जंगलमा खान खोज्ने भालुसँग डराएर १० दिनसम्म खाना बिना रुखमा बसेका दम्पतीको उद्धार

डिसी नेपाल
३ साउन २०७८ १६:३८

काठमाडौं। भालुसँग त्रसित एक दम्पतीले आफूहरुलाई एउटा खैरो भालुले खान खोजेपछि त्यससँग डराएर १० दिनसम्म खानेकुरा बिना एउटा रुखमा बसेर बिताएको दावी गरेका छन् । एन्टोन र निना बोग्दानोभ पूर्वी रुसको बानिये स्प्रिंग्स ब्युटी स्पटमा घुम्न गएका बेला घटना भएको थियो । द सनको रिपोर्टअनुसार यो विवाहित जोडी एक रातको लागि मात्र बाहिर बस्नेगरी गएका थिए तर उनीहरुको मित्सुबिसी पजेरो रुसको कामाचात्का क्षेत्रमा रहेको हट स्प्रिंग्सभन्दा ११ माइल अगाडि नै हिलोमा फसेको थियो ।

त्यस क्षेत्रमा मोवाइल नेटवर्कको कभरेज पनि नभएपछि उनीहरु एक रात गाडीमै बसे । भोलिपल्ट उनीहरु आफ्नो गाडी निकाल्नका लागि सहयोग माग्न पैदल हिँडे । उनीहरुलाई त्यहाँ भालुको डर हुन्छ भन्ने थाहा थियो । उनीहरुले कारको सिसामा एउटा सन्देश पनि लेखेर जोडेका थिए जसमा ‘बेस क्याम्पका लागि गएका, २ जना’ लेखिएको थियो । तर उनीहरुलाई सहयोग गर्नको लागि कुनै सर्च अभियान नचलाइएको उनीहरुले दावी गरे ।

बेसतर्फ जाँदै गर्दा उनीहरुले एउटा ठूलो जनावर आफूहरुतर्फ आइरहेको महसुस गरे । निनाले भनिन् ‘त्यो भालु हाम्रो पछिपछि हिँडिरहेको थियो । हामीले त्यसलाई ख्याल गरेका रहेनछौं । उ चुपचाप हिँडिरहेको थियो । मेरा श्रीमानले पहिले त्यसलाई देखे । उनी चिच्याएपछि उ पहिले त थोरै पछि हट्यो त्यसपछि त्यो हाम्रो पछिपछि दौडिन थाल्यो ।’ उनीहरु त्यहाँबाट भाग्दै करिब २०० यार्ड तल नदीतिर गए र एउटा रुखमा चढे । २ घण्टापछि भालु उनीहरु भएको हाँगातर्फ हाम्फाल्यो । त्यसलाई खसाल्न उनीहरुले आफ्नो झोलाले हाने । झोलामा उनीहरुको खानेकुरा थियो जुन भालुले खायो ।

निनाका अनुसार २ दिनसम्म उनीहरुलाई कुरेर बस्यो । त्यसपछि उनीहरुले पनि पालो पालो गरेर सुत्ने र भालुको क्रियाकलाप हेर्ने गर्न थाले । निनाले भनिन् ‘हामीसँग खाना र पानीबिना रुखमा बस्ने शक्ति नभएको महसुस भयो तर त्यो भालुले हामीलाई छोड्दैनथ्यो ।’ एकपटक भालु केही पर गएका बेला उनीहरु रुखबाट ओर्लेर नदीमा हाम्फाले । नदीमा निना झण्डै डुबिनन् । जसोतसो उनीहरु नदी पारी पुगे । तर, भालु त्यहाँ पनि आएपछि उनीहरु फेरि अर्को रुखमा चढ्न बाध्य भए । उनीहरु त्यहाँ थप २ दिनसम्म बसे ।

भालु पर गएको बेला रुखबाट ओर्लिने र केही परसम्म गएर फेरि रुखमा चढ्ने गर्दै उनीहरु जसोतसो आफ्नो कारसम्म पुगे । उनले भनिन् ‘हामी कारसम्म पुगेपछि हामीले त्यहाँ आइरहेका अरु गाडीहरुको पनि आवाज सुन्यौं ।’ आर्टर नाम गरेका एक उद्धारकर्ताले उनीहरुलाई कारमा फेला पारेको बताएका छन् । गत वर्ष कामाचात्कामा ४ वटा बियर आक्रमणका घटनामा २ जनाको मृत्यु भएको सरकारी रेकर्डमा छ । यस क्षेत्रमा २३ हजार भालुहरु छन् जुन रुसमै भालुहरुको सर्वाधिक संख्या हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *