राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीले माफी मागे

डिसी नेपाल
१८ साउन २०७८ १६:४२

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । उनले गत महिना एक अनलाइन मिडियालाई आफूले दिएको अन्तरवार्ताको विषयमा माफी मागेका हुन् । एक हप्ताअघि प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमार्फत आफू राजनामा दिन एन्फा जान लागेको बताएपछि यो विषयले विवादसमेत सृजना भएको थियो । प्रशिक्षक अलमुताइरीले फेसबुकबाटै माफी मागेका हुन् ।

प्रशिक्षक अलमुताइरीले अन्तरवार्ताका क्रममा आफ्नो उद्देश्य नेपाली फुटबल टिम र अन्य एसियाली टिमहरु पछिल्ला ३ दशकमा कहाँ र कसरी विकास भए भन्ने कुरा बताउनु मात्र रहेको बताएका छन् । पछिल्ला केही दिनयता आफ्ना केही फुटबलप्रेमी शुभचिन्तकसँगको छलफलमा आफूले आफ्नो भनाइबाट केही गलत सन्देश गएको हुन सक्ने महसुस गरेकोले माफी मागेको उनले बताएका छन् ।

प्रशिक्षक अलमुताइरीले सबै नेपालीहरु र खासगरी केही पूर्व खेलाडीहरु र कोचहरु जसले आफ्नो भनाइलाई फरक वा गलत तरिकाले बुझेको बताउँदै ती सबैसँग माफी मागेका छन् । उनले आफ्नो कसैसँग कुनै रिसराग नभएको बताउँदै सधैं नेपाली टिमलाई सम्मान गर्ने बताएका छन् ।

प्रशिक्षक अलमुताइरीले राजीनामा घोषणा भएपछि भएको विवादका क्रममा बसेको एन्फाको बैठकमा एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले अलमुताइरीले माफी माग्नुपर्ने अडान राखेका थिए । अलमुताइरीले राजीनामा घोषणा गर्ने क्रममा आफूले राजीनामा दिनुको कारण बरिष्ठ उपाध्यक्ष नेम्वाङ रहेको उल्लेख गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *