गण्डकी प्रदेशको बजेट अधिवेशन शुरु

डिसी नेपाल
१६ जेठ २०७८ २२:२४

गण्डकी । गण्डकी प्रदेश सभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) आजदेखि शुरु भएको छ । अधिवेशनअन्तर्गत आजको पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका तर्फबाट सदस्यले समसामयिक राजनीति, केन्द्र सरकारले घोषणा गरेको बजेटलगायतमा आआफ्ना धारणा राखे।

जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तिका लागि भएका सबै किसिमका आन्दोलनका जगमा प्राप्त उपलब्धिलाई जोगाउनुपर्ने आवश्यकतामा जोड दिए । राष्ट्रिय जनमोर्चाका पियारी थापाले राजनीतिक विकृतिको महासंकटको भुमरीमा देश परेको बताइन् ।

नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमानले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै संकट बढ्दै गएका अवस्थामा प्राप्त उपलब्धिको रक्षाका लागि आफूहरू एउटा कित्तामा उभिएको बताए । नेपाली काग्रेसका कृष्णचन्द्र नेपालीले दलहरू संवैधानिक र राजनीतिक दुवै मोर्चामा असंवैधानिक कदमका विरुद्ध लड्ने बताए ।

भौतिक पूर्वाधार तथा शहरी विकास तथा यातायात व्यवस्थामन्त्री रामशरण बस्नेतले राजनीतिक स्थिरताका लागि आफूहरू प्रतिबद्ध रहेको बताए । प्रदेशसभाको अर्को बैठक यही जेठ १७ गते अपराह्न १ बजे बस्नेछ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *