कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न चिया मजदूरको माग

रासस
२३ जेठ २०७८ १९:४६

झापा । चिया मजदूरहरुले कोरोना महामारीको बेला जोखिम मोलेर काम गरिरहेको हुँदा तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आज सम्वाद समूहले आयोजना गरेको भर्चुअल छलफल कार्यक्रममा उनीहरुले चिया बगान र उद्योगमा न्यूनतम् स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुन नसकेको भन्दै खोपको माग गरेका हुन् ।

चिया मजदुरहरुको समस्या समाधानमा सरोकारवालाहरु गम्भीर बन्न नसकेको नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङ, अखिल नेपाल चिया मजदूर सङ्घकी अध्यक्ष सीता सापकोटा, चिया श्रमिक सङ्गठनका अध्यक्ष कर्ण खातीले बताएका छन् । उनीहरुले कोरोनाका कारण अहिले मेचीनगरको टोकला, मित्तल र गुप्ता चिया बगानका एक हजारभन्दा बढी मजदूर कामविहीन भएको बताएका छन् । चिया मजदूरका समस्या तत्काल अल्पकालीन र दीर्घकालीन सम्बोधन नगरे सङ्घर्षमा उत्रने उनीहरुले सरकारलाई चेतावनी समेत दिएका छन् ।

कोरोना सङ्क्रमित मजदूरको निःशुल्क उपचार तथा सङ्क्रमित भई मृत्यु भएका मजदूर परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि आग्रह गरिएको छ । मजदूर नेताहरुले योगदानमा आधारित सामाजिक सुरक्षामा सबै चिया श्रमिकलाई सूचीकृत गरिए मजदूरका अधिकांश समस्या समाधान हुने बताए । श्रम ऐन २०७४ कार्यान्वयनको समेत समस्या देखिएको उनीहरुको भनाइ छ ।

चिया बगान तथा उद्योगको तत्काल अनुगमनका लागि उनीहरुले राजनीतिक दल तथा जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् । छलफलमा अखिल नेपाल टे«ड युनियन महासङ्घ प्रदेश नं। १ का अध्यक्ष भूपाल सापकोटा, नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट) का प्रदेश नं. १ उपाध्यक्ष सन्त राई, नेपाल टे«ड युनियन कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, टे«ड युनियन महासङ्घ नेपाल (टुकोन) का प्रदेश नं। १ अध्यक्ष हर्क थुङ्गिमले सरकारले मजदूरको हितमा काम गर्न नसकेको भन्दै तत्काल आफ्ना समस्या सम्बोधनका लागि आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *