खोप नलगाउँदा यी विद्यार्थीको अढाइ करोड रुपैयाँ गुम्यो तर चाहेर पनि खोप लगाउन सक्दिनन्

डिसी नेपाल
६ साउन २०७८ १५:४०

काठमाडौं। कोरोना खोप नलगाएका कारण एक विद्यार्थीले २ लाख डलर (अढाइ करोड रुपैयाँ) को छात्रवृत्ति गुमाउनु परेको छ । यही कारण उनले आफ्नो सपनाको कलेजमा भर्ना हुन पनि पाइनन् । तर, यी छात्राले चाहेर पनि कोरोना खोप लगाउन सक्दिनन् । आफ्नो दुर्लभ स्वास्थ्य स्थितिका कारण यी छात्राले कोरोना खोप लगाउने जोखिम उठाउन नसक्ने बताइन् ।

ओलिभिया स्यान्डरलाई गिलियन बेयर सिन्ड्रोम नामक दुर्लभ स्वास्थ्य समस्या छ । उनले आफूसँग भएको त्रासदीलाई फक्स न्युजसँग साझा गरेकी छिन् । यी छात्राले हवाइ शहरको ब्रिघम यंग युनिभर्सिटीमा भर्ना हुने अवसर पाएकी थिइन् । तर, कोरोना खोप नलगाएका कारण उनी आफ्नो सपनाको कलेजमा भर्ना हुनबाट बञ्चित रहिन् ।

उनलाई भएको दुर्लभ स्वास्थ्य समस्या कोरोना खोप लगाएका निकै खतरनाक हुन सक्छ । ओलिभियाका अनुसार २०१९ मा इन्फ्लुएन्जा खोप लगाउँदा उनलाई जीबीएसको समस्या भएको थियो जसका कारण उनी एक महिनाभन्दा बढी समय कम्मरबाट मुनिको भाग पक्षघातग्रस्त भएकी थिइन् । ओलिभियाका अनुसार खोप लगाए उनको जीबीएसको समस्या फेरि ट्रिगर हुन सक्छ जुन पीडा उनी सहन सक्दिनन् ।

ओलिभियाका डाक्टरले विश्वविद्यालयलाई एक पत्र पनि लेखेका थिए । पत्रमा डाक्टरले भनेका थिए ‘ओलिभियाको मेडिकल इतिहासलाई हेर्दै म मान्छु कि उनलाई कोभिड खोप वा इन्फ्लुएन्जा खोप लगाउँदा उनको स्वास्थ्यलाई निकै खतरा हुन्छ त्यसैले ओलिभियालाई यी खोपबाट टाढै राख्नुपर्छ ।’

ओलिभियाका डाक्टरको पत्रप्रति प्रतिक्रिया दिँदै विश्वविद्यालय प्रशासनले एक इमेलमा भनेको थियो ‘हाम्रो अवस्थिति निकै पृथक छ र हाम्रो विश्वविद्यालयमा धेरै फरक फरक पृष्ठभूमिका विद्यार्थी पढ्न आउँछन् । त्यसैले हामीले कोभिड–१९ बाट हाम्रो क्याम्पस र समुदायलाई सुरक्षित राख्न अधिक सावधानी अपनाउनु पर्छ ।’

ओलिभियाका अनुसार उनले यो कलेजमा फरक फरक विभागमा गरी २ लाख डलरको छात्रवृत्ति जितिसकेकी थिइन् । तर, उनले यो कलेजमा भर्ना हुन नपाएपछि उनले पाएका सबै छात्रवृत्ति पनि रद्द भएका छन् । ओलिभियाका अनुसार विश्वविद्यालयले मध्य जूनसम्म खोप अनिवार्य भएको सूचना दिएको थिएन । तर, अब उनका सबै छात्रवृत्ति रद्द भएका छन् जसले उनको चिन्ता बढाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *