१८ अर्ब रुपैयाँको ड्रग्ससहित समातिएका ओलम्पिक पदक विजेता खेलाडीलाई २५ वर्ष जेल

डिसी नेपाल
१६ साउन २०७८ १२:३०

काठमाडौं। पूर्व ओलम्पिक पदक विजेता खेलाडी नेथन बगालेलाई लागूऔषध तस्करीको आरोपमा २५ वर्षको जेल सजाय सुनाइएको छ । ४५ वर्षका नेथनले २ पटकसम्म ओलम्पिकमा रजत पदक जितेका छन् । नेथनसँगै उनका भाइ ड्रु पनि पक्राउ परेका थिए । उनीहरु ३ वर्ष पहिले अस्ट्रेलियामा १५२ मिलियन डलर (१८ अर्ब रुपैयाँ) बराबरको कोकिन तस्करी गर्ने कोसिस गरेको आरोपमा पक्राउ परेका छन् ।

ड्रु र उनका एक साथीले सयौं किलोमिटर यात्रा गरेर एक पानीजहाजबाट ६५० किलो कोकिन उठाएका थिए । अस्ट्रेलियाको नेवी पुलिसले ड्रु र उनका साथीको पिछा गरेपछि उनीहरुले जहाजबाट कोकिनका प्याकेट समुद्रमा फ्याँकेका थिए । नेवी पुलिसले ३० वटा प्याकेट जफत गरेको थियो । ६५० किलो ह्वाइट पाउडरमा ५१२ किलो शुद्ध कोकिन थियो । बजार मूल्यका हिसाबले यो कोकिनको मूल्य १५२ मिलियन डलर थियो ।

इनसाइडरका अनुसार नेथनलाई २०१९ मा पक्राउ गरिएको थियो । नेथनले यो मिसनमा बोटको प्रयोग गरेका थिए । नेथनले यो बोटमा जीपीएस सिस्टम र टेलिफोन स्याटेलाइट किटको पनि प्रयोग गरेका थिए । इनसाइडरको रिपोर्टअनुसार सर्वोच्च अदालतका न्यायाधीश एन लायन्सले भने ‘यी पूर्व ओलम्पिक खेलाडी ड्रग्सको व्यवसायमा गम्भीरताका साथ लिप्त थिए र उनलाई यो मिशनबाट ठूलो आर्थिक मुनाफा हुन सक्थ्यो ।’

डिफेन्सको तर्फबाट ड्रुलाई त्यो प्याकेजमा सूर्ती भएको भन्ने लागेको र नेथनलाई पनि ड्रग्सबारे कुनै जानकारी नभएको दावी गरिएको थियो तर न्यायाधीशले यी सबै दावी खारेज गरेका छन् । न्यायाधीशले उनीहरु यो मिसनको माध्यमबाट धेरै धनी हुन चाहेको बताएका छन् । न्यायाधीशले यी दाजुभाइको कुख्यात आपराधिक रेकर्ड कैयौं सहरमा फैलिएको र दुवैले लागूऔषध तस्करीको आरोपमा पहिले नै सजाय काटिसकेको बताए ।

नेथनलाई दोषी ठहर गर्दै २५ वर्षको सजाय सुनाइएको छ र उनले १२ वर्षभन्दा पहिले जमानतको लागि अपिल गर्न पाउने छैनन् । ड्रुलाई २८ वर्षको जेल सजाय सुनाइएको छ र उनले १६ वर्षभन्दा पहिले जमानतको लागि अपिल गर्न पाउने छैनन् । नेथन ३ पटक कायाकिंग विश्व च्याम्पियन रहिसकेका छन् । २००५ मा प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपमा उनलाई कारवाही गरिएको थियो । यसबाहेक उनी लागूऔषधको मुद्दामा पटक पटक कारवाहीमा परेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *