म्याग्दीमा बर–पिपल, चौतारी, पोखरी संरक्षण अभियान

डिसी नेपाल
१५ साउन २०७८ ७:१६

म्याग्दी । धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग साइनो गाँसिएका बर–पिपल, चौतारी र पोखरीको संरक्षण तथा मर्मतसम्भारका लागि म्याग्दीका विभिन्न गाउँमा अभियान नै सञ्चालन गरिएको छ। छ वटा स्थानीय तह रहेको म्याग्दीका धवलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मङ्गला, मालिका, रघुगङ्गा र अन्नपूर्ण गरी पाँचवटा स्थानीय तहका १४ वटा वडामा बर–पिपल लगाउने र चौतारी–पोखरी निर्माण गर्ने कामले तीव्रता पाएको छ।

बेनीलगायत केही स्थानीय तहका वडाले बजेट नै छुट्याएर बर–पिपल र चौतारी–पोखरी संरक्षण, मर्मत तथा निर्माण गरेका छन् भने कुनै वडामा स्थानीय सामुदायिक वन उपभोक्ता समूह, समुदाय र व्यक्तिगतरूपमा समेत बर–पिपल लगाउने र चौतारी पोखरी निर्माण गर्ने काम भइरहेको छ। बेनी–६ ले गत वर्षदेखि वडाभित्र रहेका पुराना बर–पिपल, चौतारी–पोखरी र पँधेरा–कुवाको संरक्षण अभियानमा करिब रु पाँच लाख बजेट नै खर्च गरेको वडाध्यक्ष कृष्णबहादुर बानियाँले जानकारी दिए।

पुराना सम्पदाको संरक्षणसँगै नयाँ पुस्तालाई जानकारी गराउने गरी वडाभित्र रहेका दशकौँ अगाडिका बर–पिपल, चौतारी, पोखरी र धाराको संरक्षण गरिएको उनले बताए। ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौँ पहिले रोपिएका बर–पिपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा)को संरक्षण र मर्मतमा स्थानीयवासीको चासो बढेको अध्यक्ष बानियाँले बताए।

उनका अनुसार १०० वर्षभन्दा पुराना बर–पिपलका रुख रोप्नेहरुको विवरण सङ्कलन गरी परिवारबाटै संरक्षणको प्रयास गरिएको छ। गत वर्ष पोखरी संरक्षणका लागि गण्डकी प्रदेशबाट प्राप्त बर–पिपल संरक्षण तथा रोपणका लागि रु तीन लाख र चौतारी तथा कुवाका मर्मतसम्भारका लागि रु दुई लाख बजेट खर्च गरिएको उनले बताए। उक्त बजेटबाट थानकपोखरी र जरबुटामा बर–पिपल रोपण र चौतारी निर्माण, छापको घोतघोतको पोखरी संरक्षण गरिएको थियो।

बर–पिपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्याङ्क राख्ने कामसमेत वडाले गरेको छ। वडामा अहिलेसम्मको तथ्याङ्कअनुसार ५० भन्दा बढी बर–पिपल र चौतारी छन्। त्यसैगरी ५० भन्दा धेरै पानीका कुवा र पोखरी पुरिएको अवस्थामा भेटिएको वडाले जनाएको छ । स्थानीयवासीको सहयोगमा बर–पिपल मास्न, काट्न, रुखको मौलिकतालाई बिगार्न नदिने र पुरानो भएर जोखिमपूर्ण अवस्थामा पुगेका रुखको वडा कार्यालयबाट अनुमति लिएर हाँगा, काँटछाँट गर्ने जिम्मेवारी दिइएको छ। त्यसैगरी बेनी–५ पुलाचौरको देउपुर्ने, आँटी पानीपँधेरा सामुदायिक वनमा १०८ बर–पिपलका बिरुवा रोपिएको छ।

वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले सामुदायिक वन क्षेत्रमा १०८ बर–पिपलसहित स्वामी र बेलका गरी १३७ वटा बिरुवा रोपिएको हो। देउपुर्ने र आँटी पानीपँधेरा सामुदायिक वन उपभोक्ता समिति र विश्व हिन्दू महासङ्घ बेनी–५ को सहकार्यमा बिरुवा रोपण कार्यक्रम गरिएको देउपुर्ने र आँटी पानीपँधेरा सामुदायिक वन उपभोक्ता समितिका सदस्य चिरञ्जीवी सुवेदीले जानकारी दिए।

बेनी–२ ज्यामरुककोटमा स्थानीयवासी चन्द्रबहादुर कार्कीले आफ्नै निजी लगानीमा १७ वटा चौतारी निर्माण, १७४ ठाउँमा बर–पिपल रोपण र आठवटा पोखरी निर्माण गरेका छन्। “मैले यो काम धर्म कमाउने लोभले नभई वातावरणको शुद्धता र बटुवालाई शीतलता प्राप्त होला भनेर गरेको हुँ”, ५६ वर्षीय कार्कीले भने।

पछिल्लो समय सार्वजनिक ठाउँमा बर–पिपल रोप्ने र सडकको छेउछाउ वा गोरेटो बाटोको नजिक चौतारी बनाउने क्रम बढ्दै गएकामा गाउँका वृद्धवृद्धाले प्रशन्नता व्यक्त गरेका छन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *