (एमाले) गण्डकी प्रदेश इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले पार्टीमा व्यक्ति नभई विधि, सिद्धान्त र पद्धति प्रमुख हुने विश्वास व्यक्त गर्दै वर्तमानमा देखिएको चुनौतिका लागि बाम बुद्धिजीवी सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले संविधानको मर्म र भावनाअनुरुप शिक्षा क्षेत्रको गुणस्तर र विकासका लागि प्रदेश र स्थानीय तह मातहतमा हुनुपर्नेमा जोड दिए । उनले महानगरपालिकाभित्र रहेका शिक्षकको तलबमा मात्र वार्षिक एक अर्ब २५ करोड खर्च हुने गरेको जानकारी दिए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले सङ्गठनले शिक्षक वर्गको हकअधिकारको सुनिश्चित गर्दै रक्तदान, वक्तृत्वकला प्रतियोगिता, घुम्ती बैठकजस्ता कार्य गर्दै आएको जानकारी दिँदै दरबन्दी मिलान, स्थानीय महासङ्घ गठन, बेजिल्ला सरुवा चुनौतीपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रममा सङ्गठनको मुखपत्र ‘शिक्षक आवाज भाग चार’ को विमोचन, विपन्न, असहाय तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुका साथै सङ्गठनको विकासमा उल्लेखनीय योगदान पुर्याउने महानुभाव, अक्षयकोषदातालाई सम्मान गरिएको थियो ।

बालविकास केन्द्र भवन शिलान्यास

पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित बाराहीटोलमा रु ११ लाखको लागतमा नमूना बालविकास केन्द्र भवन निर्माण गरिने भएको छ । कक्षा, भान्छा, शौचालयसहित चार कोठाको सो ट्रस भवन निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु १० लाख र रु एक लाख बराबरको स्थानीय जनश्रम परिचालन गरी निर्माण गरिने भएको हो । गण्डकी प्रदेशसभा सदस्य एवं नेकपा (एमाले) कास्कीका अध्यक्ष कृष्णबहादुर थापाले नवनिर्मित भवनको आज शिलान्यास गर्दै बालविकास केन्द्रले विपन्न तथा असहाय बालबालिकाको शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

शिक्षाको पहिलो खुड्किलाका रूपमा रहेको बालविकास केन्द्रको भौतिक निर्माण र विकासका लागि तीनै तहका सरकार जिम्मेवार भएर अघि बढेको उल्लेख गर्दै उनले यस्ता केन्द्रहरु सामुदायिक विद्यालयका विद्यार्थीको स्रोत भएको बताए । पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले समाजका गरिब विपन्न परिवारको शिक्षा, स्वास्थ्य, खानेपानी र सडकलगायतका पूर्वाधार विकास वडाको पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे ।

दिवाखाजासहित शैक्षिक तथा मनोरञ्जनका सामग्रीको व्यवस्था गरिएको सो केन्द्रमा हाल २६ विद्यार्थी अध्ययनरत छन् । सो केन्द्रबाट अहिलेसम्म ३६ विद्यार्थी थप शिक्षाका लागि छोरेपाटन माध्यमिक विद्यालयमा भर्ना भई विभिन्न तहका कक्षामा पठनपाठन गर्दै आएको स्थानीयवासी वीरेन्द्र राईले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *