के हाम्रो स्वास्थ्य प्रणालीले कोरोनाको दोस्रो लहर थेग्न सक्छ ?

तर्कबहादुर थापा
३ वैशाख २०७८ ७:२९

काठमाडौं। कोरोनाको भारतीय र यूके भेरियन्ट नेपालमा पनि भेटिएको छ। ललितपुरका १ जनामा भारतीय भेरिएन्ट (डबल म्यूटेन्ट भेरियन्ट) भेटिएको हो। यसअघि यूके भेरियन्ट पनि भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

विश्वमा कोरोना महामारीको दोश्रो लहरले उग्ररुप लिइरहेका बेला तीन किसिमको भेरियन्टहरु चर्चामा रहेको इपीडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडलेले जानकारी दिएका छन्। डा. पौडेलका अनुसार यूके भेरियन्ट, ब्राजिल भेरियन्ट र दक्षिणी अफ्रिकाको भेरियन्ट चर्चामा रहेका छन्।

उनले भने, ‘विश्वका अरु देशमा अलगअलग भेरिएन्ट छन्, जस्तै यूके भेरिएन्ट, ब्राजिल भेरिएन्ट र दक्षिणी अफ्रिकाको भेरिएन्छ चर्चामा छन्। बेलायतमा बेलायती भेरिएन्टले महत्वपूर्ण हिसा ओगटेको छ। ब्राजिलमा पनि ब्राजिलीयन भेरिएन्टले आफूलाई स्थापित गरेको छ। त्यस्तै दक्षिणी अफ्रिकामा त्यहाँकै भेरिएन्ट छ।’

तर, नेपालको खुल्ला सिमाना जोडिएको भारतमा भने तीन वटै भेरिएन्टहरुले प्रभाव रहेको उनले बताए। तीन वटै भेरिएन्ट भेटिएसँग नयाँ भेरिएन्ट पनि भारतले रिपोर्ट गरेको डा. पौडलेले जानकारी दिए।

के हो भेरियन्ट

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन जीनहरु विकसित भएर आएको प्रजाति नै भेरियन्ट भएको बताउँछन्। नेपालमा यसभन्दा पहिला यूके भेरियन्ट देखिइसकेको उनले जानकारी दिए।

उनले भने, ‘यो भेरियन्टको सर्ने दर ७० देखि ९० प्रतिशतसम्म बढी हुन्छ। हामीले पहिलो लहरमा आएको कोरोना झै ठान्यौं भने यसले नेपालमा महामारीको रुप चाँडै लिने छ।’

पछिल्लो यूके भेरियन्टले जनसंख्याको २० देखि ५९ वर्ष उमेर समूहलाई बढी प्रभावित पारेको अध्ययनहरुले देखाएका छन्। रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलका अनुसार २१ देखि ४० वर्षसम्मका उमेर समूहका व्यक्तिहरुमा यो भेरियन्ट सबैभन्दा बढी देखिएको हो। हालसम्म यो भेरियन्ट नेपालमा १ सय ५८ जनामा देखिएको छ।

उनले भारतमा पनि डबल म्यूटेन्ट भेरियन्ट देखिएको बताए। जसलाई आफूले भारतीय भेरियन्ट भन्ने गरेको समेत उनको भनाइ थियो। ‘भारतले नयाँ भेरियन्ट भेटिएको बताएको छ। जसलाई डबल म्युटेन्ट भेरियन्ट भनिन्छ।’ डा. पुनले भने, ‘मैले त त्यसलाई भारतीय भेरियन्ट भन्ने गरेको छु। बैज्ञानिकहरुबाट त्यसको नामाकरण भइसकेको अवस्था छैन। आधिकारिक अध्ययन पनि भएको छैन।’

यो भेरियन्ट पनि नेपालमा देखिएको डा. पुनले बताए। ‘ललितपुरका १ जना व्यक्तिमा उक्त भेरियन्ट भेटिएको छ। सरकारले व्यापक कन्ट्याक्ट ट्रेसिङ गर्नु पर्छ’ डा. पुनले भने, ‘हामी पछिल्लो लहरको कोरोनामा ध्यान दिएनौं, अलिकति सजगता अपनाएनौ भने ठूलो समस्या ब्यहोर्नु पर्ने हुन्छ।’

नेपालको पछिल्ला रिपोर्टहरुले संक्रमितको दर पनि बढ्दो क्रममा भएको देखाएको छ। अहिलेसम्म विश्वमा बनेका कोरोना विरुद्धका खोपहरु १९ वर्ष भन्दा मूनिका व्यक्तिहरुलाई लगाउन मिल्ने गरी बनेका छैनन्। तर, नेपालमा भने विद्यालय अवस्थाका व्यक्तिहरुमा पनि कोरोना देखिन थालेको छ।

के नेपालको स्वास्थ्य प्रणालीले धान्न सक्छ ?

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेको छ। जसमा १५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या ५६.९६ प्रतिशत रहेको छ। १० वर्षको अन्तरालमा जनसंख्या वृद्धि र उक्त समूहका व्यक्तिहरुको संख्यालाई अनुमान गर्न सकिन्छ।

पछिल्लो यूके भेरियन्टले जनसंख्याको २० देखि ५९ वर्ष उमेर समूहलाई बढी प्रभावित पारेको अध्ययनहरुले देखाएका छन्। रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलका अनुसार २१ देखि ४० वर्षसम्मका उमेर समूहका व्यक्तिहरुमा यो भेरियन्ट सबैभन्दा बढी देखिएको हो। हालसम्म यो भेरियन्ट नेपालमा १ सय ५८ जनामा देखिएको डा. पौडेलले बताए।

उनले भने, ‘विगत जस्तै यो वर्ष पनि कोरोनाको अफ्ठेरो अवस्थामा आइपुगेका छौं। हामी सबैको प्रयासलेमात्र यो रोगलाई जित्न सकिन्छ। यो पटक हामीलाई डर ४० वर्षभन्दा तलको उमेर समूहको जनसंख्यामा भार पर्ने त हैन भन्ने छ।’

उनका अनुसार नेपालमा पहिलो चरणको कोरोनाका बेला ६० वर्षभन्दा माथिका उमेरसमूहका व्यक्तिहरुको मृत्युदर बढी थियो। उनले दोश्रो लहरले युवाअवस्थाको जनसंख्यालाई प्रभाव पार्ने तर्फ संकेत गरेका छन्। उनले भने, ‘हाम्रो अस्पतालको शैया र हाम्रो स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने त हैन भन्ने डर पनि छ।’

बच्ने उपाए के त ?

सरुवारोग विषेशज्ञ डा. शेरबहादुर पुनले विद्यालय उमेरका व्यक्तिहरुमा कोरोना देखिएपछि डरलाग्दो अवस्था सृजना भएको बताएका छन्। उनले व्यक्तिगत सावधानी नअपनाएसम्म कोरोनाको जोखिमबाट मुक्त हुन नसकिने बताए।

‘कोरोना समूदायमा छ भन्ने कुरामा कुनै दुईमत छैन।’ डा. पुनले भने, ‘नेपालमा नयाँ प्रजातिको कोरोना प्रवेश गरेको भन्ने कुरामा पनि कुनै आशंका छैन। हामी एकदमै गम्भिर अवस्थामा छौं। व्यक्तिगत रुपमा सचेत नभएको अवस्थामा पछि आएर यसको मूल्य चुकाउनु पर्नसक्छ। त्यसैले स्वास्थ्य मन्त्रालयले जारी गरेका स्वास्थ्य मापदण्डहरुको कडाईका साथ पालना गरौं र गराऔं।’

सरकारले पहिला जस्तो बन्दाबन्दि नगर्ने सोच बनाएको छ। बन्दाबन्दी नगरेरै कोरोनाको प्रभावलाई कम गर्न नागरिकले सही ढंगले मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, भीड हुने ठाँउमा नजाने, भौतिक दुरी कायम गर्ने लगाएतका कुरामा ध्यान दिन सकेको अवस्थामा कोरोनको महामारीबाट बच्न र बचाउन सकिने डा. पुनको भनाइ छ।

दबाबमा सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सूचना जारी गर्दै काठमाडौंसहित १४ जिल्लालाई उच्च जोखिम भएका जिल्लामा राखेको हो।
मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, चितवन, पर्सा, बारा, मोरङ, वागलुङ, दाङ, बाँके, सुर्खेत र कैलालीलाई उच्च जोखिममा राखिएको छ।

यी जिल्लाहरुमा संक्रमणको उच्च जोखिम रहेको भन्दै विद्यालय बन्द गर्नुपर्ने अवस्था भए पनि बन्द नगरिएको मन्त्रालयले बताएको छ। तर, विद्यालयलगायत भीडभाड हुने क्षेत्रमा सहभागी नहुन अपील गरिएको छ। मन्त्रालयका अनुसार बिहीबारमात्र ४ सय ९० जना नयाँ संक्रमित थपिएका छन्।

काठमाडौंलगायतका जिल्लामा बेलायती भेरिअन्टको कोरोना भाइरस फैलिएको भन्दै सरकारले यसअघि पनि कडाइका लागि अनुरोध गरेको थियो। यसअघि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विद्यालय बन्द गर्न सुझाव दिए पनि निजी विद्यालयका सञ्चालकहरुले चेतावनी दिएपछि सरकारले विद्यालय बन्दको निर्णय लिन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *