हजारौं नेपालीको मृत्युप्रति विश्व फुटबलको सर्वोच्च संस्था मुकदर्शक

दामोदर नेपाल
२६ असार २०७८ ११:१७

काठमाडौं। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको आयोजना गर्नको लागि भइरहेको संरचना निर्माणको काममा हजारौं नेपालीले ज्यान गुमाएको घटनाप्रति विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पूरै बेवास्ता गरेको छ । कतारमा स्टेडियम निर्माण गर्ने क्रममा हजारौं आप्रवासी कामदारको मृत्यु भएको कैयौं अन्तर्राष्ट्रिय समाचार संस्था र अन्तर्राष्ट्रिय अधिकार समूहहरुले रिपोर्ट सार्वजनिक गरिरहँदा फिफले भने ती तथ्यांकलाई अस्वीकार गरेको छ ।

गएको फेब्रुअरी महिनामा मात्रै बेलायतको प्रतिष्ठित समाचार संस्था द गार्डियनले कतारमा स्टेडियम निर्माणको क्रममा ५ दक्षिण एसियाली देशका मात्र ६ हजार ५ सय जना आप्रवासी कामदारको मृत्यु भएको रिपोर्ट प्रकाशित गरेको थियो । मृत्यु भएका यी आप्रवासी कामदारहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका भएको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा भारत, बंगलादेश, नेपाल र श्रीलंकाका कामदारहरु ५ हजार ९२७ जना र पाकिस्तानका कामदारहरु ८२४ जनाको मृत्यु भएको उल्लेख छ ।

रिपोर्टका अनुसार कतारले २०१० मा विश्वकप आयोजना गर्ने अधिकार पाएपछि २०२० सम्मको १० वर्षको अवधिमा कूल ६ हजार ७५० जनाको मृत्यु भएको छ । यीमध्ये सबैभन्दा धेरै २ हजार ७ सय ११ जना भारतका, दोस्रोमा १ हजार ६ सय ४१ जना नेपाली, १ हजार १८ जना बंगलादेशी, ८ सय २४ जना पाकिस्तानी र ५ सय ५७ जना श्रीलंकालीको मृत्यु भएको थियो । तर, कतार सरकारले भने यी मृत्यु भएकाहरुमध्ये ६९ प्रतिशतको मृत्यु प्राकृतिक कारणले भएको भनेको थियो ।

कतार विश्वकपका अधिकारीहरुले भने यो रिपोर्टलाई अस्वीकार गरेका छन् । अधिकारीहरुले विश्वकप स्टेडियम निर्माणको काममा मात्रै ३ जनाको मृत्यु भएको र काममा नभएका बेला ३५ जनाको मृत्यु भएको आश्चर्यजनक तथ्यांक सार्वजनिक गरेका छन् । अन्तर्राष्ट्रिय मिडिया र अधिकार समूहले सार्वजनिक गरेको तथ्यांक र कतार विश्वकपका अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकमा आकाश पातालको अन्तर देखिन्छ । र, यी २ तथ्यांकको तुलना गर्नै नमिल्ने गरी अपत्यारिलो देखिन्छ ।

कतारको सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसीका महासचिव हसन अल थवादीले द गार्डियनको समाचार भंमपूर्ण रहेको दावी गरे । कतार विश्वकपको तयारीसम्बन्धी सबै काम गर्ने जिम्मेवारी पाएको सुप्रिम कमिटीका प्रमुख थवादीले सीएनएनका बेसी एन्डरसनसँग कुरा गर्दै भने ‘यस्ता सनसनीपूर्ण हेडलाइन आएपछि यसप्रति मानिसहरुको चिन्ता बढ्नु स्वभाविक हो जुन म बुझ्छु । तर, हामीले मैदानका तथ्यहरु पनि थाहा पाउनु जरुरी हुन्छ ।’

कतारले यस किसिमका दावी गर्नु स्वभाविक हो । उसले आफूले आयोजना गर्न लागेको विश्वकपमा आफ्नो छवि खराब हुन नदिन पनि यस्तो गरेको हुन सक्छ । तर, विश्व फुटबलको नियमनकारी सर्वोच्च संस्था फिफा पनि यस विषयमा कतारसँगै सहमत देखिएको छ । सीएनएनलाई एक लिखित वक्तव्य पठाउँदै फिफाले भनेको छ ‘फिफा र कतारी सुप्रिम कमिटी यी मृत्युहरुप्रति सधैं पारदर्शी रहे ।’ उसले कतारी सुप्रिम कमिटीले काम सम्बन्धी हरेक मृत्युको अनुसन्धान गर्ने दावी गरेको छ ।

फिफाले कतारी सुप्रिम कमिटीले निकै कडा स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएकोले विश्वकपका लागि भइरहेका निर्माणमा अन्य निर्माणको तुलनामा मृत्युदर निकै कम रहेको समेत दावी गरेको छ । यद्यपि उसले कामदारहरुलाई शतप्रतिशत सुरक्षित राख्न भने निकै कठिन भएको स्वीकार गरेको छ । द गार्डियन भने त्यहाँ मृत्यु भएका कामदारको नियमित रुपमा अटोप्सी परीक्षण नगरिएका कारण उनीहरुको मृत्यु भएको कारण थाहा हुन नसकेको दावी गर्छ ।

कतारमा आप्रवासी कामदारको ठूलो संख्यामा मृत्यु भएको दावी गर्ने द गार्डियन पहिलो प्रतिष्ठित मिडिया होइन । २ वर्षअघि २०१९ को जूनमा पनि जर्मन प्रसारक डब्लुडिआरले कतारमा विश्वकप स्टेडियम निर्माण गर्ने क्रममा १४ सय नेपालीको मृत्यु भएको खुलासा गरेको थियो । रंगशाला निर्माणमा त्यहाँको सरकारले सुरक्षा तथा आवश्यक प्रविधि प्रयोग नगर्दा नेपालीहरुको मृत्यु भएको डकुमेन्ट्रीमा बताइएको छ । डकुमेन्ट्रीका अनुसार ५ सय २२ जना नेपालीको हृदयाघातबाट मृत्यु भएको छ।

कतारमा काम गर्न गएका नेपाली कामदारहरुले दुःख पाउने, समयमा तलब नपाउने, तोकिएको भन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने, बसोवासको क्षेत्र निकै असुविधाजनक हुने, रोजगारदाताले पासपोर्ट लगायतका कागजात जफत गरिदिने जस्ता समस्या नौलो होइन । विभिन्न अधिकार समूहले पनि त्यहाँ गरेको अध्ययनमा यस्ता घटनाहरु भइरहेको जनाएका छन् । यसअघि कोरोनाभाइरस महामारी सुरु भएपछि कतारी कम्पनीहरुले श्रमिकहरुको व्यवस्थित रुपमा शोषण गरिरहेको खुलासा भएको थियो ।

महामारीका बेला कतारी कम्पनीहरुले न्यून ज्याला पाउने श्रमिकहरुको ज्याला र अन्य सुविधावापत करोडौं डलर भुक्तानी नदिएको मानवअधिकारवादी समूह इक्विडेमले गरेको एक अनुसन्धानमा खुलासा भएको थियो । अरब न्यूजमा प्रकाशित रिपोर्टअनुसार इक्विडेमले हजारौं श्रमिकहरु कोही कुनै सूचना नदिइ निकालिएका, केहीको पारिश्रमिक घटाइएको र केहीलाई बेतलबी विदामा राखिएको, कामबाट निकालिएकाहरुले काम छोड्ने बेला पाउनुपर्ने सुविधा समेत नदिइएको र घर जानका लागि समेत आफैं टिकट किन्न बाध्य पारिएको खुलासा गरेको थियो ।

कतार विश्वका सबैभन्दा धनी मुलुकमध्येको एक हुँदाहुँदै पनि मजदुरहरु महामारीको समयमा खाना नपाएर तथा घरमा पैसा पठाउन नपाएर बस्नुपरेको इक्विडेमले जनाएको थियो । बेलायती व्यवसायिक तथा मानव अधिकार स्रोत केन्द्रले कथित श्रमिकको शोषण भएका घटनामा ८७ प्रतिशत केसहरु ज्याला नदिइएको वा ढिलो दिइएको पाएको थियो । यस्ता केसहरुले २०१६ देखि अहिलेसम्म करिब १२ हजार श्रमिकहरुलाई प्रभावित पारेको छ । दक्षिण एसियालीको बाहुल्यता रहेको कतारी श्रम बजारमा करिब २० लाख विदेशी कामदारहरु कार्यरत छन् । यीमध्ये कैयौं २०२२ को फिफा विश्वकप हुने स्थानहरुको निर्माणमा खटिएका छन् ।

यसबाहेक कतारी अधिकारीहरुले आप्रवासी कामदारहरुलाई कोरोनाभाइरस परीक्षण गर्ने  भन्दै ढाँटेर नियन्त्रणमा लिने र गैरकानुनी तरिकाले निकाल्ने गरेको समेत खुलासा भएको थियो । मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था एम्नेष्टी इन्टरनेशनलको एक रिपोर्टअनुसार उसले कतारी पुलिसले पक्राउ गरेका २० जना नेपाली श्रमिकसँग अन्तरवार्ता गरेको थियो । यसअघि उसले सयौंको संख्यामा अन्य देशका आप्रवासी कामदारसँग पनि कुरा गरेको थियो ।

ती नेपाली श्रमिकहरुका अनुसार उनीहरुलाई पुलिसले पहिले कोभिड–१९ परीक्षण गर्न भन्दै लगेको थियो । परीक्षणपछि पुनः आफ्नै निवासमा फर्काउने भन्दै उनीहरुलाई लिएर गएको पुलिसले उनीहरुलाई परीक्षण गर्न नभइ डिटेन्सन सेन्टरमा पुर्यायो र डरलाग्दो परिस्थितिमा नजरबन्दमा राखियो । केही दिन नजरबन्दमा राखेपछि उनीहरुलाई नेपाल पठाइयो ।

एम्नेष्टी इन्टरनेशनलको ग्लोबल डेपुटी डाइरेक्टर स्टिभ ककबर्नले भने ‘हामीले कुरा गरेका श्रमिकहरुमध्ये कसैले पनि किन उनीहरुलाई यसरी डिटेन्सन सेन्टरमा राखिँदैछ र देशबाट निकालिँदैछ भन्ने विषयमा कुनै जवाफ पाएका छैनन् । यहाँसम्म कि उनीहरुलाई नेपाल डिपोर्ट गरिनुअघि उनीहरुको कोठामा भएका आफ्ना सामानहरु समेत लिन पाएनन् ।’ ती कामदारहरु पुलिसको यो कामलाई चुनौती दिन सक्ने हैसियतमा समेत नभएको ककबर्नले बताए । कतारी अधिकारीहरुले कोरोनाभाइरसको महामारीलाई आप्रवासी कामदारहरुविरुद्ध शोषणको बहाना बनाएको भन्दै यो खेदजनक भएको ककबर्नले बताए ।

कतारी पुलिसले २०२० को मार्च १२ र १३ मा कतारको इण्डष्ट्रियल एरिया, बारवा सिटी, लेबर सिटी लगायतका कतारका विभिन्न क्षेत्रबाट सयौंको संख्यामा आप्रवासी कामदारहरुलाई नियन्त्रणमा लिएको थियो । आवासबाट बाहिर खाद्यान्न, तरकारी लगायत अत्यावश्वक सामान खरिद गर्न गएका बेला उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । यसरी नियन्त्रणमा लिइएका केही श्रमिकहरुका अनुसार उनीहरुलाई पुलिसले कोरोनाभाइरस परीक्षण गर्न लैजान लागेको र परीक्षणपछि कोठामै फर्काइदिने बताएको थियो । केही श्रमिकहरुले भने पुलिसले अरबी भाषामा बोलेको र आफूहरुले ‘कोरोना’ शब्द मात्र बुझेको बताएका छन् ।

एकजनाले एम्नेस्टी इन्टरनेसनललाई भने, ‘हामीलाई पुलिसले कोरोनाभाइरस परीक्षणका लागि रोकिएको भन्यो । पुलिसले डाक्टर आएर जाँच्ने भनेको थियो तर उनीहरुले हामीलाई ढाँटे ।’ उनीहरुलाई बसमा कोचियो र इण्डष्ट्रियल एरियामा रहेको डिटेन्सन सेन्टरमा लगियो । उनीहरुका कागजात र मोवाइल फोन जफत गरियो अनि उनीहरुको फोटो खिचेर औंठाछाप समेत लिइयो । ती श्रमिकहरु फरक फरक देशका थिए । उनीहरुलाई आधारभूत सुविधासमेत नदिइ कोचेर राखियो ।

एकजना नेपालीले एम्नेस्टी इन्टरनेसनललाई भने, ‘जेल कोचाकोच थियो । हामीलाई दिनमा एउटा रोटी दियन्थ्यो जसले हामीलाई पुग्दैनथ्यो । सबैलाई भुइँमा राखिएको थियो र प्लाष्टिकमा खाना दिइन्थ्यो । भीडका कारण कैयौंले त खाना लिन समेत सक्दैनथे ।’ एम्नेष्टीले अन्तरवार्ता लिएका २० जना नेपालीमध्ये ३ जनाले मात्र उनीहरुको तापक्रम जाँच गरिएको बताए । नियन्त्रणमा राखिएका बेला मात्र उनीहरुलाई डिपोर्ट गर्न लागिएको जानकारी दिइएको थियो । केहीलाई १५ मार्च र केहीलाई १९ मार्चमा डिपोर्ट गरियो ।

कतार सरकारले भने केही कामदारहरु गैरकानुनी र अनैतिक गतिविधिमा संलग्न रहेको अवस्थामा अधिकारीहरुले फेला पारेको दावी गरेको छ । कोभिड–१९ प्रतिकार्यका क्रममा औद्योगिक क्षेत्रमा निरीक्षण गर्दा यस्ता गतिविधिहरू फेला पारिएको भन्दै कतार सरकारले मानव स्वास्थ्यलाई गम्भीर रूपमा खतरामा पार्न सक्ने खतरनाक खाद्य वस्तु लगायतका निषेधित र प्रतिबन्धित वस्तुहरूको उत्पादन र बेचबिखन भएको भेटिएको दावी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *