दमौलीमा सङ्क्रमितले पाएनन् उपचार

डिसी नेपाल
२७ वैशाख २०७८ २२:४९

दमौली । दैनिक रुपमा कोभिड सङ्क्रमित बढ्न थालेपछि सदरमुकाममा रहेको दमौली अस्पतालले अक्सिजन सहितको आइसोलेशन बनायो । अस्पतालले चार भेन्टिलेटर र सात आइसियू सहित ३० अक्सिजन सिलिन्डर सहितको आइसोलेशन कक्ष बनाएको छ ।

अस्पतालले अक्सिजन सहितको आइसोलेशन बनाएपछि क सङ्क्रमित उपचार पाउनेमा ढुक्क थिए । भानु नगरपालिका–१ का ६४ वर्षीय वृद्धले समयमै उपचार नपाएकै कारणले ज्यान गुमाउनुपरेको छ ।

दुई दिन अगाडी ओम अस्पतालमा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएका ती वृद्ध घर आएका थिए । घरमै रहँदा श्वासप्रश्वासमा समस्या भएपछि परिवारले शनिबार राति दमौली अस्पताल ल्याएको दावी गरेको छ । अस्पताल ल्याएपछि घरमै आराम गर्नु भनेर पठाएको पीडितको भनाइ छ । “हिजै अस्पताल भर्ना गरिदिएको भए आजसम्म बिरामी ठिक भइसक्थे होला,” पीडित परिवारका एक सदस्यले भने, “अस्पतालको लापरवाहीका कारण उहाँको ज्यान गएको छ, यसको जिम्मेवारी कसले लिने हो ?”

दमौली अस्पतालले भने आफूहरुको तर्फबाट कुनै कमजोरी नरहेको बताएको छ । पूर्व जानकारी बिना ल्याइएकाले अस्पताल भर्ना गर्न नसकिएको र पोखरा रिफर गरिएको अस्पतालको भनाइ छ । ती वृद्धको नेपाली सेनाले आइतबार राति नै शव व्यवस्थापन गरिसकेको छ ।

८७ श्ययाको आइसोलेशन

पछिल्लो केही दिनयता तनहुँमा दैनिक रुपमा कोरोना सङ्क्रमित बढ्न थालेपछि स्थानीय तह र अस्पतालले ८७ श्ययाको आइसोलेशन तयार पारेका छन् । सङ्क्रमित थपिएसँगै जिल्लास्थित स्थानीय तह र अस्पतालले आइसोलेशन श्यया तयार पारेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर ८७ आइसोलेशन कक्ष तयार गरिएको छ । प्रत्येक पालिकामा कम्तिमा पाँच श्ययाको आइलोशन कक्ष तयार गरिएको कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।

शुक्लागण्डकी नगरपालिका बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ३० श्ययाको आइसोलेशन कक्ष तयार गरिएको छ । हरेक श्यया पाइपमार्फत् अक्सिजन पुर्‍याइएको छ । आइसोलेशनमा १२ ठूलो सिलिण्डर, २० सानो सिलिण्डर, पाँच वटा अक्सिजन कन्सुन्टेटर उपलब्ध रहेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । अस्पतालमा १४ डाक्टर, ११ नर्स र १४ पारामेडिक स्वास्थ्यकर्मी छन् । अस्पतालको एक एम्बुलेन्स छ ।

सदरमुकामस्थित दमौली अस्पतालमा १६ सामान्य सङ्क्रमित राख्न सकिन्छ । थप सात सघन उपचार कक्ष छन् । तीस अक्सिजन सिलिण्डर रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा सुनिल पौडेलले जानकारी दिए । थप अक्सिजन सिलिण्डर खरिदका लागि रु पाँच लाख बजेट व्यवस्था गरिएको छ । अस्पतालमा चार डाक्टर र चार स्टाफ नर्स छन् ।

अस्पतालले जनरल वार्डलाई समेत कोभिड कक्षमा रुपान्तरण गरेको छ । उक्त ठाउँमा १६ शैय्याको व्यवस्थापन भइसकेको र त्यसलाई ३० शैय्या बनाउने तयारी थालिएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । जनरल वार्डलाई भने इमर्जेन्सी सञ्चालित भवनको तीन वटा कोठामा स्थानान्तरण गरिएको छ ।

बन्दीपुर गाउँपालिकामा १५ श्ययाको आइसोलेशन कक्ष तयार गरिएको छ । आइसोलेशन कक्षमा १३ सिलिण्डर अक्सिजन र एउटा एम्बुलेन्स तयारी गरिएको छ । आँबुखैरेनीमा १२ श्ययाको आइसोलेशन कक्ष तयारी गरिएको छ । आइसोलेशन कक्षमा चार वटा अक्सिजन सिलिन्डर र तीन वटा एम्बुलेन्स रहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए।

भानुमा पाँच शैय्याको आइसोलेशन तयार गरिएको छ । त्यहाँ तीन अक्सिजन सिलिन्डर व्यवस्थापन गरिएको छ । भानुमा पाँच एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । देवघाटमा पाँच श्ययाको आइसोलेशन कक्ष तयारी गरिएको छ । आइसोलेशन कक्षमा नौ सिलिण्डर अक्सिजन र एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

भीमादमा पाँच श्ययाको आइसोलेशन कक्ष तयार गरिएको छ । आइसोलेशन कक्षमा १० अक्सिजन सिलिण्डर व्यवस्था गरिएको छ । भीमादमा दुई एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

म्याग्देमा पाँच श्ययाको आइसोलेशन कक्ष तयार गरिएको छ । आइसोलेशन कक्षमा चार सिलिन्डर व्यवस्थापन गरिएको छ । गाउँपालिकामा तीन वटा एम्बुलेन्स रहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उक्त एम्बुलेन्सले सङ्क्रमितलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।

ऋषिङमा पाँच श्ययाको आइसोलेशन तयार गरिएको छ । आइसोलेशन कक्षमा तीन सिलिन्डर व्यवस्थापन गरिएको छ । गाउँपालिकामा एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । घिरिङमा पाँच श्ययाका आइसोलेशन कक्ष तयार गरिएको छ । यहाँ एउटा सिलिन्डर अक्सिजन मात्रै छ । एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको र स्वास्थ्यकर्मीको अभाव रहेको बताइएको छ ।

शुक्लागण्डकी नगरपालिकाले भने आइसोलेशन कक्ष तयार पारेको छैन । सात अक्सिजन सिलिन्डर व्यवस्थापन गरिएको छ । शुक्लागण्डकीमा चार एम्बुलेन्स छ । व्यास नगरपालिकाले भने दमौली अस्पतालकै आइसोलेशन कक्ष प्रयोग गर्ने तयारी गरेको छ । व्यास नगरपािलकामा सात एम्बुलेन्स छन् ।

अस्पताल र स्वास्थ्य शाखा प्रमुखसँग बैठक

जिल्ला प्रशासन कार्यालयले आज जिल्लास्थित अस्पतालका प्रमुख र विभिन्न स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखसँग छलफल गरेको छ । कोरोना सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि कार्यालयले विभिन्न अस्पतालका प्रमुख र स्वास्थ्य शाखा प्रमुखसँग छलफल गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले सङ्क्रमितलाई थप उपचारका लागि अस्पतालसम्म लैजान पर्दा सम्बन्धित अस्पतालका प्रमुखसँग स्वास्थ्य शाखा प्रमुखले समन्वय गर्ने निर्णय गरेको छ ।

जिल्ला अस्पतालमा उपचार गराउने सम्बन्धमा अस्पतालमा उपलब्ध सेवा र शैय्यालाई मध्यनजर गरी पठाउने एवं सबै स्थानीय तहमा रहने स्वास्थ्य संस्थाका आइसोलेशनमा बिरामीको अवस्था र दिनुपर्ने सेवाको आधारमा सङ्क्रमितको उपचारको प्रबन्ध गर्ने निर्णय समेत भएको छ । साथै सङ्क्रमितलाई उपचारका लागि पोखरा र अन्य अस्पतालमा पठाउनुपर्दा स्वास्थ्य कार्यालयका प्रमुखसँग समन्वय गर्ने निर्णय समेत भएको प्रशासनले जनाएको छ ।

बैठकले स्थानीय तहमा स्वास्थ्य शाखा प्रमुख रहने गरी गठन भएको अनुगमन समितिले होम आइसोलेशन र क्वारेन्टिनको अनुगमन गर्ने, अनुगमन गर्दा होम आइसोलेशनमा रहेका सङ्क्रमित र क्वारेन्टिनमा रहेका व्यक्तिहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड गरेको नपाइएमा सम्झाउने बुझाउने र सो गर्दा समेत नमानेमा कानून अनुसार कारवाही गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *