अमेरिकामा नेपाली पत्रकारको सम्मेलन र उब्जिएका प्रश्नहरु

डिसी नेपाल
१७ साउन २०७८ २१:२०

भर्जिनिया। नेपाल अमेरिका पत्रकार संघ नेजाको सातौ सम्मेलन तथा १४ औं साधरण सभा विकासराज न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ। यो नियमित काम नै हो। नयाँ नेतृत्व चयनका लागि अमेरिकाका विभिन्न राज्यमा बसोवास गर्दै आएका नेपालीमुलका पत्रकार एकै थलोमा भेला भएका थिए। विभिन्न व्यानरमा यस्ता भेला अमेरिकामा हँुदै आएका छन्।

आजकल विदेशमा हुने नेपालीहरुको भेला सम्मेलन हात हालाहालसम्म पुग्ने गरेका छन्। केही समयअगाडि गैरआवसीय नेपाली संघ (एनआरएनए)अमेरिकाको न्युयोर्कमा सम्पन्न साधरण सभामा भएको उत्दण्डताले विश्वभर नै चर्चा पायो। त्योभन्दा अझमाथि जापान र बेल्जियम काण्ड भए। बेल्जियममा त स्थानीय प्रहरी नै घटनास्थल आएको दृश्य देखियो। दुई पक्ष हानाहानमा नै पुगे। विदेशी माटोमा नेपाली आपसमा लड्दा केही घाइते नै हुन पुगे। त्यसको तुलनामा नेजाको सम्मेलन सभ्य भयो। चुनावमा जितेका र हारेका दुबै पक्षले सँगै बसेर फोटो खिचे बधाई दिए।

तर सम्मेलनभित्र यस्ता दृश्य पनि देखिए, जसले गर्दा पत्रकारको संस्थामा जे गर्दा पनि हुने हो ? भन्ने प्रश्न उठाएको छ। सबैभन्दा ठूलो कुरा सम्मेलनको उद्घाटन निकै अस्तव्यस्त नै भयो। भर्जिनिया जस्तो नेपालीको बाक्लो बसोवास रहेका स्थानमा भएको कार्यक्रमको उद्घाटन निकै साँघुरो कोठामा गरियो। कोठामा करिव ८० वटा कुर्सी थिए। जव कि नेजाले सार्वनिक गरेको लिष्टमा एक सय ४४ जना साधरण सदस्य थिए। अधिकांश अतिथिहरुले पछाडि उभिनु परेको थियो।

केही ढोकाबाट चिहाउँदै थिए। रमाइलो पक्ष नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही भाषण गर्न पोडियममा थिए। त्यो खाली रहेको सिटमा पत्रकारका एकजना नेताले डोहोर्याउंदै लगेर एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीलाई बसाए। भाषण सकिएपछि विरहीलाई प्यासेजमा पछाडिबाट अर्को व्यक्तिलाई उठाएर ल्याइएको कुर्सीको व्यवस्था मिलाउनु परेको थियो। यस्तै सबैभन्दा पछाडि बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकाका अध्यक्ष सुवोध पन्त भाषण गरे र पुनः पछाडि नै गएर उभिए। कार्यक्रममा बोलाएका अतिथि मात्र होइन बक्ताका लागि पनि बस्ने व्यवस्था थिएन। यही कुरा अन्य संस्थाको कार्यक्रममा भएको भए ? कस्तो समाचार बन्थ्यो होला ?

पत्रकारले संस्कार सिक्नु पर्दैन ?

हरेक कुरामा पत्रकारले अन्यलाई संस्कार सिकाउने काम हुन्छ। यो भएन त्यो भएन भनेर समाचार बनाइन्छ। तर लामो समय अमेरिकामा बसेका पत्रकारमा सरसफाइमा संस्कार नै देखिएन। अमेरिकामा आफूले गरेको फोहोरको आफै व्यवस्थापन गर्ने गरिन्छ। कतिपय ठाँउमा कानुनी बाध्यता पनि छन्। तर अमेरिकामा आधारभूत संस्कार मध्येमा फोहोर व्यवस्थापन पनि हो। तर नेपालमा लागेको बानी कहाँ जाने भनेजस्तै भयो। रेष्टुरेण्टबाहेक अन्यत्र आफूले खाएको खानाको प्लेट, चिया, कफी वा पानीको कप, पानीको वोतल नजिकैको ट्रयास क्यानमा फाल्ने गरिन्छ। तर त्यहाँ प्रायजसोले जहाँ खायो त्यही छोड्ने गरेको देखियो। अझ कतिपय समयमा त कार्यक्रम कोअडिनेटरले उर्दी नै जारी गर्नु पर्यो। हेर्दा सामान्य हो तर आफूलाई चौथो अंग दावी गर्ने पत्रकारहरुले संस्कार चै सिक्नु पर्दैन ?

पाहुनाको अपमान

अतिथिको आसन ग्रहणमा पनि चरम लापारवाही देखियो। राप्रपा नेपालका नेतालाई आसन ग्रहण गर्न भनियो। निकै ढिलागरी प्रवासी मन्चका अध्यक्ष प्रभु थापा पनि हलमा देखिनु भएको छ भनियो। मानौ कि हामीले बोलाएका त होइन तर हलमा आउनु भएकाले नाम लिइदिएको जस्तो गरियो। अझ नेपाली जनसम्पर्क समितिको त नाम नै लिइएन। जव कि जनसम्पर्क समितिका उपसभापति केशव बराल हलमा नै थिए। जनसम्पर्क समिति र प्रवासी मञ्च अमेरिकामा एनआरएनएपछि जनाधार भएका संगठन हुन्। राप्रपा नेपाललाई आसन ग्रहण गराउने तर जनसम्पर्क समितिलाई वास्ता नगर्ने नेजाको कस्तो नीति होला ?

विधानको धज्जी उडाइयो

नेजा अधिवेशनमा विधानको पालाना नै भएन। विधानमा अधिवेशन हुनु एक महिना अगाडिसम्म नवीकरण वा सदस्यता दस्तुर नतिरेको व्यक्तिले त्यो चुनावमा भाग लिन पाउँदैन भनेर लेखिएको छ। नेजाले एक महिना अगाडि आफ्ना सदस्यलाई आन्तरिकरुपमा पठाएको इमेलमा एक सय ३९ सदस्य रहेका छन्। तर चुनाव अगाडि एक सय ४४ जनाको लिष्ट टाँसियो। अध्यक्ष पदमा चुनाव लड्न पुगेका किरण मरहट्टा, निदेश अधिकारी, बिष्णुहरि घिमिरे, अनुज थापा र गोकुल ढकालले त्यो कुरा भेउ नै पाएनन् वा पाएर पनि वास्ता गरेनन्। अर्को रोचक पक्ष अधिवेशनमा रजिश्ट्रेशन शनिवार साँझ तोकिएको थियो तर भोलिपल्ट मतदान हुदाँसम्म कति जनाले रजिष्टे«शन गरेका हुन भन्ने कुरा नै बाहिर ल्याइएन। कार्यक्रमकी कोअडिनेटर लिला ओझा स्वयंको नाम सदस्यता नवीकरण लिष्टमा थिएन, यस्तै ज्योति देवकोटाको पनि नाम नेजाले पहिला पठाएको लिष्टमा छैन तर यी दुबै जनाको नाम पछि कारण नै नखुलाई थप गरिएछ। लिला ओझा पुन डिसी मेट्रो क्षेत्रको संयोजक बनिन्। एकमहिना अघि नै बन्द भइसकेको नवीकरणमा नाम नपरेको व्यक्ति चुनिनु बैधानिक हो कि होइन ?

विधानलाई लज्तित बनाउने काम अर्को पाटोमा पनि भयो। नेजाको विधानमा अर्को संस्थामा पदाधिकारी रहेको व्यक्तिलाई नेजा कार्यसमितिले स्वीकार गर्दैन। तर नवनिवार्चित कार्यसमितिका कोषाध्यक्ष प्रभात भट्टराई न्युह्यामसर नेपाली समाजको सचिव र नेजाका सदस्यमा निर्वाचित अनिल अधिकारी विवादास्पद गैर आवासीय नेपाली पत्रकार महासंघको सचिव पदमा कार्यरत छन्।

कसलाई भन्ने पत्रकार ?

यो वियष निकै जटिल हो। मुख्यतय नेपालमा र नेपाली समुदाय बस्ने अन्य मुलुकको समाजमा, पत्रकार कस्लाई भन्ने ? नेपालमा सकारकारी कर्मचारी, पुलिस, ट्याक्सी डाइभर, माइक्रोबसका खलासी, विभिन्न दलका नेता, भातृ संगठनका पदाधिकारीसँग पनि नेपाल पत्रकार महासंघ र सूचना विभागको पास हुने गर्दछ। चुनावको बेला यो विषय चर्चाको वियष बन्छ। नेजाको सदस्य हेर्दा पनि पत्रकारको परिभाषा फेर्नुपर्ने पो हो कि भन्ने सन्देश दिन्छ। नेपाली पत्रकारितामा खासै योगदान नभए पनि आफन्तको भरथेगले सरकारी संचारमाध्यममा नियुक्ति पाएका व्यक्ति गुटगत दलगत स्वार्थका कारण पत्रकारहरुका आदर्श अग्रज बनाएर प्रस्तुत गरिएको रोचक दृश्यले पनि यसपटकको नेजा अधिबेशनमा रौनकता थपेको थियो।

नेजाको नेता बन्ने योग्यता के हो ?

नेजाको नेतृत्व गर्नका लागि कस्तो योग्यता चाहिने हो ? समाचार लेख्ने, टेलिभिजनमा कार्यक्रम चलाउने व्यक्ति नेजाको नेतृत्व गर्ने कि लगानीकर्ता ? किरण मरहट्टा, गोकुल ढकाललाई आर्थिक अनुसाशनमा कमजोरी देखाइयो। र योजनाबद्ध प्रचार गरियो। के कसैलाई आरोप लगाउँदैमा हुन्छ ? अस्वस्थ प्रतिष्पर्धाको नियतले यस्ता हल्ला चलाइनुले के सन्देश दियो ? नेजाको पदाधिकारी हुँदा यिनीहरुले पदीय दुरुपयोग गरेका हुन ? त्यसो हो भने किन कारवाही भएन ? अब नेजाको चुनावमा पनि एनआरएनए कै जस्तोगरि पैसाको विटो बोक्नेहरु मात्र नेतृत्वमा आउनुपर्ने हो ?

लेटर हेड काण्ड के हो ?

८१ मतदाता भनिएकोमा पाँच जनाको नाम रातारात थपियो। विधानले दिँदै नदिएको काम गरियो। बन्दसत्रमा एकाएक लेटरहेड दुरुपयोगको विषय प्रवेश गराइयो। त्यो कसैलाई उम्मेद्वार हुनबाट रोक्ने एजेण्डा त थिएन ? कस्ले लेटर हेडको दुरुपयोग गर्यो ? एकै दिन दुई लेटर हेड प्रयोग गर्ने को हो ? ती नामहरु किन बन्द सत्रमा भनिएन ? यस्तै नेपालमा विभिन्न व्यक्तिलाई अमेरिका झिकाउन पत्र पठाएको भनियो। संस्थाको सबै भन्दा ठूलो निकाय र अन्तिम निकाय साधरण सभाको बन्द सत्र हो। त्यो ठाँउमा अमुर्त कुरा उठाइयो। के साँच्चि नै त्यस्तो भएको हो ? वा किरण मरहट्टालाई हतास बनाउन र तोया दाहालसँग भोट बार्गेनिङ्ग गर्न त्यस्तो गरिएको हो ? विना कार्यविधि र समयसीमा रामप्रसाद खनालले प्रस्ताव गरेर हो हल्लाका बीचमा केहीले ताली पिटेर गठन गरेको छानविन सिमितको दायरा कति हो र कहिलेसम्म प्रतिवेदन ल्याउने हो ?

एनआरएनएको उमेदवार को ?

नेजाको बन्दसत्रमा निकै चर्चा भएको अर्को पक्ष हो एनआरएनएको उमेदवार। एनआरएनएले नेजा कब्जा गर्न लाग्यो, पल्लो होटलमा बसेर यहाँ भोटर किनिदै छ। उनीहरुले बनाउने हो टिम भनेर खुबै फलाकियो। नेजा संस्थापक अध्यक्ष गिरिश पोखरेलले त माइकमा नै बोले। त्यसो हो भने एनआरएनएको उमेदवार को त ? अहिले एनआरएनए अमेरिकाका प्रवक्ता तोया दाहालले अन्तिम समयमा लाइनमा लागेका मतदातासँग विकासराज न्यौपाने र सुरज भण्डारीका लागि भोट मागेका थिए। त्यसो हो भने गिरिश पोखरेलले भनेजस्तै नेजा अब एनआरएनएको कब्जामा नै गएको हो त ? कि यसमा लेटर हेड प्रकरणलाई सामसुम पार्ने खेलो लुकेको छ ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *