गुरुङ गण्डकीको मुख्यमन्त्रीमा पुनःनियुक्त
काठमाडौं। पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि नियुक्त भएका छन्। गत आइतबार राजीनामा दिएका उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। गुरुङले बुधबारै पद तथा गाेपनीयताकाे सपथसमेत लिएका छन्।
प्रदेशसभामा विपक्षीहरुले राखेको अविश्वास प्रस्तावमाथि मतदान हुनुभन्दा अघिल्लो दिन गुरुङले आइतबार राजीनामा दिएका थिए। उनले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले गठबन्धन सरकारका लागि दावी पेश गर्न बुधबार अपरान्ह ४ बजेको समय दिएकी थिइन्।
विपक्षी गठबन्धनले काँग्रेस नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार बनाउने दावी गरे पनि जनमोर्चाले साथ नदिँदा बुहमत पुगेको थिएन। विपक्षीले दावी गरेअनुसार बहुमत नपुगेपछि सबैभन्दा ठूलो दलको नेताको हैसियतमा गुरुङ फेरि सरकारमा फर्किएका हुन्। उनले अब ३० दिन भित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। विश्वासको मत लिन नसके पनि स्वतः पदमुक्त हुनेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment