कोभिड-१९ को विश्वव्यापी सामाजिक-आर्थिक प्रभाव – Dcnepal

कोभिड-१९ को विश्वव्यापी सामाजिक-आर्थिक प्रभाव

सन् २०१९ को नोभेम्बरमा चीनको वुहान प्रान्तबाट शुरू भएको कोरोना भाइरस डिजिज-२०१९ (कोभिड-१९) ले डेढ वर्ष अघिदेखि विश्वलाई तहसनहस बनाइरहेको छ।

यसभन्दा अघि बुवोनिक प्लेग, एचआइभि एड्स, हैजा, एभियन इन्फ्लुएन्जा, इबोला, मलेरिया, टाइफस, बिफर, क्षयरोग, कुष्ठरोग, दादुरा, पितज्वर, स्पेनिस फ्लू, स्वाइन फ्लू जस्ता महामारीले संसारमा पटक पटक तहल्का मचाइरहेकै हुन्।

यस महामारीले सबै सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन भन्ने मान्यतालाई स्थापित गरेको छ। अत्यन्त चाँडो सङ्क्रमण हुने प्रकृतिको महामारी भएकोले संसारमा एकजनासम्म पनि कोभिडबाट सङ्क्रमित व्यक्ति रहुन्जेलसम्म यसको प्रकोपबाट कोही पनि मुक्त हुन नसक्ने स्थिति सृजना भएको छ। सबैजना सुरक्षित नभएसम्म पुन अर्को लहर आउँदैन भन्न सकिँदैन।

विभिन्न कालखण्डमा महामारीबाट मात्र होइन अन्य युगान्तकारी घटनाबाट पनि यस धरतीमा मानव जीवन प्रताडित भएको इतिहास छ। पहिलो शताब्दीको रोमको बैंकिङ सङ्कट, सातौं शताब्दीको सिक्का सटही सङ्कट, अठारौं शताब्दीको सुर्ती सङ्कट, पहिलो तथा दोस्रो विश्वयुद्ध, सन् १९३०, १९८० र २००८ का आर्थिक मन्दीहरू, सन् १९७० को ऊर्जा सङ्कट, सन् १९७० को बङ्गालको भोकमरी, सन् १९९९ को एसियाली वित्तीय सङ्कट, सन् २००२ को अर्जेन्टीनाको वित्तीय सङ्कट, सन् २००९ देखि एक दशकको ग्रीसको आर्थिक सङ्कट, यस्तै पटक पटक विश्वका विभिन्न भागमा देखा परेका बाढी, पहिरो, भूकम्प, चुनामी, अम्ल वर्षा, आणविक दुर्घटना जस्ता राजनीतिक, आर्थिक तथा प्राकृतिक प्रकोपका घटनाहरूले संसारमा निकै ठूलो प्रभाव छोडेका छन्।

कोभिड-१९ विश्व इतिहासमा हालसम्मको सर्वोपरि नौलो महामारी हो। तर यो नै यस्तो प्रकारको अन्तिम महामारी भने पक्‍कै होइन। संसार रहेसम्म यस्ता नौला अनेकौँ घटनाहरू मानव जातिले भोग्नुपर्छ। स्वास्थ्य सम्बन्धी पूर्वाधारको विकास र वातावरणीय सन्तुलन कायम गर्दै राष्ट्रहरूको द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय आपसी सहयोगले मात्र यो तहका महामारीसँग जुध्न सकिन्छ।

तर यी सबैभन्दा भिन्न प्रकृतिको तथा विश्वका सबै देशहरूलाई एकै समयमा असर गर्दै मानिसलाई घरभित्रको चौघेरामा बस्न बाध्य पार्ने कोभिड-१९ नै विश्वको पहिलो र अद्वितीय महामारी हो। यो कैयौँ शताब्दीमा एकपल्ट घट्ने घटना हो जसलाई हामीले साक्षीको रूपमा भोगिरहेको छौं। यस महामारीले कैयौँ होनहार मानिसहरूलाई शिकार बनाइसकेको छ। बाँच्नेहरूलाई पनि ठूलो पाठ सिकाइरहेको छ।

सन् २०२० मा लगभग वर्षभरि नै कोभिडको असर रह्‍यो भने सन् २०२१ मा विकासशील राष्ट्रहरूमा यसको असर अझ बढेर गएको छ। यो कहिलेसम्म रहन्छ कसैले अनुमान गर्नसक्ने अवस्था छैन।

यस महामारीको प्रकोपबाट सबैभन्दा बढी आर्थिक तथा सामाजिक रूपमा प्रभावित हुनेमा न्यून आय भएका घरपरिवार, सुकुम्वासी, झुपडीका बासिन्दा, गरिब महिला, ज्येष्ठ नागरिक, विपन्न बालबालिका, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी, न्यून रोग प्रतिरोधी क्षमताका व्यक्ति तथा वैदेशिक रोजगारीमा जाने युवाहरू छन्।

संयुक्त राष्ट्र सङ्घ, विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष, अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन, आर्थिक सहयोग तथा विकास कार्यालय तथा अमेरिकी आर्थिक अनुसन्धान ब्यूरो आदिबाट प्रकाशित स्रोतहरूका अनुसार यस अवधिमा कोभिड÷१९ बाट निम्नानुसारका विश्वव्यापी सामाजिक तथा आर्थिक असर देखिएका छन्।

• हालसम्म विश्वमा करिब १६ करोड अर्थात् कूल जनसङ्ख्याको २ प्रतिशतभन्दा बढी मानिसहरू कोभिड-१९ सङ्क्रमणमा परिसकेका छन्।

• कोभिड-१९ बाट हालसम्म करिब ३३ लाख मानिसहरूले मृत्युबरण गरेका छन्। मृत्यु हुनेमा महामारीको पहिलो लहरमा ज्येष्ठ नागरिक, जटिल प्रकृतिका दीर्घ रोगी, अशक्तता भएका व्यक्ति जस्ता न्यून रोग प्रतिरोधी क्षमता भएका व्यक्तिहरूको सङ्ख्या बढी थियो भने दोस्रो लहरमा युवा तथा बालबालिका समेत मृत्युको जोखिममा परेका छन्। को कहिले यसको शिकार हुने हो भन्न नसकिने अवस्था देखिएको छ।

• अन्तर्राष्ट्रिय मुद्राकोषबाट प्रकाशित विश्व आर्थिक परिदृश्य २०२१ का अनुसार सन् २०१९ मा २.८ प्रतिशतले विस्तार भएको विश्वको अर्थतन्त्र सन् २०२० मा कोभिडका कारण ३.३ प्रतिशतले खुम्चन बाध्य भयो।

लकडाउन, आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण विश्वव्यापी उत्पादनमा आएको कमीले गर्दा विश्व अर्थतन्त्रमा सङ्‍कुचन भएको हो। उत्पादनशील क्षेत्रमा जाने लगानी सुरक्षित क्षेत्र खोज्दै घरजग्गा र शेयर बजारतर्फ मोडिएको छ। त्यसैले गर्दा यस्तो अवस्थामा पनि विश्वव्यापी रूपमा नै शेयर सूचकाङ्क उच्च छ।

• अन्तर्राष्ट्रिय श्रमिक सङ्गठनको तथ्याङ्क अनुसार सन् २०२० मा विश्वमा कोभिडका कारण करिब २६ करोड मानिसहरूले आंशिक रूपमा मात्र काम गर्न पाएका थिए भने ११ करोड श्रमिकले गरिरहेको कामबाट हात धुनुपरेको थियो।

यसबाट करिब ३.७ ट्रिलियन अमेरिकी डलर बराबर श्रमिकको आय घट्यो जुन विश्वको सन् २०१९ को कुल गार्हस्थ्य उत्पादनको ४.४ प्रतिशत हो। सहरमा सानोतिनो काम गर्ने तथा ज्याला मजदुरी गर्ने श्रमिकको रोजीरोटी खोसिएको छ। सहरी गरिबहरूको अवस्था ग्रामीण गरिबहरूको भन्दा नाजुक भएको छ भने गाउँमा खेती किसानी गर्ने मानिसहरूलाई भने महामारीले धेरै असर गरेको छैन।

काम खोसिएका सहरी श्रमिकले बसिरहेको थातवास छोडी गाउँ फर्किनु परेको वा नयाँ ठाउँमा बाध्यकारी आप्रवासमा जानुपर्ने अवस्था सृजना भएको छ। काम खोसिएकोले आय नहुँदा घर परिवारमा तनाव सृजना भई घरेलु हिंसा बढेर विश्वमा धेरै सम्बन्ध विच्छेदका घटना समेत भएका छन्।

• आपूर्ति शृङ्खला टुटेकोले समग्र माग तथा आपूर्ति व्यवस्था खलबलिएर अन्तर्राष्ट्रिय व्यापारमा ठूलो असर परेको छ। सन् २०२० मा कोभिडका कारण विश्वव्यापी रूपमा करिब १ लाख ४० हजार कम्पनीहरू अस्थायी रूपमा बन्द भएका थिए भने ती मध्ये ९८ हजार कम्पनीहरू स्थायी रूपमा नै बन्द भएका छन्। धेरै मानिसहरूको स्थापित व्यवसाय धराशायी भएको छ।

• विश्व बैङ्कको अनुमान अनुसार सन् २०२० मा मात्र करिब ९-१२ करोड जनसङ्ख्या कोभिडका कारण गरिबीको रेखामुनि धकेलिएको अनुमान छ। धेरै कठिन गरी गरिबी निवारणका क्षेत्रमा हासिल भएको प्रगतिलाई कोभिडले उल्टाइ दिएको छ।

• विश्व यात्रा तथा पर्यटन परिषदको तथ्याङ्क अनुसार यात्रा प्रतिबन्ध र सीमाहरू बन्द गरिएकाले विश्वको पर्यटन क्षेत्रले सन् २०२० मा ३.८ ट्रिलियन अमेरिकी डलर बराबरको आय गुमाएको छ। पर्यटन क्षेत्र पहिलेकै अवस्थामा फर्कन निकै समय लाग्ने अवस्था देखिएको छ।

• युनेस्कोबाट प्रकाशित तथ्याङ्क अनुसार विश्वमा करिब ५० प्रतिशत विद्यालय कोभिडका कारण आंशिक तथा पूर्ण रूपमा बन्द भएकाले विद्यार्थीको विद्यालय तथा विश्वविद्यालय जाने अधिकार खोसिएको छ।

इन्टरनेटको पहुँच नभएका र अनलाइन कक्षा चलाउन नसक्ने विद्यालयमा पढ्ने विद्यार्थीहरू डिजिटल डिभाइडको कारण शिक्षाको अवसरबाट वञ्चित भएका छन्। बालबालिकाहरूको शिक्षामा गतिरोध पैदा भएकोले विकासशील देशहरूमा विद्यालय छोड्ने, बाल श्रमिकको रूपमा अस्थायी श्रम बजारमा प्रवेश गर्ने तथा वालबिवाहले समेत प्रश्रय पाएको देखिएको छ।

• आर्थिक सहयोग तथा विकास कार्यालयको तथ्याङ्क अनुसार अनलाइन कारोबार करिब २० प्रतिशतले बढेको छ। स्थापित भएका कतिपय व्यवसाय टाट पल्टेका छन् भने अनलाइन व्यवसाय फस्टाएका छन्।

विद्युतीय कारोबारका क्षेत्रमा नयाँ कम्पनीहरू स्थापित भएका छन् भने अमेजन, ईबे, अलिवाबा जस्ता ई-कमर्समा स्थापित कम्पनीको कारोबार धेरै उँभो लागेको छ। नयाँ ग्राहकहरू थपिएका छन्। क्रेडिट कार्ड प्रयोग गर्नेहरूको सङ्ख्या बढेको छ। यसबाट भविष्यमा व्यवसायलाई डिजिटाइजेसन गर्नुपर्ने अनिवार्य आवश्यकता समेत पहिचान भएको छ।

• पुरानो बचत सकिएर स्थिर सम्पत्ति बेचेर समेत सङ्कट टार्नुपर्ने अवस्थाले निम्न वर्गीय परिवारलाई अझ दयनीय अवस्थामा पुर्‍याएको छ। बचत सकिएपछि ऋण लिएर सङ्कट टार्नै पर्ने अवस्थाका कारण ऋणको बोझ बढेको छ।

विकासशील देशहरूमा करिब ११ प्रतिशत सहरी गरिब घरपरिवारले आफ्नो जायजेथा बेच्नु परेको देखिएको छ। यसले हुनेखाने र हुँदाखाने बीच असमानताको खाडल अझ बढेको छ । यसले दीर्घकालीन रूपमा अर्थतन्त्रमा निकै असर गर्ने निश्चित छ।

• अधिकांश गरिब घरपरिवारहरूले आफ्नो सानो घरमा ठाउँको अभावमा सामाजिक दूरी कायम गर्न सम्भव नभएको कारण एक जनालाई सङ्क्रमण भएमा घरपरिवार नै जोखिममा पर्ने अवस्था रहेको छ। परिवारको आम्दानी घटेकोले उपभोग घटेको र खाद्य असुरक्षा बढेर गएकोले संसारको ठूलो जनसङ्ख्या विशेष गरी बालबालिका कुपोषणको शिकार हुन बाध्य भएका छन्।

• स्वास्थ्य पूर्वाधारको कमी, पूर्वतयारीको कमी, कोभिड केन्द्रित तयारीको कमीका कारण कतिपय देशहरूको स्वास्थ्य प्रणाली असफल भई स्वास्थ्य सेवामा अवरोध, खोपको अभाव, अक्सिजनको अभाव, अस्पतालमा भर्ना हुन नपाउने अवस्था आदिका कारण सङ्क्रमितहरूको दयनीयता बढेको छ।

• विकासशील राष्ट्रमा मौलाएको भ्रष्टाचार र मौकामा कमाउने प्रवृत्तिका कारण यस्तो महामारीको अवस्थामा समेत स्वास्थ्थोपचार अति महङ्गो हुन गएको छ। स्वास्थ्य पूर्वाधारको कमीका कारण अस्पतालको पहुँच निकै कठिन हुने अवस्था एकातिर छ भने अर्कातिर गरिब तथा कम आय भएका परिवारले अस्पतालमा बेड खाली भएको अवस्थामा समेत स्वास्थ्य सेवा उपभोग गर्न नसकी कोभिडबाट मृत्युबरण गर्न तयार हुनुपर्ने अवस्था पनि देखिएको छ।

• सार्वजनिक क्षेत्रमा काम गर्ने, स्थायी नोकरी हुने तथा धनीहरूलाई खासै असर नगरेपनि निजी क्षेत्र, स्वरोजगार तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई महामारीले ठूलो आर्थिक असर गरेको छ।

• अधिकांश कार्यालयका काम डिजिटल र अनलाइन प्रणालीबाट गर्ने बाध्यता आएको छ। जुम, लाइभस्टम, वेवएक्स, स्काइप जस्ता अनलाइन प्लेटफर्महरूको प्रयोग बढेको छ। घरभित्र बस्ने र शारीरिक परिश्रमको अभावमा मोटाएर स्वास्थ्य समस्यामात्र हैन मानसिक समस्याबाट समेत गुज्रन बाध्य हुनु परेको छ।

• कोभिड-१९ ले गर्दा लामो समयसम्म भएका लकडाउनका कारण वातावरणीय सूचकाङ्कहरूमा भने केही सकारात्मक प्रभाव परेको देखिएको छ । हावा र पानीको गुणस्तरमा केही सुधार भएको छ भने ग्रीनहाउस ग्याँस उत्सर्जन घटेको छ ।

तर महामारीका समयमा प्रयोग गरिएका चिकित्सा उपकरणहरू, स्यानिटाइजर, पन्जा, घरमा डेलीभरि गर्ने खाना तथा अन्य बस्तुहरूको प्याकिङ्ग गर्ने प्लास्टिकजन्य सामाग्रीका कारण भने वातावरणमा नकारात्मक असर परेको छ।

स्वास्थ्य आपतकालको रूपमा शुरू भएको यो महामारीले विशाल आर्थिक तथा मानवीय सङ्कटको रूप धारण गरेको छ। मानव जीवन बचाउनु नै सबैभन्दा ठूलो प्राथमिकता भएकोले उत्पादनका क्षेत्रमा जाने स्रोत जनस्वास्थ्य सामाग्री खरिद, परीक्षण, रोकथाम र व्यवस्थापनमा लगाउनु परेको छ। यसबाट स्वास्थ्य सामाग्री उत्पादन गर्ने देशहरूको अर्थतन्त्रलाई फाइदा भएको छ भने यस्ता सामग्री आयात गर्ने देशहरूको ठूलो रकम बाहिर गएको छ।

कोरोना खोपको उत्पादन र विकासले केही आशा जगाएको अवस्थामा कोभिड-१९ को पुनः दोस्रो लहर आएको छ। यस अन्तर्गत बेलायती भेरियन्ट, ब्राजिलियन भेरियन्ट, दक्षिण अफ्रिकी भेरियन्ट जस्ता विभिन्न भेरियन्टहरूले विश्वलाई फेरि तहसनहस बनाएको छ।

भाइरसले स्वरूप परिवर्तन गर्दै नयाँ नयाँ भेरियन्ट विकसित भइरहेको यस अवस्थामा ×अनिकालमा बिउँ जोगाउनु, महामारीमा जिउ जोगाउनु” भन्ने हाम्रा पुर्खाहरूको उक्तिलाई मनन गर्दै सबैभन्दा पहिले ज्यान जोगाउनु नै हाम्रो प्राथमिकता परेको छ।

प्राकृतिक नियमहरूलाई भत्काएर मानिसले आफ्नो अनुकूलको वातावरण बनाउन खोजे पनि प्रकृतिमाथि मानिसको विजय असम्भव रहेको कुरा यसले प्रमाणित गरेको छ। मानव, चराचर जीव तथा वनस्पति जगत र वातावरण बीचको पर्यावरणीय सम्बन्धलाई पुनर्परिभाषित गर्नुपर्ने गरी सोच्न बाध्य बनाएको पनि छ।

कोभिड-१९ विश्व इतिहासमा हालसम्मको सर्वोपरि नौलो महामारी हो। तर यो नै यस्तो प्रकारको अन्तिम महामारी भने पक्‍कै होइन। संसार रहेसम्म यस्ता नौला अनेकौँ घटनाहरू मानव जातिले भोग्नुपर्छ। स्वास्थ्य सम्बन्धी पूर्वाधारको विकास र वातावरणीय सन्तुलन कायम गर्दै राष्ट्रहरूको द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय आपसी सहयोगले मात्र यो तहका महामारीसँग जुध्न सकिन्छ।

हाम्रा शास्त्रहरूले मार्गदर्शन गरे जस्तै वसुधैव कुटुम्बकम् अर्थात् पृथ्वीमा भएका सबैलाई आफ्नै परिवार वा आफन्त जस्तो व्यवहार गर्नसके यस्ता महामारीहरूको समग्रमा सामना गर्न सकिन्छ। मानव स्वार्थका लागि प्रकृतिको विनाश गर्दै गएमा यसबाट पैदा हुने असन्तुलनका कारण भविष्यमा नयाँ नयाँ सङ्कटहरू पैदा हुनेछन्।

भविष्यमा आइपर्ने यस्ता महामारी र प्रकोपहरूको व्यवस्थापनका लागि समयमा नै पूर्व तयारी अवस्था रहनु नै उत्तम उपाय हो तर सङ्कटको यो घडीमा भने धनी राष्ट्रले खोप तथा अन्य स्वास्थ्य सामाग्रीको सहयोगद्वारा गरिब तथा विकासशील राष्ट्रहरूलाई सघाउनु आवश्यक छ।

विकासशील राष्ट्रहरूले भने अन्य क्षेत्रहरूमा विनियोजित स्रोत र साधनलाई तत्कालका लागि कोभिड-१९ व्यवस्थापनतर्फ केन्द्रित गर्दै आफ्ना नागरिकहरूको जीवन बचाउने कार्यमा परिचालित गर्नुपर्छ। मित्रराष्ट्र भुटानले जस्तै सबै नागरिकका लागि अनिवार्य खोप दिने व्यवस्था मिलाउनु आवश्यक छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो