कालीगण्डकी किनारमा बिहानैदेखि स्नान गर्ने भक्तजनको भीड
पर्वत । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन। बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको दोस्रो लहरको भाइरस सङ्क्रमणको जोखिमका बाबजुद कालीगण्डकी नदीका विभिन्न किनारमा स्नान गर्नेको घुइँचो बढेको हो। आजको दिन विशेष मेला लाग्ने पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीबेनी तथा पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध सेतीवेणीधाम तथा जैमिनीघाट, पूर्तिघाट, नयाँपुल, गोपाङघाट, राजाको बगर, गलेश्वरधाम, मिलनचोक, वारीवेनी, खनियाघाटलगायतका स्थानमा स्थानीयवासीको बिहानैदेखि बाक्लो सहभागिता देखिएको छ।
गत वर्ष कोरोनाका कारण रोकिएका छिमेकी जिल्ला स्याङ्जा, कास्की, तनहुँलगायतका जिल्लाबाट आउने भक्तालु यस वर्ष भने हिजैदेखि आएर बास बसेर बिहानैदेखि स्नान गर्न थालेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment