पतिको हत्यारालाई कानुनले सजाय दिएन, महिला आफैं हत्यारासँग बिहे गरिन् अनि मारिदिइन्

डिसी नेपाल
२ साउन २०७८ १७:१६

काठमाडौं। आफ्ना पतिको हत्यारालाई कानुनले सजाय दिन नसकेपछि ती महिला आफैं हत्यारासँग नजिकिइन्, उसको विश्वास जितेर उसँग बिहे गरिन् । १ वर्षसम्म योजना बनाएपछि अन्ततः उसलाई मारिदिइन् । बदलाको यो सनसनीपूर्ण घटना पाकिस्तानको हो । यी महिलाले बदला लिनको लागि बुनेको जालको बारेमा थाहा पाउँदा जोकोही दंग परेका छन् ।

उनले आफ्ना पतिका हत्यारासँग बदला लिन ३ वर्षदेखि प्रयास गरिरहेकी थिइन् । यसको लागि उनले पूरा योजना बनाएकी थिइन् । उनले पहिले हत्यारासँग मित्रता गरिन् त्यसपछि उसँग बिहे गरिन् र अन्ततः उसलाई मारेर आफ्नो बदला पूरा गरिन् । घटना पाकिस्तानको कबायली इलाकामा बाजौर जिल्लाको हो । यहाँ अभियुक्त महिलाका पहिलो पतिको ३ वर्ष पहिले मृत्यु भएको थियो । तर, उनको हत्या गरिएको थियो वा प्राकृतिक मृत्यु थियो भन्ने स्पष्ट थिएन ।

बीबीसीका अनुसार महिलाले निजी रुपमा पत्ता लगाएकी थिइन् कि उनका पतिलाई उनका साथी गुलिस्तानले विषको सुई दिएर मारिदिएका थिए । थानामा उनका पतिको मृत्यु वा हत्याको कुनै पनि केस दर्ता छैन । पुलिसका अनुसार ३ वर्ष पहिले त्यस क्षेत्रमा पुलिस थाना पनि थिएन र जमिन शाहको हत्या भएको पुष्टि गर्ने कुनै प्रमाण पनि भेटिएको थिएन ।

पुलिसका अनुसार २ दिन पहिले गुलिस्तान नामका व्यक्तिको गोली हानेर हत्या भएको जानकारी प्राप्त भएको थियो । पुलिस इन्स्पेक्टर विलायत खानका अनुसार उनले स्थानीय चेक पोस्टलाई घटनास्थलबाट कसैलाई बाहिर जान नदिनु भनेर आफू पनि घटनास्थलतर्फ गएका थिए ।

विलायत खानले बीबीसीलाई भने ‘जब हामी त्यहाँ पुग्यौं बेडमा रगत लत्पतिएको लाश थियो । एक गोल टाउकोमा लागेको थियो र एक गोली शरीरको दाहिने भागमा लागेको थियो । अभियुक्त मृतकको साथमा बसेकी थिइन् । घरभित्र र बाहिर ठूलो संख्यामा मानिस जम्मा भएका थिए । हामीले मानिसहरु हटाएर जाँच सुरु गर्यौं र घटनास्थलबाट प्रमाण जुटायौं ।’

पुलिस रिपोर्टका अनुसार महिलाले पुलिसलाई बताएकी थिइन् कि आफ्ना पूर्व पति अफगानिस्तानको कुनार प्रान्तका अफगान शरणार्थी थिए । महिलाका अनुसार उनका पति पेशावरमा काम गर्थे र उनीहरुको जीवन निकै हाँसोखुसीका साथ चलिरहेको थियो । पुलिसका अनुसार उनीहरुकी एक छोरी पनि थिइन् ।

पुलिसका अनुसार अभियुत्तः महिलाले आफ्नो बयानमा भनेकी छिन् ‘मेरा पतिको गुलिस्तान नामका एक व्यक्तिसँग मित्रता थियो । मेरा पतिले पेशावरमा जे कमाउनुहुन्थ्यो त्यो सबै राख्नको लागि गुलिस्तानलाई पठाउनुहुन्थ्यो ताकि जतिबेला आवश्यक पर्छ त्यतिबेला फिर्ता लिन सकियोस् । गुलिस्तानसँग उहाँको गहिरो मित्रता थियो ।’

अभियुक्तका पति केही समयपछि फर्केर आए र गुलिस्तानसँग आफ्नो स्वास्थ्य ठिक नभएकोले आफूलाई आफ्नो पैसा फिर्ता चाहिएको बताए । तर गुलिस्तानले पैसा फिर्ता दिएनन् र अहिले पैसा छैन भने । विलायत खानका अनुसार अभियुक्तले आफ्नो बयानमा भनिन् ‘गुलिस्तानले मेरा पतिलाई पैसा दिनुको सट्टा यदि तिमी बिरामी छौ भने म तिम्रो लागि इनायत कली बजारबाट औषधि ल्याउँ५ु भने । गुलिस्तानले २ इन्जेक्सन र केही गोलीहरु ल्याएका थिए । एउटा इन्जेक्सन गुलिस्तानले नदीको किनारमा शाह जमिनलाई लगाइदिए । अर्को इन्जेक्सन पछि घरमा लगाउनु र औषधि खानु ठिक हुन्छ भने ।’

बयानमा अगाडि भनिएको छ ‘इन्जेक्सन लिएपछि मेरा पतिको हालत अझै बिग्रियो र उहाँ जमिनमा लड्नुभयो । त्यहाँ भएका मानिसले मेरा पतिलाई अस्पताल लिएर गए र मृत अवस्थामा घर फर्काएर ल्याए ।’ गुलिस्तानले पतिलाई इन्जेक्सन लगाएको र त्यसपछि उनको मृत्यु भएको थाहा पाएपछि महिलाले पतिको बदला जसरी पनि लिने निश्चय गरिन् ।

सुरुमा ५–६ महिनासम्म उनी पतिको बदला लिने कोसिस गरिरहिन् तर सफल भइनन् । त्यसपछि उनले कसरी गुलिस्तानको नजिक पुग्ने र बदला लिने भनेर योजना बनाउन थालिन् । त्यसपछि उनले गुलिस्तानसँग बिहे गर्ने निर्णय गरिन् र उनलाई सन्देश पठाइन् । गुलिस्तान पहिल्यै विवाहित थिए र उनका एक छोरा पनि छन् । महिलाका अनुसार उनले गुलिस्तानलाई लोभ्याएर राजी गराएकी थिइन् ।

अघिल्लो वर्ष ठूलो ईदभन्दा पहिले उनीहरुले बिहे गरे । ६ महिनासम्म उनीहरु कहिले कसको घर कहिले गुलिस्तानकी बहिनीको घरमा बसे । त्यसपछि उनीहरुले इनायत कलीमा ३ हजार रुपैयाँ प्रति महिनाको हिसाबले एउटा घर भाडामा लिए । त्यसपछि महिलाले आफू घरमा एक्लै बस्ने र घरमा चोर आउन सक्ने भएकोले सुरक्षाको लागि एउटा पेस्ताल चाहिने बताइन् । गुलिस्तानले साढे १३ हजार रुपैयाँमा एउटा पेस्तोल किनेर ल्याए ।

पेस्तोल घरमा आएपछि महिला त्यसको उपयोग गर्ने मौकाको खोजीमा थिइन् । घटनाको दिन सम्झिँदै महिलाले भनिन् ‘म राती जागै रहें । राती करिब १ बजे अर्को कोठामा गएँ र पेस्तोलमा गोली हालेर गुलिस्तानको कोठामा गएँ । गुलिस्तान सुतिरहेको थियो । मैले ऊमाथि गोली चलाएँ तर फायर भइरहेको थिएन । पेस्तोलले काम गरेन ।’

पुलिसका अनुसार उनी फेरि अर्को कोठामा गइन् र पेस्तोल चेक गरिन् । त्यसपछि फेरि गुलिस्तानको कोठामा आइन् र पहिलो फायर गुलिस्तानको टाउकोमा र दोस्रो फायर उनको शरीरमा दायातर्फ गरिन् । गोली हानेपछि उनी घाम उदाउँदासम्म त्यहीँ बसिरहिन् । घाम उदाएपछि उनले बाहिर मानिसहरुलाई कसैले आफ्नो पतिलाई मारिदिएको बताइन् । त्यसपछि मानिसहरु जम्मा भए र पुलिस पनि आयो ।

पुलिस अधिकारी विलायत खानका अनुसार पहिले उनले आफूले हत्या नगरेको भनिरहिन् । तर जब पुलिसले जाँच सुरु गर्यो त्यसपछि भने उनले अपराध स्वीकार गरिन् र सबै कुरा बताइन् । उनले पेस्तोलको बारेमा पनि बताइन् जो सन्दुकमा थियो । पुलिसले पेस्तोल मारिएका गुलिस्तानका छोराको उपस्थितिमा बरामद गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *