न्यूयोर्कमा नेपाली युवाको मृत्यु, शव नेपाल पठाउने तयारी

डिसी नेपाल
१७ साउन २०७८ ८:२५

काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका २८ वर्षीय नेपाली युवा विपिन लम्सालको मृत्यु भएको छ । २०१६ मा अमेरिका पुगेका पर्वत जिल्लाका लम्सालको गत जुलाई २७ तारिख मङ्गलबारका दिन अचानक मृत्यु भएको हो ।

घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि नजिकैको एलमस्ट अस्पताल पुर्याइएको थियो । केही समयमा नै अस्पतालले लम्साललाई मृत घोषणा गर्याे ।

सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा विपिन लम्सालको २८ वर्षकै उमेरमा असामयिक निधन भएको दुखद घटनाप्रति एनआरएनए अमेरिका परिवार मर्माहत भएको छ । साथै, आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।

अहिले स्वर्गीय लम्सालको शव अस्पतालमा नै रहेको छ । विपिनका बुवा पोशराज लम्सालले छोराको शव नेपाल पठाईदिन एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरलाई अनुरोध गरेका छन् ।

नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि एनआरएनए न्यूयोर्क च्याप्टरले गोफण्डमार्फत सहयोगका लागि अपिल गरेको छ । एनआरएनए न्यूयोर्क च्याप्टर अध्यक्ष आङछिरिङ शेर्पाले दाताहरूलाई गोफण्डको लिङ्कमा गएर सहयोग गरिदिन आग्रह गरेका छन् ।

साथै अध्यक्ष शेर्पाले दुख व्यक्त गर्दै उनको शवलाई नेपाल पुर्याउन आग्रह गरेको सामाजिक संजाल मार्फत सूचना दिएका छन् । यो बिपत घडीमा खर्च जुटाउन गोफण्ड मी खातामा १५ हजार डलर सहयोगको लक्ष्य राखिएको छ । हालसम्म ५ हजार ८ सय ८५ डलर  संकलन भएको छ ।

अध्यक्ष शेर्पाले यस दुखको घडीमा सहयोग गर्न सबै नेपाली समुदायलाई आग्रह गरेका हुन् । साथै, परिवारको अनुरोध अनुसार गैर आवासीय नेपाली संघ अमेरिकाका वर्तमान अध्यक्ष बुद्धि सागर सुवेदीले अमेरिकास्थित नेपाली दुतावास, मेरिल्यान्ड राज्यका बिधानसभा सदस्य ह्यारी भण्डारी, न्यूयोर्क च्याप्टरसँग समन्वय गर्दै शवलाई नेपाल पठाउन पहल गरिरहेका छन् ।

सहयोगका लागि यहाँ थिच्नु होस् :

https://www.gofundme.com/f/funeral-for-late-bipin-lamsal?

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *