प्लान्ट मर्मत नहुँदा अक्सिजन अभाव हुने चिन्ता

डिसी नेपाल
२३ वैशाख २०७८ २३:२८

बलेवा। कोरोनाका सङ्क्रमित दिनदिनै बढिरहेको बेला धौलागिरी अस्पतालमा रहेको अक्सिजन प्लान्ट मर्मत नहुँदा अक्सिजन अभाव हुने चिन्ता बढेको छ । सामाजिक विकास मन्त्रालयले बजेट निकासा नगर्दा खर्चको जोहो गर्न पालिकातर्फ मुख ताक्नुपरेको कोभिड व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

अस्पतालमा आइसियू थप्नुपर्ने दबाव पनि छ । सङ्कटका समयमा बजेट निकासा नहुने आवश्यकता बढी भैरहेकोले खर्चको जोहोबारे समितिमा समेत कार्यसूचि बनिरहेको हो । “अस्पताल व्यवस्थापनले खर्च अभाव भएको बताएपछि पालिकातर्फ जोहो गर्दैछौं ” उनले भने, “निकासामा किन ढीलाई भयो त्यो खोज्न लगाएको छु ।” बजेट निकासा नभएकोले समितिमार्फत पालिका तहमा हारगुहार गर्ने निर्णय भएको उनले बताए ।

श्वासप्रश्वासको समस्या भएका कोरोना सङ्क्रमित बढ्दै जाँदा अक्सिजन प्लान्ट सर्भिसिङ गर्नुपर्ने मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलले जानकारी दिए । अक्सिजन खोज्दै आएका बिरामीलाई सेवा दिन अस्पतालमा उपकरण समेत थप्नुपर्ने भएको हो । सर्भिसिङ अभावमा जुनसुकै बेला अक्सिजन सकिने भएपछि अस्पताल प्रशासन, व्यवस्थापन समिति र चिकित्कसले बिकल्प खोज्न थालेका हुन् ।

डेढ वर्षअघि जडान भएपनि सर्भिसिङको समय भएकोले अक्सिजन कम हुँदै गएको हो । तत्काल सर्भिसिङ नगरेमा जटिल समस्या भएका कोरोनाका बिरामी आउँदा बचाउन नसकिने अवस्था आउने डा पोखरेलले बताए । “प्लान्ट स्थापना भएपछि अक्सिजन नियमित र पर्याप्त उत्पादन हुन बेला बेला सर्भिसिङ गर्नुपर्छ ” अस्पताल व्यस्थापन समितिका सदस्य शालिकराम शर्माले भने, “यसका लागि ढीला भए समस्या आउन सक्छ ।” एक पटकमा सातदेखि आठ लाख रुपैयाँ खर्च गर्दा कम्तिमा सात महिनासम्म निरन्तर अक्सिजन उत्पादन हुने उनले जानकारी दिए । छिट्टै अक्सिजन सकिने अवस्थामा पुगेको उनले बताए ।

अस्पतालमा छुट्टै कोष नभएपछि सहयोगको भरमा अत्यावश्यक उपकरण ल्याउनु परेको हो । अस्पतालले आइसियू, डायलायसिस र पीसीआर उपकरण पनि सहयोग जुटाएर जडान गरेको थियो । समितिको बैठकमा अक्सिजन चुनौती हुन सक्ने प्रमुख एजेण्डा बनेपछि सबै पालिका प्रमुख र सुरक्षा निकायका प्रमुखले तत्काल जुटाउन पहल गर्ने सुझाव दिएका छन् । अस्पतालको पूर्वाधार निर्माणाधीन भएपनि आवश्यक पर्दा १०० सम्मलाई अक्सिजन दिएर उपचार गर्न सक्ने योजना डा पोखरेलले सुनाएपछि प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिले खर्चको जोहो गर्ने आश्वासन समेत दिएका छन्।

जटिल अवस्था आउन नदिन स्थानीय पालिकाबाट चन्दा उठाएरै भएपनि सर्भिसिङ गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

“सर्भिसिङ गरेपछि सात महिना ढुक्क हुन सकिने देखियो ” कार्कीले भने, “बागलुङका दश पालिकाले एकएक लाख सहयोग गर्दा समस्या समाधान हुन्छ ।” अहिले धौलागिरी अस्पतालमा २५ शैय्या आइशोलेसन छन् । अन्य बिरामीका लागि ५० शैय्या छन् । जटिल समस्या आएमा ओपिडीको परीक्षण रोकेर सामान्य श्यया पनि प्रयोग गर्दा ७५ जनालाई नियमित अक्सिजन प्लान्टबाटै उपचार गर्न सकिन्छ । कोरोनाले श्वासप्रश्वासमा समस्या देखिएकालाई अन्य बिरामीभन्दा हाइ स्पिड अक्सिजन चाहिने चिकित्सकले जनाएका छन् । सिलिण्डरमा भरेर सेवा दिंँदा १०० जनालाई पुग्ने सुपरिटेण्डेन्ट डा पोखरेलले जानकारी दिए । अस्पतालको सी ब्लक बनिसकेपछि भने २०० शैय्या क्षमता बनाएर सबैमा अक्सिजन बितरण गर्ने योजना उनले बताए ।

बागलुङ नगरपालिकाले रात्माटामा रहेको आफ्नो पुरानो भवन सरसफाइ गरेर २५ श्यया क्षमताको आइशोलेसन बनाउन लागेको छ । धौलागिरि बहुमुखी क्याम्पससँग पनि छलफल भएकोले प्रयोगमा ल्याउन सकेमा १०० बढी शैय्या आइशोलेसन सदरमुकाम मै तयार हुने बताइएको छ । चिकित्सकले तत्काल सेवा दिन सक्ने स्थानमा मात्रै आइशोलेसन बनाउने योजनामा समितिले काम गरिरहेको हो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *