प्राविधिक शिक्षालयका विद्यार्थी अब कक्षाकोठामा

डिसी नेपाल
१५ असार २०७८ १०:५२

जाजरकाेट । भवन अभावका कारण खुला चौरमा पढाइ भइरहेको चर्चा बटुलेको भेरी नगरपालिका–५ काफलचौरस्थित बहुप्राविधिक शिक्षालयमा भवन निर्माण गरिएको छ। भेरी नगरपालिकाले जाजरकोट बहुप्राविधक शिक्षालयको अस्थायी पूर्वाधार तथा खानेपानी योजना निर्माण गरेको छ।

समाचार छापिएलगत्तै सरोकारवाला निकायले पहलकदमी लिँदा अहिले भवन, खानेपानी र शौचालय निर्माण गरिएको छ। रु २५ लाख ३५ हजार लागतमा नगरपालिकाले जाजरकोट बहुप्राविधिक शिक्षालयको ट्रस भवन निर्माण गरेको हो। त्यस्तै खानेपानी तथा सिँचाइ ऊर्जा विकास कार्यालय र नगरपालिकाको रु २० लाख २९ हजार ९५९ लागतमा खानेपानी योजना निर्माण गरेको छ।

प्राविधिक शिक्षालयको तीनकोठे ट्रस भवन निर्माणपछि विद्यार्थीले खुलाचौरमा पढ्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन्। तीन वर्षअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृति पाई जाजरकोट बहुप्राविधिक शिक्षालयले भवन तथा पूर्वाधारबिना नै गत पुसदेखि पठनपाठन सञ्चालन गर्दै आएको आएको थियो। भवनबिना नै सञ्चालन गरिएको प्राविधिक शिक्षालयका विद्यार्थी खुलाचौरमा कार्पेट बिछ्याएर पढिरहेका थिए भने शिक्षकले बाँसको पोलमा सेतोपाटी झुण्ड्याएर पढाइरहेका थिए।

नगरपालिकाले शिक्षालयको तीनकोठे ट्रस भवन निर्माण गरिदिएपछि वर्षा हुँदा र चर्को घाम लाग्दा शिक्षालयको पढाइ बन्द गर्नुपर्ने अवस्थाको अन्त्य भएको नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए। बाइस रोपनी जग्गाबाहेक अरु कुनै पनि भौतिक पूर्वाधारबिना नै सञ्चालन गरिएको प्राविधिक शिक्षालयमा पहिलो वर्ष वन विज्ञानमा ३७, सिभिल इञ्जीनियरिङमा ४८ र पशु विज्ञानतर्फ २९ विद्यार्थीले अध्ययन गरिरहेको शिक्षालय प्रमुख दानबहादुर ठकुरीले बताए।

भवन र फर्निचर अभावमा प्राविधिक शिक्षालयले ल्याबको प्रयोग गर्न सकिरहेको थिएन। शौचालय नहुँदा दिसापिसाबका लागि जङ्गल धाउनुपर्ने, खानेपानी अभावमा एक घण्टाको पैदलयात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको नगरप्रमुख घर्तीले बताए।

काफलचौरमा रहेको शिक्षालय र विजय माध्यमिक विद्यालयमा दुईवटा संयुक्त धारा सञ्चालन हुने गरी नगरपालिकाले खानेपानी योजना सम्पन्न गरेपछि घण्टौँ समय लगाएर गाग्रीमा बोकेको पानी पिउनुपर्ने बाध्यता हटेको छ। प्राविधिक शिक्षालयमा पाँच र माविमा पाँचवटा धारा एकसाथ चल्ने गरी दुईवटा संयुक्त धारा निर्माण भएको इञ्जीनियर नवराज शर्माले जानकारी दिए। वडा नं ६ को भेरेमा रहेको खानेपानी मुहानबाट काफलचौरसम्म आठ किलोमिटर लामो पाइपमार्फत पानी आपूर्ति गरिएको छ।

नेपाल शहरी शासकीय क्षमता एवं पूर्वाधार परियोजनाको रु २० लाख २२ हजार ९५९ लागतमा मुहानमा इन्टेक, एक ट्याङ्की र दुईवटा संयुक्त धारा निर्माण गर्नुका साथै आठ किलोमिटर पाइप लाइन बिच्छ्याएर उक्त पानी ल्याइएको हो। खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले ३२ र २५ एमएमको आठ हजार मिटर पाइप सहयोग गरेको इञ्जीनियर शर्माको भनाइ छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *