सूचनामा अपाङ्गताको पहुँच ७३ प्रतिशत मात्र

डिसी नेपाल
३१ वैशाख २०७८ २३:१९

पोखरा । अपाङ्गता भएका व्यक्तिमा पहुँचयुक्त ढाँचामा सूचना पाउने ७२.९९ प्रतिशत र नपाउने २७.०१ स्थिति देखिएको छ । कोभिड –१९ को महामारीका समयमा अपाङ्गता भएकाको अवस्थाको पहिचान र सूचना, सञ्चार तथा सेवा सुविधाको पहुँचको अवस्थाका बारेमा गरिएको द्रुत लेखाजोखा प्रतिवेदनमा विशेष गरी अटिज्म, मानसिक तथा मनोसामाजिक अपाङ्गता र बौद्धिक अपाङ्गता तथा पूर्ण अशक्त भई जटिल समस्याका अपाङ्गताहरु सूचनाको पहुँचबाट वञ्चित भएको देखाइएको छ ।

स्वाबलम्बन जीवनपद्धति केन्द्र–पोखराको आयोजनामा आज पोखरामा भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको कार्यक्रममा कोभिड –१९ को महामारीमा अपाङ्गताको अवस्था पहिचानसँगै सूचना र सञ्चारको पहुँचमाथि केन्द्रित रहेर सर्वेक्षण गरिएको केन्द्रका महासचिव अञ्जना केसीले जानकारी दिइन् ।

कार्यक्रम संयोजक सन्तोष गुरुङले उक्त प्रतिवेदन प्रस्तुत गरेका थिए । सर्वेक्षणमा प्राथमिक उत्तरदाताका रूपमा कास्की जिल्लाका चार गाउँपालिका र एक महानगरपालिकामा बसोबास गर्ने अपाङ्गतालाई लिइएको थियो । पाँच स्थानीय तहबाट १०४ महिला र ६९ पुरुषको अन्तरर्वार्ता लिई जानकारी संकलन गरिएको थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले १० प्रकारका अपाङ्गता भएकालाई एउटै विधि र पद्धतिले काम नगर्ने भएकाले सबैको अवस्था र प्राथमिकतालाई ध्यान दिएर पहुँचयुक्त सेवामा जोड दिनुपर्ने बताए। राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले नीतिगत रुपमै अपाङ्गगताको विषयलाई समेटेर व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए ।
केन्द्रका अध्यक्ष हेम गुरुङले जारी निषेधाज्ञाका कारणले अपाङ्गता भएका व्यक्ति अत्यावश्यक सेवाबाट वञ्चित हुनुपरेको यथार्थ प्रस्तुत गरे । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *