झाडापखालाबाट दिदीबहिनीको निधन

डिसी नेपाल
१३ वैशाख २०७८ ८:२८

तुलसीपुर। झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो।

दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए। उपचारका क्रममा निधन भएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ।

वडाध्यक्षलाई पत्नी शोक

दाङको बबई गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर ओलीलाई पत्नी शोक परेको छ। उनकी श्रीमती युवा ओलीको आइतबार अपराह्न निधन भएको हो। बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलका अनुसार उहाँलाई आइतबार नै कोरोना पुष्टि भएको हो।

श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार उपचारका लागि नेपालगञ्ज लगिएको थियो । उहाँको कोरोनाका कारण मृत्यु भएको अध्यक्ष पौडेलले बताए।

गाउँपालिका लकडाउन

बबई गाउँपालिकामा आज बिहानदेखि लागू हुने गरी लकडाउन गरिएको छ। गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढ्न थालेपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लकडाउन गरिएको गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिए।

गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ। स्थानीय प्रशासन, उद्योगी, व्यापारीसँग समन्वय गरेर गाउँपालिकाले लकडाउन गरेको प्रेस संयोजक राम्जाले जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *