वृद्धभत्ता वृद्धि : ‘छोराछोरीले हेर्दैनन्, सरकारले त हे-यो नि’

रिता बस्नेत
१६ जेठ २०७८ ६:५६

काठमाडौं। नेपालमा २६ वर्ष अघिदेखि ज्येष्ठ नागरिकलाई दिइँदै आएको वृद्धभत्ता (ज्येष्ठ नागरिकको मासिक भत्ता) को दर क्रमशः बढ्दै गएको छ। २०५१/५२ मा एक सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता यस वर्षको आर्थिक वर्षमा पुनःबढेको छ।

शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृद्धभत्ता एक हजार बढाएका हुन्। उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । साथै, सामाजिक सुरक्षाका लागि एक खर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

अबदेखि ज्येष्ठ नागरिकले वृद्धभत्तावापत मासिक चार हजार रुपैयाँ पाउने छन्। जुन, आगमी साउन १ गतेदेखि कार्यान्वयनमा आउने छ। सोही बढेको वृद्धभत्ता सम्बन्धमा डिसी नेपालले केही वृद्धवृद्धासँग गरेको कुराकानीलाई समेटेको छ ।

बढेको वृद्धभत्तासम्बन्धमा के भन्छन् त वृद्धवृद्धा?

काठमाडौं, पेप्सिकोलाका ८३ वर्षीय चन्द्रदिप बरालले सरकारले वृद्धवृद्धालाई मान सम्मानस्वरुप वृद्धभत्ता बढाएर राम्रो गरेको बताए। उनले भने, ‘सरकारले बुढाबढीप्रति जसरी सोचिराखेको छ, मान–सम्मान गरिराखेको छ, योे धेरै राम्रो हो ।’

मोरङका ७४ वर्षीय नेत्रबहादुर बस्नेतले सरकारले वृद्धभत्ता बढाएर राम्रो गरेको बताए। पछिल्लो समयमा छोराछोरीले बुवाआमालाई हेरचाह नगरिराखेको अवस्थामा सरकारले हेरेको भन्दै उनले भने, ‘कतिपयका छोराछोरीले आमा बुबालाई हेर्दैनन् । सरकारले त हेर्यो नि, राम्रै गर्यो । अब सरकारले दिएको भत्ताले बुढाबुढीलाई पाल्ने भयो। सरकारलाई धेरै धेरै धन्यवाद छ।’

कतिपयका छोराछोरीले आमा बुबालाई हेर्दैनन् । सरकारले त हेर्यो नि, राम्रै गर्यो । अब सरकारले दिएको भत्ताले बुढाबुढीलाई पाल्ने भयो। सरकारलाई धेरै धेरै धन्यवाद छ।

मोरङका ७७ वर्षीय सनकसिंह कार्कीले पनि सरकारले वृद्धभत्ता बढाएकोले धेरै खुशी लागेको बताए । अब बुढाबुढी वाध्यतामा वृद्धाआश्रम बस्नु नपर्ने बताउँदै उनले भने, ‘बुढेसकालमा चिया, बिस्कुल खान पुग्छ। कतिपयले बुढाबुढीलाई वृद्धाआश्रममा राख्छन्, त्यहाँ पिरले बुढाबुढी रुन्छन्। वृद्धभत्ता बढेकाले अब घरमै बसिबसि खान पुग्छ र वृद्धाआश्रममा जानु पर्ने वाध्यता पनि पर्दैन।’

२०७० सालदेखि वृद्धभत्ता लिन थालेको बताउने मोरङकी ७८ वर्षीय लक्ष्मी गौतमले वृद्धभत्ता बढाएकोमा सरकारलाई धेरै धेरै धन्यवाद भनिन्। विशेष त गरिब वृद्धवृद्धालाई धेरै सहुलियत भएको बताउँदै उनले भनिन्, ‘हामी वृद्धहरुलाई धेरै नै सहयोग भयो। हुनेले त जसरी पनि खाइहाल्छन् तर नहुनेहरुलाई यो भत्ताले चार महिना खान पुग्छ। नहुनेलाई यो वृद्धभत्ता लाख रुपैयाँ दिए जस्तै हुन्छ। र, कतिपय वृद्धभत्ताले गर्दा वृद्धाआश्रममा गएर बस्नु पनि परेन।’

पुरानो बानेश्वरकी ७५ वर्षीया बिमला लोहनीले सुरुमा पाँच सय रुपैयाँ वृद्धभत्ता लिएको र अहिले बढ्दै गएर चार हजार पुगेकोमा खुसी लागेको बताइन्। उनले भनिन्, ‘पहिला सुरुमा ५ सयबाट एक हजार बनायो, अनि दुई हजार र अहिले तीन हजार छ। बढाउँदै छन्, अब हेरौं कतिकति बढ्दै जान्छ। अब त एक वर्षमा झिक्यो भने ५० हजार आइहाल्छ। अब वृद्धभत्ताले पाल्ने भयो, आम्दानी त ड्याम्मै भइहाल्यो नि।’

सिन्धुलीका ७८ वर्षीय भिमप्रसाद आचार्यले सरकारले वृद्धभत्ता बढाएर चार हजार बनाएकोमा धेरै खुसी लागेको बताए। उनले भने, ‘अब सरकारले पाल्ने भयो । सरकारलाई धेरै धेरै धन्यवाद छ।’

भर्खरैदेखि वृद्धभत्ता लिन थालेको बताउने काभ्रेकी ७० वर्षीया सीतादेवी त्रिपाठीले सरकारले वृद्धभत्ता चार हजार पुर्याएकोमा खुशी लागेको भन्दै सरकारलाई धेरै धेरै धन्यवाद भनिन्।

भत्ता बढेर पाँच हजार पुग्छ भनेर ढुक्क भएको बताउँदै उनले भनिन्, ‘सरकारले पाँच हजार दिने भनेको थियो, दिएन। अब विस्तारै दिने होला। पाँच हजार दिएको भए सबै आमाबुबाहरु खुशी हुन्थे। मभन्दा दुःख पाएका, घरबाट निकालिएका कयौं होलान्। विचाराहरुले खान पाउँथे। छोराहरुले पाल्नु पर्दैन थियो, सरकारले नै पाल्थ्यो।’

तत्कालीन एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले २०५१/५२ को बजेटमा सुरु गर्दा मासिक वृद्धभत्ता सय रुपैयाँ थियो। २०६० सालमा अधिकारीले वृद्धभत्ता वृद्धि गरि मासिक १७५ रुपैयाँ पुर्याए।

२०६५ सालमा बाबुराम भट्टराईले मासिक ५ सय रुपैयाँ पुर्याएका थिए। र, २०७१ सालमा कांग्रेसका अर्थमन्त्री डा.रामशरण महतले एक हजार पुर्याएका थिए।

त्यसैगरी, २०७२ सालमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक हजार रुपैयाँ वृद्धि गरि मासिक दुई हजार पुर्याए। उक्त रकमलाई २०७६ सालमा डा युवराज खतिवडाले मासिक तीन हजार पुर्याएका थिए। अहिले अर्थमन्त्री पौडेलले बढाएर वृद्धभत्ता चार हजार बनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *