सन्त भुजेलकाे घर जलेपछि टहरोमा बास

डिसी नेपाल
७ वैशाख २०७८ ७:५०
88
Shares

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का सन्त भुजेलको घर गत चैत ३१ गते आगलागीबाट नष्ट भयो। आगलागीबाट घरमात्र जलेन, घरमा भएका लत्ताकपडा र खाद्यान्न पनि नष्ट भयो।

घर जलेपछि भुजेल परिवारको टहरोमा बास भएको छ। अर्थावस्था नाजुक रहेको यो परिवार अहिले गाँस न बासको अवस्थामा पुगेको छ। जलेकै घर छेउ रहेको बारीमा टहरो बनाएर उहाँको परिवार यतिबेला दैनिकी गुजारिरहेको छ। परिवारमा सात जना सदस्य छन्। सबैजना टहरोमा नै बसिरहेका छन्। उनीहरुलाई हावाहुरी र पानी पर्दा समस्या हुने गरेको छ।

भुजेल परिवारको दयनीय अवस्थाका बारेमा जानकारी पाएपछि जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एवं भुजेल समाज तनहुँका सचिव पृथ्वी भुजेलले सहयोग सङ्कलन अभियान शुरु गरेका छन्। उनको पहलमा सङ्कलित खाद्यान्न तथा लत्ताकपडा सोमबार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।

“खाद्यान्न, लत्ताकपडा, भाडावर्तनलगायत केही सामग्री पीडित परिवारलाई हस्तान्तरण ग¥याैँ, उक्त खाद्यान्नले १५/१६ दिनलाई पुग्छ”, भुजेलले भने। पीडित परिवारलाई तीन बोरा चामल, दाल, तेल, लत्ताकपडा, भाडावर्तन सहयोग गरिएको छ। पीडितका लागि घर निर्माण गर्न जस्तापाता जुटाउने अभियान पनि शुरु भएको भुजेलले जानकारी दिए। “तत्कालका लागि खानाको व्यवस्था त भयो, अब आगलागीबाट जलेको घरलाई पुनःनिर्माण गर्न पाए उनीहरुलाई सहज हुन्थ्यो”, उनले भने।

नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका अध्यक्ष वसुन्धरा घर्ती, जिल्ला खेलकूद विकास समिति तनहुँका सचिव तुल्सीराम पाण्डे, ललित पाण्डे, खुमबहादुर थापा, चुडामणि थापा, कमला भुजेल, विमला भुजेललगायतले पीडित परिवारका लागि सहयोग गरेका छन्।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *