कैलाली बालक हत्या प्रकरणः आफन्तबाटै हत्या भएको प्रहरीको खुलासा, दुई किशोरी पक्राउ

डिसी नेपाल
२४ असार २०७८ १६:३७

काठमाडौं। कैलालीमा बुधबार मृत अवस्थामा फेला परेका ३ वर्षीय बालक विवेक विष्टको हत्या भएको खुलासा भएको छ। कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ मनुवा रोडका दीलिप विष्टका ३ वर्षीय छोरा विवेकको हत्या भएको हो।

सुदूरपश्चिम प्रहरी कार्यालयले बालक हत्यामा संलग्न रहेको आरोपमा एक किशोरी तथा ती किशोरीलाई सहयोग गर्ने अर्की किशोलीलाई पक्राउ गरिएको जनाएको छ। बालक गत मंगलबारदेखि बेपत्ता थिए। प्रहरीले बुधबार अपरान्ह टीकापुर नगरपालिका वडा नम्बर ४ मा जमरा कुलोको किनारामा बालकको शव फेला पारेको थियो।

शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दा ती बालककी दिदी पर्ने १५ वर्षीय किशोरीले पारिवारिक रिसिइवीका कारण हत्या गरेको खुलेको छ। प्रहरीका अनुसार ती किशोरीले आफूले बालकलाई जमरा कुलोमा धकेलेर हत्या गरेको स्वीकार गरेकी छन्।

बालकलाई गत मंगलबार ती किशोरीले जामुन खान जाउँ भनी फकाएर घरबाट टाढा लगेकी थिइन्। त्यहिँ बालकलाई जमरा कुलोमा धकेलेर हत्या गरेपछि बालकको हातको चाँदीको बाला लिएर साथीलाई लुकाउन दिएको प्रहरीले जनाएको छ। ती किशोरीले बाला बजारमा गएर बेच्ने योजनासमेत बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

ती किशोरीले शुरुमा भाइलाई बाटोमा छाडेर आफू साथीकोमा गएको र त्यहिबाट भाइ हराएको भन्दै बालकका बाबुलाई जानकारी दिएकी थिइन्। त्यसपछि बालक बेपत्ता भएको प्रहरीलाई रिपोर्ट गरिएको थियो।

प्रहरी अनुसन्धानमा ती किशोरीले शुरुमा दिएको जानकारी र तथ्यहरु फरक परेपछि प्रहरीले किशोरीलाई शंकास्पद मानेर अनुसन्धान अगाडि बढाएको थियो। त्यसपछि ती किशोरीले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ। किशोरीको नाम भने प्रहरीले खुलाएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *