एनआरएनए जर्मनीः २५ जुलाइमा अधिवेशन, ५ हप्तामा जम्मा १ सय ७५ सदस्य !

डिसी नेपाल
२ असार २०७८ ३:५९

जर्मनी । गैर आवासीय नेपाली संघ जर्मनीले सातौं अधिवेशन २५ जुलाईमा गर्ने निर्णय गरेको छ। अधिवेशन आह्वानसँगै गत मे ६ बाट सदस्यता नवीकरण र नयाँ सदस्यता आवेदनको लागि खुल्ला गरेको एनआरएन जर्मनीले यो ५ हप्ताको अवधिमा जम्मा ३ सय ४० जनाको मात्र सदस्यता आवेदन प्राप्त भएको जनाएको छ।

सदस्यता आवेदन खुलेपछि अहिलेसम्म ३ सय ३५ जना सदस्य अनलाइन प्रणालीमा दर्ता भैसकेको त्यसमध्ये १ सय ७५ जना प्रमाणिकरण ( १५ जुन १८ः०० बजे, जर्मनी ) पूरा भएको महासचिव लोकमणि ढकालले बताए।

बाँकीको कागजात अपुग र प्रक्रिया पूरा नभएकाले प्रमाणीकरण नभएको तर सम्वन्धित स्थानीय समन्वय समिति एलसीसीहरु र सिस्टम मार्फत इमेल तथा फोन मार्फत ती आवेदकहरु समक्ष पुगेर छुटफुट कागजात पुरा गर्न आग्रह गर्ने काम जारी रहेको उनले बताए ।

जर्मनीमा  साढे १२ हजार गैर आवासीय नेपाली छन् भने गत अधिवेशनमा २ हजार भन्दा बढी सदस्य रहेका थिए। गत अधिवेशनबाट २ जना आइसीसी सदस्यमा गएमा थिए। प्रति हजार सदस्य बराबर एक आएसीसी सदस्य पाइन्छ।

यद्यपि सो बेला कागजमा उम्मेदवारले आफ्ना क्षेत्रका नेपालीहरुको नाम चढाएर, आफैं सदस्यता शुल्क तिरिदिएर २ हजार बढी सदस्य बनाउँदै २ जना आइसीसीमा गएका हुन्।

सो विषयमा जर्मनीमा अझैपनि विवाद कायमै छ। तर यसपाली डिजिटल एमआइएस प्रणालीबाट सदस्यता बन्नुपर्ने हुँदा संख्यामा कमी आएको छ भने एनआरएनए राजनीतिप्रति धेरै नयाँ पुस्ता सकारात्मक नदेखिनाले पनि सदस्यता बढाउन कठिन भइरहेको बुझ्न सकिन्छ।

सदस्यताको आवेदन दिन संघको केन्द्रले प्रयोगमा ल्याएको अनलाइन प्रणाली मेम्बरसीप इन्फरमेशन सिष्टम (एमआइएस) प्रयोग गर्नुपर्ने हुन्छ। www.members.nrna.org  वा एनड्रोइड, आइफोन जस्ता उपकरणमा स्मार्ट एनआरएनए Smart NRNA नामक एप्स डाउन लोड गरी संघको सदस्य बन्न सकिने ढकालले जानकारी दिए। पञ्जीकृत सदस्यताको लागि २५ जुनसम्म आवेदन दिन सकिनेछ । सदस्यको अन्तिम नामावली ५ जुलाईसम्म प्रकाशन गरिनेछ।

जर्मनीमा सातवटा एलसीसीहरु छन, ती मध्ये एउटाको अधिवेशन सम्पन्न भैसकेको छ भने बाँकी एलसीसीहरुको पनि धमाधम अधिवेशन मिति सार्वजनिक भएका छन् । एलसीसीहरुलाई जुलाई ११ सम्मको समयसीमा दिदैं अधिवेशन सम्पन्न गरिसक्न एनसीसीले निर्देशन दिएको छ।

कोरोना महामारीको तेश्रो चरण पार गरेको जर्मनीमा अधिंकाश प्रान्तीय सरकारले खुल्ला आकाशमुनि ५ सय जनासम्म भेट्न पाइने नियम बनाएको छ। जुन अन्त्यसम्ममा यदि नियम परिवर्तन भएर ठुलो संख्यामा भेटघाट गर्न मिल्ने परिस्थिति भएमा प्रत्यक्ष सहभागी भएर नै अधिवेशन गरिने कार्यसमितिले निर्णय गरेको उनले बताए । नत्र अनलाइन बैठकमार्फत अधिवेशन र नयाँ नेतृत्व चयन गर्ने परिस्थिति रहने ढकालको भनाइ छ।

एनआरएन जर्मनीको नयाँ नेतृत्वका लागि अहिलेसम्म चार जनाको नाम चर्चामा छ। बर्तमान अध्यक्ष हरि न्यौपाने, उपाध्यक्षद्धय मिलन पन्त र निनम्मा राई त्यसैगरी वर्तमान आइसीसी सदस्य टंक लम्सालको नाम अध्यक्षका लागि चर्चामा आएका नाम हुन् । यद्यपि आफ्नो नाममा सहमति जुटेको खण्डमा मात्र पुनः अध्यक्षतामा दोहोरिने अध्यक्ष न्यौपानेको चाहना छ।

त्यसैगरी पूर्व महासचिव समेत रहेका आइसीसी सदस्य लम्साल पनि न्यौपानेझैं आफ्नो नाममा सहमति भए अध्यक्षमा आउने नत्र राजनीतिक पार्टीहरुको खिचातानीमा रहेको एनआरएनए चुनावमा नहोमिने मनशायमा छन्।

५८ लाख सहयोग रकम जुट्यो

कोरोना महामारी विरुद्धको लडाईमा एनआरएनए जर्मनीको पहलमा पहिलो चरणमा करिब १२ लाख र दोश्रो चरणमा ४६ लाख रुपैंयाँ सहयोग उठेको छ।  जर्मनीमा रहेका नेपाली संघसंस्था र नेपालीहरुले गरेको सो सहयोगबाट पहिलो चरणमा जर्मनीका कम आय भएका नेपाली समुदायका व्यक्तिहरुलाई खाद्यान्न सहयोगका लागि नगर कुपन प्रदान गरिएको थियो।

दोश्रो चरणमा उठेको रकमले ३० ओटा अक्सिजन मेसिन नेपालमा पठाइएको अध्यक्ष हरि न्यौपानेले जानकारी दिए । बाँकी रहेको र अब उठ्ने पैसाले नेपालमा अक्सिजन प्लाण्ट निर्माणमा सहयोग गर्ने अध्यक्ष न्यौपानेको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *