फेशन गरे मृत्युदण्ड !

डिसी नेपाल
४ साउन २०७८ १६:३९

काठमाडौं। युवाहरुलाई नयाँ–नयाँ विदेशी फेशन अपनाउन मन लाग्छ । फेशनको कुनै सीमा हुँदैन र यो एक देशबाट अर्को देशसम्म सजिलै पुग्छ । तर, उत्तर कोरियामा भने युवाहरुलाई देशबाहिरबाट आएको फेशन गर्न प्रतिबन्ध लगाइएको छ । यदि यहाँका युवाले विदेशी, खासगरी खक्षिण कोरिया, अमेरिका र जापानबाट आयातीत फेशन गरेमा उनीहरुलाई मृत्युदण्डसमेत हुन सक्छ ।

उत्तर कोरियामा हालै एउटा नयाँ कानुन पारित भएको छ । यो कानुनअनुसार यदि कुनै पनि व्यक्ति दक्षिण कोरिया, अमेरिका र जापानबाट आयातीत ठूलो परिमाणमा मिडियासँग सम्बन्धित सामग्रीको साथमा समातिए उसलाई मृत्युदण्डसमेत हुन सक्छ । यसका अलावा यी देशका मिडिया हेरेमा १५ वर्षको जेल सजाय हुन सक्छ । बीबीसीका अनुसार अब यो कानुनमा संशोधन गरिएको छ र दक्षिण कोरियामा आम बोलीचालीमा प्रयोग हुने भाषालाई पनि प्रतिबन्ध लगाइएको छ ।

यसअघि दक्षिण कोरियाको हेयरस्टाइल र विदेशी फेशन पहिले नै प्रतिबन्धको सूचीमा छ । देशका जनतासँग उत्तर कोरियाको भाषा नै सर्वश्रेष्ठ भएकोले उनीहरुले यदि दक्षिण कोरियामा प्रयोग हुने भाषा प्रयोग गरेमा मृत्युदण्डसमेत हुन सक्ने भनिएको छ । यसका अलावा उत्तर कोरियाको आधिकारिक अखबारमा दक्षिण कोरियाको फेशन स्टाइल, हेयरस्टाइल र म्युजिकको प्रयोगका विषयमा पनि चेतावनी जारी गरिएको छ ।

कोरोना महामारी र खस्किएको अर्थव्यवस्थासँग जुधिरहेको उत्तर कोरियाबाट विदेशी प्रभावलाई पूर्ण रुपमा अन्त्य गर्नको लागि यो कदम उठाइएको मानिएको छ । उत्तर कोरियाको अखबार रोडोंग सिनमनमा दक्षिण कोरियाको पप कल्चरबाट हुन सक्ने खतराबारे उल्लेख गर्दै भनिएको छ ‘रंगीबिरंगी कपडामा देखिने मानिसहरु हाम्रो संस्कृति र सांस्कृतिक विरासतमा घुसेर समाप्त पार्न चाहन्छन् र यी मानिसहरु ती मानिसहरुभन्दा खतरनाक छन् जसको हातमा बन्दुक हुन्छन् ।’

बीबीसीसँग कुरा गर्दै एक महिलाले बताएअनुसार केही समय पहिले एक व्यक्तिलाई दक्षिण कोरियाको एक नाटकीय सिरियल हेरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । त्यसपछि उनको आँखामा पट्टी बाँधेर उनलाई मारिएको थियो र यसको भिडियो बनाइएको थियो । त्यो भिडियो हरेक गल्लीमा गार्डहरुले बाँडेका थिए र यो भिडियोको सहारामा जनतामा डर फैलाउने कोसिस गरिएको थियो ।

युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका प्रोफेसर यांग मु जिनले कोरिया हेराल्डसँग कुरा गर्दै भने ‘किम जोंग उन स्वयंले स्विट्जरल्याण्डमा पढेका हुन् र उनलाई थाहा छ कि कोरियन पप म्युजिक र पश्चिमी संस्कृतिले निकै सजिलै उत्तर कोरियामा युवाहरुलाई प्रभाव पार्न सक्छ । किमलाई थाहा छ कि यसबाट उनको समाजवादी प्रणालीमा नकारात्मक प्रभाव पर्न सक्छ र युवा विद्रोही हुन सक्छन् । यही कारण उनी अरु देशको पप कल्चर, संगीत र मिडियालाई आफ्नो देशमा आउनबाट रोक्ने कोसिस गर्छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *