राज कुन्द्रा पोर्न गिरोहका मुख्य योजनाकार, अदालत पेश गरियो, शिल्पा शेट्टी पनि तानिँदै

डिसी नेपाल
५ साउन २०७८ १४:११

काठमाडौं। पोर्न फिल्म बनाएको अभियोगमा पक्राउ परेका व्यवसायी तथा बलिउड अभिनेत्री शिल्पा शुट्टीका पति राज कुन्द्रालाई अदालत पेश गरिएको छ । सोमबार अबेर राती गिरफ्तार गरिएका राज कुन्द्राको केसको अनुसन्धानको क्रममा पुलिसले अभिनेत्री शिल्पा शेट्टीसँग पनि सोधपुछ गर्न सक्ने बताइएको छ ।

शिल्पा धेरैजसो व्यवसायमा राज कुन्द्राकी पार्टनर हुन् । यो व्यवसायमा पनि शिल्पा उनकी पार्टनर भएको हुन सक्ने आशंकामा अनुसन्धानको सुइ शिल्पातर्फ सोझिएको हो । मुम्बइ पुलिसले छिटै शिल्पालाई सोधपुछको लागि उपस्थित हुनको लागि कानुनी नोटिस पठाउने अनुमान गरिएको छ ।

पुलिसले मंगलबार राज कुन्द्रालाई अदालत पेश गरेको छ । पुलिसले राज कुन्द्राका साथी रयान थारपलाई पनि मुम्बइको नेरुल इलाकाबाट पक्राउ गरेको छ । क्राइम ब्रान्चको प्रोपर्टी सेलले एक अज्ञात व्यक्ति र मध्यपूर्वका एक पोर्न माफियाबीचका केही कल इन्टरसेप्ट गरेको छ । यी व्यक्ति अमेरिकी नागरिक हुन् । केही युवतीको बयान पनि लिइएको छ । युवतीहरुले आफूहरु अन्तर्राष्ट्रिय पोर्नोग्राफी गिरोहसँग फसेको बयान दिएका छन् ।

मुम्बइ पुलिसका कश्निर हेमन्त नागराले एक भारतीय अखबारलाई बताएअनुसार राज कुन्द्रा यस मामिलामा मुख्य योजनाकार हुन् र क्राइम ब्रान्चसँग उनीविरुद्ध ठोस प्रमाण छ । उनलाई गिरफ्तार गरेर सोधपुछ भइरहेको छ । पहिले क्राइम ब्रान्चको प्रोपर्टी सेलले अनुसन्धान गरिरहेको भन्दै सोधपुछका लागि बोलाइएका राज कुन्द्रालाई गिरफ्तार गरिसकेपछि मात्रै पोर्न भिडियोको मामिलाको खुलासा गरिएको थियो ।

यस मामिलामा अहिलेसम्म राज कुन्द्रासमेत ११ जनालाई गिरफ्तार गरिसकिएको छ । राज कुन्द्राविरुद्ध गएको फेब्रुअरीमा मुद्दा दर्ता गरिएको थियो । पुलिसका अनुसार उनले पोर्न उद्योगमा ८ देखि १० करोड लगानी गरेका छन् । राज कुन्द्रा र उनका बेलायतमा बस्ने भाइले मिलेर बेलायतमै केनरिन नामको कम्पनी बनाएका छन् । फिल्म भारतमा खिचेर केनरिन कम्पनीलाई पठाइएको पाइएको छ । राजले आफैं कम्पनी बनाएर भारतको साइबर कानुनबाट बच्नको लागि विदेशमा दर्ता गराएको पाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *