कोभिड–१९ को असर : केबुलकारको काम प्रभावित बन्दै

डिसी नेपाल
२९ जेठ २०७८ १३:३०
708
Shares

तनहुँ । बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण कार्य प्रभावित भएको छ। कोरोनाको दोस्रो भेरियन्टसहितको कोरोनाका कारण विदेशबाट सामान ल्याउन र इन्जिनीयर आउन नसक्दा निर्माण कार्य प्रभावित भएको हो।

आगामी दशैँभित्रमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनासहित निर्माण कार्य थालिएपनि उक्त अवधिमा संञ्चालनमा ल्याउन कठिनाइ देखिएको छ। भारतबाट अधिकांश सामान आइसके पनि अष्ट्रियाबाट इन्जिनीयर, रोपवे र इन्जिनहरु ल्याउन नसकिएकाले निर्माण कार्यमा ढिलाइ हुने देखिएको बन्दीपुर केबुलकार एण्ड टुरिज्म लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। दैनिक करीब तीन सय जना कामदारले काम गर्दै आएपनि बन्दाबन्दीका कारण अहिले सय जनाले काम गरेको उनले बताए।

कामले गति लिइरहेको बेला गतवर्ष कोभिड महामारीका कारण केही समय काम प्रभावित भएकामा यसवर्षको कोरोनाले पनि असर परेको अध्यक्ष शर्माले बताए। परियोजनाको निर्माणको करीब ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ भने टावर निर्माण गर्ने मेकानिकल इन्जिनीयर नहुँदा काम प्रभावित बनेको छ।

परियोजनाको काम सम्पन्न गर्न कम्तिमा छ महिना लाग्न सक्ने अनुमान गरिएकाले दशैमा संञ्चालनार्थ कठिनाइ देखिएको कार्यकारी संञ्चालक कृष्णराज अधिकारीले बताए। बन्दीपुर गाउँपालिका–४ को ठूल्ढुङ्गामा तल्लो स्टेशनको लागि तीन/चार महिना लाग्ने भएपनि र सोही वडाको बरालथोकमा माथिल्लो स्टेशनको निर्माण कार्य बल्ल शुरु गरिएको उनले जानकारी दिए।

परियोजनामा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एण्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीयबासीको लगानी १४ प्रतिशत रहेको छ। करीब ७०० स्थानीयलाई शेयर प्रदान गरिएको छ। उनीहरुको करीब १५/१६ करोड लगानी रहेको अध्यक्ष शर्माले जानकारी दिए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *